पर्सामा बढे बैंकिङ कसुरका मुद्दा
News Desk
Oct-31 , 2021 तारिख 01:38 बेलुका

पर्सा — १४ कात्तिक २०७८   

पर्सा , पर्साका डीएसपी ओमप्रकाश खनालको कार्यकक्षमा बुधबार एक घण्टाको अन्तरमा चेक बाउन्सको उजुरी लिएर दुई जना आए । खनालले प्रतिवादीहरूलाई बोलाएर दुवै पक्षको कुरा सुनेर कानुनी प्रक्रिया अघि बढाउने उजुरीकर्तालाई आश्वस्त पारे । बैंकिङ कसुरमा कारबाहीका लागि उजुरी लिएर प्रहरी कार्यालयमा पुगेको यो नौलो होइन । दिनमै यस्ता ४/५ वटासम्म उजुरी परेको खनाल बताउँछन् । प्रहरीकै तथ्यांक हेर्ने हो भने पनि यो आँकडा बढ्दो देखिन्छ । चालु आर्थिक वर्षको झण्डै साढे ३ महिनामा बैंकिङ कसुरका २ दर्जन मुद्दा दर्ता भइसकेको पर्सा प्रहरीको भनाइ छ । गत आर्थिक वर्षभर यो संख्या ७२ थियो । बैंकिङ कसुर शीर्षकमा दर्ता हुने मध्ये अधिकांश मुद्दा चेक बाउन्सकै हुने गरेका छन् । 

कपाली कागजको मुद्दा दर्ता गर्दा फैसला हुन वर्षौं लाग्ने तर चेक बाउन्ससम्बन्धी मुद्दाको छिटो किनारा लाग्ने भएकाले चेकमार्फत लेनदेन र सँगै बाउन्सका घटना पनि बढिरहेको खानलको भनाइ छ । प्रहरीमा यस्ता उजुरी लिएर आउनेलाई सोझै अदालतमै गर्न जान परामर्श दिने गरिएको उनले बताए । मुद्दा दर्ता गरे देवानी मुद्दाको रुपमा प्रक्रिया अघि बढ्ने तर प्रहरीमा दर्ता भए मेलमिलाप र मुद्दा फिर्ता हुने सम्भावना बढी हुन्छ । प्रहरीमार्फत उजुरी अदालतसम्म पुगे फौजदारी अपराध कसुरमा मुद्दा दर्ता हुन्छ । पछिल्लो समय महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार जिल्ला न्यायाधिवक्ता कार्यालयले अदालतमा मुद्दा चलिसके पनि चेक बराबरको रकम लेनदेन गरी दुवै पक्षले मिलापत्र गर्न सक्ने व्यवस्था गरेको छ ।

( कान्तिपुर दैनिक )