जोखिमकै बीच भेला र प्रशिक्षण
News Desk
Aug-13 , 2021 तारिख 03:11 बेलुका

प्यूठान — नौबहिनी गाउँपालिका–८ फोप्लीमा एक साताअघि माओवादी केन्द्रले वडा भेला र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्‍यो । उक्त कार्यक्रममा करिब ५० जनाजतिको सहभागिता थियो । कार्यक्रममा नौबहिनी गाउँपालिकाका उपाध्यक्ष धनबहादुर बुढा सहभागी भए । भेलामा उपस्थित केहीले मास्क लगाएका थिएनन् ।प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपति केही दिनदेखि राजनीतिक कार्यक्रममा सक्रिय छन् । वडा र गाउँ–गाउँ पुगेर संगठन विस्तारदेखि कार्यकर्ता प्रशिक्षणमा व्यस्त भइरहेका छन् । कक्षपति जिल्लास्तरीय आइसोलेसन व्यवस्थापन समितिका संयोजक पनि हुन् । लुम्बिनी प्रदेशका निवर्तमान ग्रामीण तथा सहरी विकासमन्त्री हरिप्रसाद रिजालले सयौं कार्यकर्ता सहभागी गराएर कार्यक्रम गरेका थिए । यस्ता कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना गरिएको छैन ।

जिल्लामा भेला आयोजना तीव्र भए पनि जिल्ला कोभिड–१९ सकंट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का अध्यक्ष प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल यस विषयमा अनभिज्ञता प्रकट गर्छन् । सामाजिक सञ्जालमा जनप्रतिनिधि र दलका नेता/कार्यकर्ता सहभागी भएका कार्यक्रमका तस्बिर प्रस्ट देखिन्छन् । जिल्लामा कोरोना संक्रमितको संख्या बढे पनि यस्ता कार्यक्रमबारे सरोकारवाला नदेखेको जस्तै गर्छन् । यसले कोरोनाको तेस्रो लहरको जोखिम बढाएको छ ।

महामारीका बेला भीडभाडका कार्यक्रममा दल सक्रिय हुनु दुःखद भएको स्थानीय सञ्जय रिजालले बताए । ‘महामारी रोक्न राजनीतिक दल र जनप्रतिनिधि लाग्नुपर्ने हो,’ उनले भने, ‘यस्तो बेला दलहरूलाई संगठन विस्तारको चिन्ता छ । यसभन्दा दुःखद कुरा के हुन्छ ?’ डीसीसीएमसीको छलफलमा सहभागी भएर जोखिम हुने कार्यक्रम सञ्चालन नगर्ने सहमति जनाएर फर्किएका जनप्रतिनिधिले नै यस्ता भेला गर्ने गरेको उनले बताए । प्यूठान नगर प्रमुख कक्षपतिले यस्ता गतिविधि भौतिक दूरी कायम गरेरै भएको दाबी गरे ।

भेला र संगठन विस्तारसँगै कोरोनाका विषयमा सचेतना फैलाउने काम गरिरहेको उनको भनाइ छ । ‘कोरोनाबाट कसरी बच्ने भन्ने पनि सिकाउँछौं,’ उनले भने, ‘मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरेका छौं ।’ गत शनिबार कक्षपति उपस्थित दुई कार्यक्रममा अधिकांशले स्वास्थ्य मापदण्डको बेवास्ता गरेको देखिएको थियो । ‘भेलामा सहभागीले मास्क लगाएका हुँदैनन्,’ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति गुमानराज पुलामीले भने, ‘दलहरू यो समयमा पनि किन सचेत नभएका होलान् ?’ कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चालगायत दलले लुकीछिपी यस्ता गतिविधि गरिरहेका छन् ।

जिल्लामा अहिले दुई सयको हाराहारीमा कोरोनाका सक्रिय संक्रमित छन् । बजार क्षेत्रमा भीडभाड बढेको छ । प्रहरी र प्रशासनमार्फत नियमित निगरानी गर्ने र दूरी कायम गर्न आग्रह गरिएको प्रजिअ भुसालले बताए । राजनीतिक दलका गतिविधिका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको उनले बताए । ‘भीडभाड नगर्न आग्रह गरेका छौ,’ उनले भने, ‘यस विषयमा अब थप कडाइ गर्नुपर्ने हुन सक्छ ।’ समुदाय स्तरमा पुगेर सचेतना फैलाउने काम गर्नुपर्ने बेला भेला र आमसभा गर्दै हिँड्नु उपयुक्त नभएको उनको भनाइ थियो ।

‘जनताको स्वास्थ्य पहिलो प्राथमिकता हो,’ कांग्रेस जिल्ला सभापति अमरप्रसाद भण्डारीले भने, ‘प्यूठानमा प्रशासनले रोक लगाएका विषयमा कुनै पनि राजनीतिक गतिविधि गरेका छैनौं ।’ महाधिवेशनका विषयमा केन्द्रित रहे पनि अहिले गाउँ गएर जनता भेला पारेर कुनै काम नगरेको उनले बताए ।मुलुकभर राजनीतिक गतिविधि भइरहेका बेला जिल्लामा भेला गरिनु सामान्य भएको एमाले जिल्ला अध्यक्ष तुल्सीराम शर्माको तर्क छ । ‘कि त लकडाउन नै हुनुपर्‍यो, होइन भने देशैभर यस्ता गतिविधि भएका छन्,’ उनले भने, ‘अरुले सुरु गरेपछि हामीले पनि गरेका हौं ।’

वडा तहमा हुने गतिविधिमा कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका विषयमा पनि जानकारी दिने गरिएको माओवादी केन्द्रका सचिवालय सदस्य सुमन श्रेष्ठले बताए । पार्टीको स्थायी कमिटीको निर्देशनअनुसार काम भइरहेको उनले बताए । ‘स्वास्थ्य सावधानी, महामारी नियन्त्रणलाई सँगसँगै लगेका छौं,’ उनले भने, ‘राजनीतिक गतिविधिलाई शून्य बनाउनु पनि त भएन ।’ 

(कान्तिपुर दैनिक)