अफगान नागरिकलाई रोक्न नाकामा कडाइ
News Desk
Nov-02 , 2021 तारिख 11:34 बिहान

कञ्चनपुर —१६ कात्तिक २०७८  

कञ्चनपुर , भारतीय बाटो हुँदै अफगान नागरिक भित्रिन सक्ने भन्दै कञ्चनपुरका नाकाहरुमा कडाइ गरिएको छ । गड्डाचौकी र गौरीफन्टा नाकामा भारतबाहेक तेस्रो मुलुकका नागरिक भित्रिन सक्ने भएकाले कडाइ गरिएको प्रहरीले जनाएको छ । अफगान र रोहिंग्या शरणार्थी भित्रिन सक्ने भएकाले केही दिनदेखि कडाइ गरिएको सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरले बताए । भारतीय नागरिकको हकमा यसअघि नै पीसीआर परीक्षण अनिवार्य गरिएको छ । गृह मन्त्रालयले भारतीय नागरिकका लागि समेत नेपाल प्रवेशमा परिचयपत्र अनिवार्य गरे पनि मातहतका निकायमा निर्देशन आएको छैन ।

‘स्वास्थ्य मापदण्ड पालना गरेर भारतीय नागरिकलाई आउन दिने भनिएको छ, त्यसअन्तरगत पनि परिचयपत्र स्वत: खुल्छ,’ उनले भने, ‘परिचयपत्रकै लागि छुट्टै निर्देशन केही आएको छैन ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले शंका लागेका व्यक्तिलाई परिचयपत्र हेरेर मात्रै भित्रिन दिइरहेको बताए । ‘भारतीय नागरिकको हकमा कडाइ गरिएको छ,’ उनले भने, ‘गड्डाचौकी र गौरीफन्टा दुवै नाकामा परिचय पत्र हेर्ने काम पनि भइरहेको छ ।’ गृह मन्त्रालयबाट यसबारे परिपत्र नआए पनि कडाइ गर्न निर्देशन आएको उनले बताए । उनका अनुसार तेस्रो मुलुकका नागरिक छिर्न नदिन भित्रि नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हालसम्म कञ्चनपुरका कुनै पनि नाकामा अफगान र रोहिंग्या शरणार्थी नभेटिएको एसपी चतुर्वेदीले बताए । ‘परिचयपत्रको आधिकारिक जानकारी केही आएको छैन,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले भने, ‘कोभिड १९ संक्रमण बढ्दो क्रममै रहेकाले जाँचमा कडाइ गर्न र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन आएको छ ।’ उनले सोही निर्देशनअनुसार नाकामा पनि स्वास्थ्य मापदण्डको पालना भइरहेको बताए । कोरोना संक्रमण सुरु भएदेखि नै नाकामा आउजाउ गर्नेको परिचयपत्र हेर्ने काम भइरहेको भण्डारीले बताए ।   

( कान्तिपुर दैनिक )