नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि जित हासिल
News Desk
Oct-28 तारिख 12:00 बेलुका

नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि जित हासिल गरेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा हिजो भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को दुई गोलमार्फत नेपालले भारतलाई २–१ ले पराजित गरेको हो ।

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई पहिलो अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् । त्यसपछि खेलको ६३औँ मिनेटमा सावित्राले नेपालको लागि दोस्रो गोल गरिन् । तर ८१औँ मिनेटमा करिश्मा सिरभोकरले भारतको लागि एक गोल गरिन् ।

त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत नेपालको जित भयो । यस जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप–विजेता बनेको छ । नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो । पहिलो खेलमा इरानसँग २–० ले पराजित भएको भारतले कुनै पनि अङ्क जोड्न सकेन ।

धेरै पढिएको