सञ्चालन भएन ज्येष्ठ नागरिक सेवा केन्द्र
News Desk
Nov-02 , 2021 तारिख 03:01 बेलुका

रुकुम पश्चिम — १६ कात्तिक २०७८  

रुकुम पश्चिम , जेष्ठ नागरिकलाई दिवा सेवा दिन मुसीकोट–५ सेरीगाउँमा केन्द्र स्थापना गरिएको छ । तर कार्यालय स्थापना गरेको एक महिना पुगिसक्दा पनि सञ्चालनमा आएको छैन । सामाजिक विकास मन्त्रालय र मुसीकोट नगरपालिकाको सहकार्यमा जेष्ठ नागरिकलाई दिउँसोको समय कटाउन सजिलो होस् भनेर गत असोज १५ मा जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिएको थियो । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारी दिवा सेवा केन्द्र स्थापना गरिएको थियो । तर उद्घाटनपछि बन्द केन्द्र सञ्चालनमा सरोकारवालाकै चासो छैन । केन्द्र स्थापनाका लागि प्रदेश सरकारबाट बजेट प्राप्त भएको थियो । सोही बजेट कार्यान्वयन त भयो तर जेष्ठ नागरिक यहाँ आइरहेका छैनन् । अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेको थियो । अघिल्लो आवमा आएको बजेट कोरोना महामारीका कारण कार्यान्वयन हुन नसकेपछि एकै पटक गत आवमा खर्च गरिएको थियो ।

जेष्ठ नागरिकको लागि दिवा सेवा केन्द्र स्थापना गर्ने भन्दै सामाजिक विकास मन्त्रालयले बजेट छुट्याएपछि मुसीकोट नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले पनि केही बजेट हालेको थियो । दिवा सेवा केन्द्र सञ्चालन गरेकै संस्थाले पनि यसमा खासै चित्त बुझाएको देखिन्न । सामाजिक विकास कार्यालयका प्रमुख खिम ढकालले बजेट आएकाले त्यसको उपयोग मात्र गरेको बताए । दिवा सेवा केन्द्रमा मान्छे नआएको सन्दर्भमा उनले ठाउँ पनि खासै राम्रो नभएको प्रतिक्रिया दिए । ‘ठाउँ मिलाउनुपर्ने छ, अरु व्यवस्थापनको काम पनि गर्नु छ । पायक पर्ने अर्को ठाउँ खोजेपछि मात्रै यो सञ्चालनमा आउन सक्छ,’ उनले भने, ‘दिवा सेवा सञ्चालन गर्ने भनेर पैसा छुट्याइएकोले हाललाई स्थापना गरिएको हो ।’

कोरोनाका कारण बजेट खर्च नभई थुप्रिरहेकाले पनि कार्यालय स्थापना गरिएको उनले बताए । दिवा सेवा केन्द्रमा जेष्ठ नागरिक आउने, दिनभर कुरा गर्ने, टिभी हेर्ने, नाचगान गर्ने, आफ्ना कुरा गर्ने परिकल्पना गरिएको छ । त्यसका लागि मादल, खैंचडी, अरु वाध्यवादनका सामग्री खरिद गरेर राखिएको छ । ज्येष्ठ नागरिक आउन थालेपछि दिउँसोको खाजाको समेत व्यवस्था गर्ने भनिएको छ । तर हाल जेष्ठ नागरिक नआएकोले त्यसको व्यवस्थापन छैन । केन्द्र सञ्चालनका लागि एक जना सहयोगीसमेत राख्ने योजना रहेको ढकालले बताए । सुरुमा केन्द्र स्थापना भयो भनेर खुसी लागे पनि सञ्चालन नहुँदा भने चिन्ता लागेको जेष्ठ नागरिकको भनाइ छ । स्थानीय मनमती खत्रीले केन्द्र सञ्चालन आएपछि दिन कटाउन सजिलो हुने आशा गरेको बताइन् । उद्घाटन गरेको एक महिनासम्म सञ्चालन नभएपछि अब सञ्चालन हुँदैन की भनेर चिन्ता लागेको उनले सुनाइन् ।   

( कान्तिपुर दैनिक )