अमेरिकाद्वारा आन्तरिक मामिलामा हस्तक्षेप : चीन
News Desk
Nov-02 , 2021 तारिख 11:46 बिहान

रोम — १६ कात्तिक २०७८   

रोम , चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गरेका छन् । जी–२० को सम्मेलनका क्रममा इटालीको रोममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा वाङले ‘चीनको आन्तरिक मामिलामा अमेरिकाले बेइमानीपूर्वक हस्तक्षेप गरेको’ दाबी गरे । अमेरिकी कंग्रेसले ३ सयभन्दा बढी चीनविरोधी विधेयक पेस गरेको र ९ सयभन्दा बढी चिनियाँ संस्था र व्यक्तिहरूलाई विभिन्न ढंगले एकपक्षीय प्रतिबन्धको सूचीमा समावेश गरेको वाङको भनाइ छ । जसका कारण सामान्य द्विपक्षीय सम्बन्धमा समेत गम्भीर आघात परेको उनले बताए । अमेरिकाले विश्वव्यापी रूपमा चीनलाई दबाउन विभिन्न साना र मध्यम खालका घेराहरू निर्माण गर्दै कतिपय देशलाई सोही अनुकूलको दबाब दिइरहेको वाङको दाबी छ ।

‘त्यस्ता अभ्यासहरू जनताको हितसँग मेल खाँदैनन् र दुई देशको र अन्तर्राष्ट्रिय समुदायको अपेक्षाअनुरूप पनि छैनन्,’ उनले भने । संयुक्त राष्ट्रसंघका महासचिवले विश्वलाई विभाजनबाट रोक्न र नयाँ शीतयुद्धबाट बचाउन बारम्बार आह्वान गर्नु महत्त्वपूर्ण रहेको र यस वर्ष चीन र अमेरिकाका राष्ट्रप्रमुखहरूबीचको दुई पटकको फोन वार्तामा निकै महत्त्वपूर्ण सहमति भएको मन्त्री वाङले बताए । दुई पक्षले वार्ता पुन: सुरु गर्नुपर्ने र टकरावबाट जोगिनुपर्ने वाङको भनाइ रहेको छ । भेटका अवसरमा वाङले अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग समयमै र स्पष्ट रूपमा विचार आदानप्रदान गर्न र दुई पक्षबीचको मतभेदलाई कसरी व्यवस्थापन र नियन्त्रण गर्ने, उत्पन्न हुने समस्याहरूको उचित समाधान गर्ने, समझदारी बढाउने, शंका हटाउने, गलत धारणाहरूबाट बच्न र अन्वेषण गर्ने इच्छा व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘ताइवान मुद्दा चीन र अमेरिकाबीचको सबैभन्दा संवेदनशील मुद्दा हो,’ वाङले भने, ‘यदि यसलाई गलत तरिकाले बुझ्न थालियो भने यसले द्विपक्षीय सम्बन्धलाई पूर्णरूपले ध्वस्त पार्नेछ ।’ ताइवान चीनको एक हिस्सा भएको भन्दै ऐतिहासिक अनुभव र तथ्यले यसलाई प्रमाणित गर्ने दाबी गरे । ‘वर्तमान तनावको मुख्य कारण ताइवानका अधिकारीहरूले बारम्बार एक चीन ढाँचा तोड्ने प्रयास गर्नु नै हो,’ वाङले भने, ‘ताइवानका स्वतन्त्र सेनाहरूका लागि अमेरिकी सहयोग र समर्थन पनि त्यत्तिकै दोषी छ । भेटका क्रममा मन्त्री ब्लिन्केनले अमेरिकाले एक चीन नीतिलाई निरन्तरता दिने र दुई पक्षले आपसी सम्मानको भावनामा द्विपक्षीय सम्बन्ध विकास गर्नुपर्ने कुरा दोहोर्‍याएका जनाइएको छ । अमेरिका चीनसँग संवाद कायम राख्न, भिन्नतालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र टकराव वा संकटबाट बच्न इच्छुक रहेको उनको भनाइ छ । भेटका अवसरमा दुवै नेताले जलवायु परिवर्तन, ऊर्जा आपूर्ति, इरानी परमाणु समस्या, कोरियाली प्रायद्वीपको अवस्था, म्यान्मार र अफगानिस्तानमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलगायत महत्त्वपूर्ण विषयमा कुराकानी गरेका थिए ।    

( कान्तिपुर दैनिक )