News Desk
बुटवल — १६ कात्तिक २०७८
बुटवल , गत भदौ ११ को बाढीले रूपन्देहीको देवदहस्थित पूर्व–पश्चिम राजमार्गको घोडाह पुलको बीचको पिल्लर भासियो । भार थेग्ने पिल्लर नै भासिएपछि पुल बीचबाट भाँचियो । करिब एक साता सडक अवरुद्ध भयो । पश्चिमबाट देवदह भएर पूर्व जाने र पश्चिमबाट पूर्व जाने हजारौं यात्रु र सयौं सवारी साधन अलपत्र परे । पुल भासिएको १० दिनपछि पुलछेउबाट अस्थायी कजबे बनाएर सवारी गुडाउन थालियो । तर वर्षात् भयो कि कजबे बगाउने र सडक अवरुद्ध हुने क्रम अहिले पनि जारी छ । डिभिजन सडक कार्यालय बुटवलले गरेको अध्ययनले नदीजन्य पदार्थको अत्यधिक दोहन र भारका कारण पुल भासिएको देखाएको छ । भासिएको पुलको सट्टा छेउबाट अर्को नयाँ पुल बन्दै छ । बुटवल–नारायणगढ सडक विस्तार आयोजनाले असोज पहिलो सातादेखि सुरु गरेको पुल निर्माणको काम कछुवा गतिमा छ । खोलामा पानीको बहाब भइरहेकाले पुलको काम राम्ररी अगाडि बढाउन नसकेको पुल निर्माणमा खटेका प्राविधिक सन्तोष वीसीले बताए । पूर्व–पश्चिम राजमार्गकै बुटवलको तिनाउ पुलको तीन मिटर तल जगसमेत देखिएको छ ।
गाडी गुड्दा पुल थर्केर हल्लिन्छ । बीचबीचमा पुलमाथिको पिच भत्किएको छ । पुल ढलान गर्दाका छडहरू बाहिर निस्किएका छन् । बाहिर निस्केका छड र खाल्डोका कारण सवारी सञ्चालन गर्न समस्या छ । दैनिक सवारी दुर्घटना हुन्छन् । डिभिजन सडक कार्यालयले बेलाबेलामा भत्किएको पिचलाई मर्मत गर्छ । तर थोरै थारै टाल्दा र खाल्डा मात्रै पुर्दा टिकाउ हुँदैन । १० वर्षअघि प्राकृतिक संरक्षण समितिले तिनाउ पुलको अवस्था तथा सम्भावित खतराबारे अनुगमन गरेको थियो । पुलको खम्बाको ठूलो सतह बाहिर देखिएको र पुल भासिदै गएकाले पुल भत्किन वा भासिन सक्ने प्रतिवेदन बुझाएको थियो । यसपछि सरकारले तिनाउ पुल र यस आसपासको क्षेत्रलाई उच्च जोखिम क्षेत्र घोषणा गरी पुल आसपासको १० किलोमिटरको क्षेत्रमा नदीजन्य पदार्थ निकाल्न रोक लगाएको छ । स्थानीय स्तरबाट अनुगमन नहुँदा स्थानीयले लुकीछिपी नदीजन्य पदार्थ निकाल्न भने छोडेका छैनन् । अब पनि नदीजन्य पदार्थ निकाल्न नरोके र पुल मर्मतमा ध्यान नदिए ठूलो अनिष्ट हुने प्राकृतिक प्रकोपबारेका विज्ञ डा. भोजराज कानोडियाले बताए ।
नवलपरासी पश्चिमको सुनवलस्थित पूर्व–पश्चिम राजमार्गको तुरिया पुलको पिल्लर पानी आयो कि बगाउँछ । साउन १० गते पाँच दिनसम्म यातायात अवरुद्ध भयो । लोकाहा र जयश्री पुल पनि पटक–पटक भाँचिने र सडक अवरुद्ध हुने गरेका छन् । समयमा मर्मत सम्भार नहुँदा पुल भत्किने, भासिने र राजमार्ग बन्द हुने समस्यासमेत निम्त्याएको छ । सवारीको चाप, अत्यधिक बढी भारबहनका कारण सबैजसो पुल थर्कन्छन् । यसैमाथि खोला तथा नदीहरूमा भएको गिट्टी, ढुंगा र बालुवाको अनियन्त्रित उत्खनन र दोहनले पुल खलबलिएका छन् । चार वर्षअघि सडक विभागको पुल महाशाखाले गरेको अध्ययनले पूर्व–पश्चिम राजमार्गका ८० प्रतिशत पुल मर्मतसम्भार र ५० प्रतिशत पुल पुनःनिर्माण गर्नुपर्ने देखाएको छ । तर, अध्ययन अनुसार पुल निर्माण र मर्मत सम्भारका काम भएका छैनन् ।
डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले नदीजन्य पदार्थको उत्खनन, अत्यधिक भारबहन र तीव्र सवारीको गतिका कारण धेरै पुल जीर्ण बनेको बताए । उनका अनुसार धेरै पुल १० देखि १५ टन क्षमताका छन् । तीव्र गति र भारबहनले पुल भत्कने अवस्थामा छन् । नदी र खोलाजन्य सामग्रीको उत्खननले तिनलाई अझ खलबलाएको छ । ‘धेरै पुल एकैपटक जीर्ण भएका छन् । मर्मत सम्भारको राष्ट्रिय योजना आवश्यक छ,’ उनले भने । बुटवल–नारायणगढ सडक खण्डको १ सय १३ किलोमिटर क्षेत्रमा ९ वटा ठूला पुल र १ सय १६ वटा कल्भर्ट बनाउन भत्काएर लथालिंग पारिएको छ । अन्य धेरै पुल पनि सडकसँगै मर्मतका लागि योजना बनाएको संघीय सरकारको पुल महाशाखाले जनाएको छ ।
( कान्तिपुर दैनिक )