News Desk
सर्लाही — १६ कात्तिक २०७८
सर्लाही , सर्लाहीको महिनाथपुरबाट रौतहट जोड्ने सडक बूढी वाग्मती खोलाले भत्काएको महिनौं बितिसक्यो । सडक मर्मत नहुँदा यात्रीहरू स्थानीयले बनाइदिएको बाँसको लच्काबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हरेक दिन मोटरसाइकल लच्काबाट चिप्लेर खोलामा लड्दा यात्रीहरू घाइते हुनु सामान्य बनेको छ । सर्लाहीको धनकौल गाउँपालिका–४ महिनाथपुरस्थित वाग्मती खोलामा पक्की पुल बनेपछि यो सडकमा यात्रुको चाप बढेको छ । तर बूढीवाग्मतीले वर्षाको सुरुवातमै सडक भत्काएपछि बन्न सकेको छैन । ह्युमपाइपबाट पानीको निकास हुन नसकेपछि बूढीवाग्मतीले सडक भत्काएको थियो । झन्डै तीन महिनाभन्दा अघि भत्किएको सडक अहिलेसम्म पनि बन्न सकेको छैन । व्यस्त सडकमा यात्रुको चाप रहेपछि महिनाथपुरका स्थानीयले सडक भत्केको स्थानमा बाँसको लच्का बनाएर यात्रुसँग पैसा असुल्ने गरेका थिए ।
सडकमा हिँड्दा पैसा तिर्नुपरेपछि स्थानीयले गाउँपालिकामा गुनासो गरे । गाउँपालिकाले पैसा उठाउन बन्द गरे पनि सडक भने बन्न सकेको छैन । बाँसले बनेको लच्कामा जोखिमपूर्ण यात्रा गर्नुपरेको सिसौटियाका कुन्दनकुमार झाले बताए । उनले सर्लाही र रौतहट जोड्ने वाग्मतीमा पुल बनेपछि यस क्षेत्रका नागरिकका लागि सहज भए पनि बूढीवाग्मतीले सडक भत्काएको तीन महिनाभन्दा बढी भइसक्दा पनि कसैको ध्यान जान नसकेको जनाए । उनले दर्जनभन्दा बढी मानिस यो पुलबाट चिप्लेर लडिसकेको बताए । ‘तल गहिरो खाडल भएकाले डुब्ने खतरा पनि उत्तिकै छ, लड्दा गम्भीर चोट लाग्नु पनि अब सामान्यझैं भएको छ,’ उनले भने । व्यक्तिगत खर्चमा बाँसको लच्का बनाएर आवतजावत सुरु गराएको महिनाथपुरका स्थानीय रामबचन रायले बताए । पछि गाउँपलिकाले सम्पूर्ण खर्च व्यहोरेपछि यात्रुसँग पैसा उठाउन बन्द गरिएको उनले जानकारी दिए ।
‘वर्षाले सडक भत्काएर खोलाको धार परिवर्तन गरेपछि मैले आनो खर्चमा बाँसको लच्का बनाएर यात्रुहरूलाई आवतजावत गराउने गरेका थिएँ, त्यसको केही शुल्क पनि यात्रुसँग उठाउने गरेका थियौं, पछि गाउँपालिकाले मेरो लागत खर्च तिरेपछि पैसा उठाउन बन्द भयो,’ रायले भने, ‘तर बाँस दिन प्रतिदिन मक्किँदै गएको छ, जसका कारण यात्रु चिप्लेर खोलामा दिनहुँ लडिरहेका हुन्छन्, यसको जानकारी गाउँपालिकालाई छ ।’ धनकौल गाउँपालिकका अध्यक्ष रामअश्रेय साहले पानीका कारण खोलाको धार फर्काउन नसकिएको जानकारी दिए । उनले खोलामा पानीको सतह घटेपछि तत्काल सडक मर्मत थालिने बताए । अध्यक्ष साहले यस ठाउँमा प्रदेशबाट पक्की पुलसमेत बनाउने योजना रहेको जानकारी दिए । ‘पहिला गाउँपालिकाको बजेटबाट ह्युमपाइप राखेर पानीको निकास गराएका थियौं, तर बाढीले धार परिवर्तन गरेर भत्काइदियो, अहिले पानीको सतह बढी रहेकाले मर्मत गर्न सकिएको छैन,’ उनले भने, ‘पानीको सतह कम भएपछि मर्मत हुनेछ, दीर्घकालीन रूपमा प्रदेशको बजेटबाट पक्की पुल बनाउने योजना छ ।’
( कान्तिपुर दैनिक )