News Desk
रामेछाप - जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं २स्थित हिन्दू धर्मलम्बीहरुको पवित्र धार्मिक स्थल अग्लेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समिति गठन गरिएको छ। आज भएको स्थानीय सरोकारवालाहरुको भेलाले बिग बहादुर श्रेष्ठको अध्यक्षतामा ११सदस्यीय समिति गठन गरेको हो। भेलाबाट नवगठित समितिको उपाध्यक्षमा बिष्णु राना मगर सचिवमा केशरमान बिश्वकर्मा, सहसचिवमा गिता बर्देवा, कोषध्यक्षमा देवकी थापा मगर र सदस्यहरुमा क्रमश: भिमली मोक्तान ,अन्जित थिङ्ग तामाङ ,डिल बहादुर महत, श्याल लाल बिक ,केदार श्रेष्ठ र रिता श्रेष्ठ चयन गरिएको छ।
कार्यक्रम संचालन गर्दै स्थानीय पदमबहादुर बिश्वकर्माले हिन्दु धर्मको प्राचीनतासँग जोडिएको मन्दिर र देबलायमा रहेका पुरात्वतिक बिम्बलाई धार्मिक पद्धतिको माध्यमबाट जगेर्ना गर्न सकेमा मात्रै धार्मिक सभ्यताको पहिचान हुने धारणा राखे।अग्लेश्वर महादेवमा सन्तान प्राप्तीको अभिलाषा सहित भक्तजनहरु आउने समेत उनले बताए।भेलामा उपस्थित अर्का स्थानीय राजु श्रेष्ठले पुरातन संस्कृतीलाई उजागर गर्नुपर्ने धारणा आफ्नो मन्तव्यका क्रममा राखेका थिए।
सोही अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिग बहादुर श्रेष्ठले आफू स्थानीयबासी भएकाले मन्दिर व्यवस्थापनमा थप जोड बल दिने बताए।उनका अनुसार कार्तिक एकादशिमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा सो समयमा बिशेष ख्याल राख्दै बार्षिक कार्यतालिका अनुसार योजना अगाडि सार्ने बताए।अध्यक्ष श्रेष्ठले पुरात्वतिक संरक्षण र पर्यटन अभिबृद्धीमा समितिले बिशेष प्राथमिकता दिईने समेत जानकारी दिएका छन् ।
नवगठित अग्लेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव केशरमान बिश्वकर्माले सामाजिक परम्परा र सांस्कृतीक बिम्बहरुको संरक्षण गर्नु युवाहरुको कर्तव्य हुन आउने बताउदै समितिलाई व्यवस्थित र परिस्कृत गर्दै कार्ययोजना सहित भावी कार्यक्रम तय गर्ने बताए।