बिनासर्भेका सडकले सधैं जोखिम
News Desk
Nov-02 , 2021 तारिख 03:10 बेलुका

बागलुङ — १६ कात्तिक २०७८  

बागलुङ , कालीगण्डकी करिडोर, मालढुंगा कुश्मीसेरा सडक र गलुवा भकुण्डे सडक अबरुद्ध हुने गरी खसेको पहिरोले यातायातमा सास्ती छ । नजिकैका ३० घर जोखिममा परेका छन् ।पानी पर्दा र सुख्खा समयमा समेत निरन्तर पहिरो खस्ने अवस्थाले बागलुङ–१० को गलुवा बस्ती जोखिममा परेको हो । यहाँ तीन महिनासम्म सवारी आवागमन ठप्पै भयो । दशैंका लागि खुलेको अस्थायी सडकमा पनि जिप मात्रै गुड्छन् । गत चैतमा कालोपत्र भएपछि मालढुंगा कुश्मीसेरा सडकमा नियमित बससमेत चल्न थालेका थिए । पहिरोले यो सडकमा ठूला सवारी चल्नै नसक्ने भएको छ । ‘सवारीसाधन नचल्ने भएपछि मालढुंगादेखि दानाका बोरा बोकेर ल्याउन बाध्य छौं,’ स्थानीय कुखुरापालक किसान किरण मल्लले भने, ‘कुखुरा पनि बेच्न समस्या भएको छ ।’ बेच्ने कुखुरा र दाना बोकाएर लाने–ल्याउने गर्दा नोक्सानी व्यहोर्नुपरेको उनले गुनासो गरे । पहिरोले सयौं रोपनीको धानबाली पनि नष्ट भएको छ । पहिरो खसेपछि दर्जन बढी घरपरिवारको खेतबारी नष्ट भएको हो । उक्त सडक अबरुद्ध हुँदा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बलेवा क्षेत्रका बासिन्दाले निरन्तर सास्ती खेपिरहेका छन् । सडक डिभिजन कार्यालयले भने यस खण्डमा दिगो व्यवस्थापनका लागि योजना बनाएर बजेट माग गर्ने तयारी गरेको इन्जिनियर मुकुन्दप्रसाद लामिछानेले बताए । ‘सानोतिनो खर्चले सडक बन्दैन, पहिरो नियन्त्रण पनि हुँदैन,’ लामिछानेले भने, ‘मन्त्रालय तहको ध्यानाकर्षण गराएका छौं, अब छिट्टै सर्भे गरेर दिगो रूपमा काम गर्छौं ।’

गत असोजमा २० लाख रुपैयाँ खर्चेर अस्थायी ट्र्याक खोलिएको छ । ट्र्याक खुले पनि जिप मात्रै गुड्न सक्छन् । ‘जिपमा पनि धेरै सामान बोकेर जानै सकिँदैन, जोखिम छ,’ एक सवारी चालकले भने, ‘जतिबेला पनि ढुंगा खस्ने समस्या छ ।’ गतवर्ष यहाँ बिनासर्भे मुख्य सडकबाट खनिएको शाखा सडकले पहिरो निम्तेको स्थानीय वीरबहादुर थापाले बताए । ‘नेताहरूले जबरजस्ती आफ्नो जग्गा छोएर बाटो लैजान खोज्दा हाम्रो उठीबास हुने खतरा भएको छ,’ थापाले भने, ‘पहिरो चल्न थालेपछि घर छाडेर हिँड्नुपर्छ, कतिबेला दुर्घटना हुने हो थाहा छैन ।’ उनले भकुण्डेको बराहतालदेखि झरेको पानी व्यवस्थापन नगर्दा पहिरो हुँदै बगेकोले झनै जोखिम बढाएको बताए । भकुण्डेकै द्वार जाने अर्को सडक पनि तीन वर्षदेखि भासिएर जोखिम बढाएको छ । तित्याङको सिमलपाटादेखि द्वार जाने सडकसँगै बस्तीमा पनि भ्वाङ परेका छन् । सडक र खेत क्षतविक्षत बनेको छ । यहाँ झन्डै ५ सय मिटर सडक भासिएको छ । १५ रोपनी जमिन चिरा परेको र भ्वाङले खेतीपाती लगाउन पनि डराउनुपरेको स्थानीय देवी थापाले बताइन् ।

यहाँको फपरेटा भन्ने टोलका झन्डै १५ घरले त्रासमा दैनिकी कटाएका छन् । तीमध्ये अन्यत्र जग्गा हुने एक दुईजनाले भने घर छाडेर सुरक्षित खेतमा छाप्रो बनाइसकेका छन् । ‘यो पर्खाल लगाएर रोकिने पहिरो होइन, ५ सय मिटर तलदेखि चिराचिरा परेको छ,’ थापाले भनिन्, ‘अत्याधिक वर्षात् र दहको पानी भित्री भागबाट चुहिएर पहिरो आएको हो ।’ नसोचेको स्थानमा मुल फुट्ने गरेको उनले सुनाइन् । बागलुङ नगरपालिकाले पनि पहिरो नियन्त्रणको प्रयास थालेको इन्जिनियर दीपेन्द्र भण्डारीले बताए । ‘सामान्य रूपमा नियन्त्रण हुनेजस्तो छैन, तर प्रयास गरेका हौं,’ उनले भने, ‘बायो इन्जिनियरिङमार्फत संरक्षण गर्नुपर्छ ।’ त्यसका लागि नगरपालिकामा प्रविधि नभएको उनले बताए । जमिन चिराचिरा पर्ने खतरा भएकाले भूगर्भविद् ल्याएर परीक्षण गर्नुपर्ने उनले सल्लाह दिएका छन् । स्थानीय जितबहादुर रायमाझीले तत्काल सुरक्षित बसोबासको प्रबन्ध गर्नुपर्ने र संरक्षण थालिनुपर्ने बताए । ‘सडक खन्दा जोखिमको अनुमान भएन, जथाभावी डोजर प्रयोग भयो,’ उनले भने, ‘पानीको निकासमा पनि ध्यान नदिएपछि बस्तीमा खतरा भएको हो ।’ बागलुङ नगरप्रमुख जनकराज पौडेलले सुरक्षित बसोबासका लागि कुनै उपाय गर्ने तयारी भएको बताए ।   

( कान्तिपुर दैनिक )