यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्ने प्रक्रिया अघि बढ्यो
News Desk
Feb-06 तारिख 06:51 बिहान • आज

काठमाडौँ । नेवार समुदायको परम्परागत, मौलिक तथा सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा समावेश गर्ने प्रक्रियाबारे छलफल सुरु गरिएको छ। काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधिबीच भएको छलफलमा उक्त प्रक्रिया अघि बढाइएको समितिका संयोजक आशामान सङ्गतले जानकारी दिनुभयो।

छलफलमा बोल्दै संयोजक सङ्गतले हरेक शुभकार्यसँग जोडिएको यमरीको महत्व र पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्दै युनेस्कोको अभौतिक सम्पदामा सूचीकृत गरिनु अन्तर्राष्ट्रियकरणको महत्वपूर्ण प्रक्रिया भएको बताउनुभयो। यसले नेपालको सांस्कृतिक पहिचानलाई विश्वस्तरमा थप बलियो बनाउने उहाँको भनाइ थियो। उहाँले यमरी बनाउने परम्परा केवल खाद्य परिकारमा सीमित नभई प्रकृति, कृषि पेसा, धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्नुभयो।

समितिले अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, अध्ययन, अभिलेखन, विकास र प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै यसले सम्पदाको एकीकृत विकासमा सहयोग पुग्ने बताइएको छ।

त्यस अवसरमा समितिका सदस्य तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले युनेस्कोमा सूचीकृत गराउने प्रक्रिया निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले काठमाडौँका पुराना सहरी क्षेत्र, चोकचोक, गुठी तथा हरेक संस्कार र परम्परामा अमूर्त सम्पदाहरू रहेको भन्दै तिनको गरिमा र प्रवर्द्धनका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

यमरीको सांस्कृतिक गरिमालाई स्थानीय तहसम्म प्रवर्द्धन गर्न अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि महर्जनले दिनुभयो। सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईले छलफल र अन्तर्क्रियालाई निरन्तरता दिइने तथा यस्ता कार्यक्रममा समुदायका अगुवाहरूको सुझाव र प्रतिक्रियालाई गम्भीरतापूर्वक ग्रहण गरिने बताउनुभयो।

छलफलमा ज्यापू महागुथि नेपा, नेपाल तण्डुकार समाज, बज्राचार्य संरक्षण क्लब, कारञ्जित समाज, स्यस्यः समाज, रञ्जितकार समाज नेपाल, चित्रकार समाज, केन्द्रीय मानन्धर सङ्घ, कपाली समाज, उदय समाज, नेपाल माली समाज, ताम्राकार समाज, राजकर्णिकार समाज, रजक समुदाय विकास सङ्घ, द्योला समाज सङ्घ, नेपाल खड्गी सेवा समिति, नकःमि समाज सेवा पुचः, नेपाल नापित समाजलगायत विभिन्न समुदाय र गुठीका पदाधिकारी तथा प्रतिनिधिहरूले आफ्ना धारणा राख्नुभएको थियो।

उल्लेखनीय छ, अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि सन् २००३ मा सम्पन्न भएको हो भने नेपाल सन् २०१० मा यसको पक्ष राष्ट्र बनेको हो। यस महासन्धिअन्तर्गत देशभित्र रहेका अभौतिक सांस्कृतिक सम्पदाको सूची तयार गर्ने, अनुसन्धान गर्ने, संरक्षण र प्रवर्द्धन गर्ने तथा परम्पराको निरन्तरता सुनिश्चित गर्नु महत्वपूर्ण दायित्व मानिन्छ।

धेरै पढिएको