महेन्द्रनगरमा विपिन जोशीको सम्झनामा दीप प्रज्वलन र श्रद्धाञ्जलि सभा
News Desk
Oct-27 , 2025 तारिख 12:08 बेलुका

कञ्चनपुरको महेन्द्रनगर बजार आइतबार साँझ भावनात्मक वातावरणमा डुब्यो l इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको सम्झनामा आयोजित दीप प्रज्वलन र श्रद्धाञ्जलि सभाले सहरभर संवेदना र सम्झनाको तरंग ल्यायो।

दुई वर्षअघि लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमास समूहले अपहरण गरेको थियो। लामो समयदेखि बेपत्ता रहेका उनी हालै मृत फेला परेको पुष्टि भएपछि गत सातामात्रै उनको शव नेपाल ल्याई गृह नगरमा अन्त्येष्टि गरिएको हो।

यस हृदयविदारक घटनाले स्तब्ध बनेका सयौँ स्थानीय बासिन्दा, युवाहरू, जनप्रतिनिधि र विपिनका आफन्तहरूले दीप बाल्दै उनलाई सम्झिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विपिनकी बहिनी पुष्पा जोशी लगायत आफन्तहरूको उपस्थितिले वातावरण अझ गहिरो बनायो।

सभाका वक्ताहरूले विपिन जोशीलाई ऊर्जाशील, संघर्षशील र सामाजिक चेतनायुक्त युवाको रूपमा स्मरण गर्दै उनको असामयिक निधनले कञ्चनपुरले एक सम्भावनाशील युवाको अभाव महसुस गरेको बताए।

यसअघि शनिबार साँझ भीमदत्त नगरपालिका–३ मालिकार्जुन टोलमा पनि श्रद्धाञ्जलि सभा र दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको थियो। त्यही अवसरमा स्थानीयहरूले टोलको मुख्य चोकलाई ‘विपिन चोक’ नामाकरण गर्दै उनको योगदान र स्मृतिलाई स्थायी रूपमा जोगाउने निर्णय गरेका थिए।

दीप र अश्रुले सजिएको महेन्द्रनगरको साँझले विपिन जोशीप्रति कञ्चनपुरका युवाहरूको माया, सम्मान र एकताको प्रतीकात्मक सन्देश दिएको छ  कि ऊ अब पनि आफ्ना सपनासँग, आफ्ना मित्रहरूका मनमा, उज्यालोको रूपमा बाँचिरहेका छन।