दुविधामा दाहाल
News Desk
Nov-01 , 2021 तारिख 11:22 बिहान

काठमाडौँ — १५ कात्तिक २०७८  

काठमाडौँ , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक महिनाअघि करिब ३१ लाख पार्टी सदस्य बनाउने महत्त्वाकांक्षी योजना ल्याए । त्यहीअनुसार वडा कमिटीसम्म माओवादीले परिपत्र गर्‍यो । तर यति बेला योजनाअनुरूप संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्नेमा दाहाल कहिले गठबन्धन त कहिले पार्टी एकताका पक्षमा अभिव्यक्ति दिइरहेका छन् । संघमा माओवादी केन्द्र तेस्रो पार्टीको हैसियतमा छ । नेकपा एकतापूर्वको अवस्था पुगेपछि कतिपय नेता–कार्यकर्ताले एमाले रोजेपछि माओवादीसामु आगामी निर्वाचनमा बलियो उपस्थिति देखाउने चुनौती छ । यसका लागि पार्टीलाई मजबुत बनाएर चुनावमा उतार्नेभन्दा पनि सत्ता गठबन्धनलाई चुनावसम्म कायमै गर्ने र पार्टी एकता गर्ने विकल्प दाहालले देखेका छन् । शनिबार सर्लाही पुगेर उनले जनता समाजवादी पार्टी (जसपा) सँग एकताको प्रस्ताव गरे । ‘मलाई उपेन्द्र (यादव) जी र महिन्द्र (राय यादव) जीले कस्तो मान्छे हो, हाम्रो पार्टी कस्तो हो भनेर राम्रो चिन्नुहुन्छ । नडराइकन पार्टी एउटै बनाऔं । सिद्धियो,’ उनले भनेका थिए, ‘म जनकपुर आउँछु । जनकपुरमा घोषणा गरौं । एउटा राम्रो सन्देश जान्छ । अर्को चुनावमा मधेसमा लहर आउँछ । हामी सरकार बनाउँछौं । तनाव किन लिनुपर्‍यो ?’

दाहालले साउन ३० को केन्द्रीय कमिटी बैठकमा आगामी निर्वाचनमा माओवादी प्रमुख शक्ति बन्ने आधार बन्दै गएको तर्क गरेका थिए । ‘आगामी निर्वाचनसम्म माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ । त्यहीअनुसार हामीले संगठन निर्माणमा सक्रियता देखाउनुपर्छ,’ उनले भनेका थिए । प्रतिनिधिसभा पुनःस्थापना, गठबन्धनको सरकारलगायत पछिल्ला राजनीतिक घटनाक्रमको नेतृत्व माओवादी केन्द्रले लिएको हुनाले आगामी निर्वाचनमा प्रमुख शक्ति बन्ने दाहालको दाबी थियो । सोहीअनुसार असोज पहिलो साता बसेको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरणको अभियान सञ्चालन गरेर पुसमा हुने राष्ट्रिय सम्मेलनअघि ३० लाख ९४ हजार १ सय ६८ सदस्य र समर्थकलाई संगठित गर्ने निर्णय गरेको थियो । सर्लाहीबाट जसपासँग पार्टी एकताको प्रस्ताव गरेका दाहालले त्यसअघि अर्थात् बिहीबार गृहजिल्ला चितवनमा आगामी निर्वाचनमा गठबन्धनमार्फत जाने बताएका थिए । ‘जहाँ निरंकुश र प्रतिगामी प्रवृत्ति हावी हुन्छन्, जहाँ तिनीहरू (एमाले) अलि बलिया छन्, त्यस ठाउँमा हामीले कांग्रेससँग सिट एडजस्टमेन्ट गर्ने । बाँकी ठाउँमा प्रतिस्पर्धा गर्ने र वाम गठबन्धनलाई कायम राख्ने भन्ने केन्द्रीयस्तरमा समझदारी छ,’ दाहालले भने थिए ।

एमालेसँगको एकतालाई सर्वोच्च अदालतले तुहाइदिएपछि विघटन भइसकेको माओवादी ब्युँताउने चुनौती दाहालसामु छ । शान्ति प्रक्रियामा आइसकेपछि मतदातालाई आकर्षित गर्ने मुद्दा माओवादीसँग छैनन् । नेता तथा कार्यकर्ताको कार्यशैली भड्किलो बन्दै गएको छ । जसका कारण कार्यकर्ता विकर्षित हुँदै गएको दाहालको बुझाइ छ । त्यसैले उनले आगामी निर्वाचनमा गठबन्धन र विचार मिल्नेसँग पार्टी एकता चाहेका छन् । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेसँग मोर्चा बनाएको माओवादीले स्थानीय निर्वाचनमा केही ठाउँमा कांग्रेससित सहकार्य गरेको थियो । निकट एक नेताका अनुसार दाहालका एकपछि अर्को अस्थिर अभिव्यक्तिले कार्यकर्तामा उत्साह थपेका छैन । ‘केन्द्रीय कमिटी बैठकलगत्तै नेताहरूमा एक खालको ऊर्जा देखिन थालेको थियो । सबै आ–आफ्नो क्षेत्रमा संगठन निर्माणका काममा जुटेका थिए । तर, अध्यक्षले कहिले पार्टी विघटन त कहिले नेतृत्व हस्तान्तरण नगर्ने, कहिले गठबन्धनमार्फत आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने जस्ता अभिव्यक्ति दिइरहनुभएको छ,’ ती नेताले भने, ‘पहिला आफ्नो पार्टी बलियो बनाउनतिर पो लाग्ने हो त ।

उहाँको त्यता ध्यान कम देखिन्छ । सामाजिक सञ्जालमा पनि धेरै आलोचना हुन थालेको छ । त्यसले त कार्यकर्तालाई निराश बनाउन थालेको छ ।’ दाहालले केन्द्रीय कमिटीमा पेस गरेको र बैठकले पारित गरेको कार्ययोजनामा आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र संघीय एवं प्रादेशिक निर्वाचनमार्फत देशको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्ने गरी संगठनात्मक कार्य अगाडि बढाउने उल्लेख छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साह भने दाहाल दुविधामा नरहेको र पार्टीको रणनीतिअर्न्तगत नै बोलेको दाबी गर्छन् । ‘राजनीतिक प्रतिवेदन वा बैठकका छलफलमा पार्टीले आफ्नो संगठन पनि सुदृढ गर्नुपर्ने र चुनावमा खासगरी एमाले बलियो भएको ठाउँमा गठबन्धन गरेर परास्त गर्ने हाम्रो पार्टीको घोषित नीति नै छ । त्यसअनुसार नै अध्यक्ष बोल्नुभएको हो,’ उनले भने, ‘जहाँ केपी ओली लड्छन्, प्रचण्ड, माधव नेपाल लड्छन्, यसपालि त कुरुक्षेत्र नै हुन्छ । सबैले एकअर्कालाई हराउनका लागि साम, दाम, दण्ड, भेद प्रयोग गर्छन् । त्यसकारण पार्टीको संगठन बलियो बनाउने काम पनि सँगसँगै अगाडि बढेको छ ।’  

( कान्तिपुर दैनिक )