News Desk
रूपन्देही — १७ कात्तिक २०७८
रूपन्देही , लुम्बिनी प्रदेशको स्थायी राजधानीमा प्रदेश सभा भवन निर्माणको कामलाई तीव्रता दिइएको छ । निर्माण व्यवसायीले गत साउन मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भवनको काम नै अघि नबढेपछि सरकारकै निर्देशनमा अर्का व्यवसायीलाई जिम्मा लगाएर निर्माण तीव्र पारिएको हो । सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रदेश राजधानीका लागि अस्थायी संरचना निर्माण सुरु गरेको छ । मसुरियाको राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभाका लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा ‘मेटल स्टक्चर’ को भवन निर्माण गर्न थालेको हो । फलामै फलामको दुई तले भवन साउन मसान्तमा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत वैशाख अन्तिम साता सम्झौता गरेको थियो । तर अहिलेसम्म भवनको १५ प्रतिशत पनि काम नभएपछि मुख्यमन्त्री कुलप्रसाद केसीको ठाडो निर्देशनमा व्यवसायी नै परिवर्तन गरेर काम अघि बढाइएको छ ।
भवन निर्माणका लागि ड्रागन बस्नेत जेभीले कार्य सम्झौता गरेको थियो । अहिले काम नभएपछि त्यही सम्झौता अनुसार नै अर्का निर्माण व्यवसायी यज्ञ केसीले काम सुरु गरेका छन् । उनले अबको ४५ दिनमा भवन तयार गरेर हस्तान्तरण गर्ने गरी जिम्मेवारी लिएको बताए । ‘अहिले २४ सैं घण्टा डेढ सयभन्दा बढी कामदारले काम गरिरहेका छन्,’ उनले भने, ‘मंसिर मसान्तसम्म जुनसुकै अवस्थामा पनि भवन हस्तान्तरण गर्ने गरी तीव्र गतिमै काम भइरहेको छ ।’ भवन निर्माण स्थलमा सामग्री ल्याउनेदेखि दुईवटा जेनेरेटर जडान गरेर राती र दिउँसो काम गरिएको उनले बताए । सरकारसँगको सम्झौताअनुसार प्रदेश सभा भवनका लागि आवश्यक पर्ने सबै संरचना १२ हजार स्क्वायर फुट क्षेत्रफलमा तयार हुनेछन् । ७ हजार स्क्वायर फुटमा प्रदेश सभाको सभाहल बन्नेछ । भवनको भुइँतलामै प्रदेश सभा बैठक कक्ष, सभामुखको रोस्टम, मुख्यमन्त्री, विपक्षी दलका नेताको कार्यकक्ष, कर्मचारीका लागि आवश्यक कक्ष, मर्यादापालक कक्ष, ड्रेसिङ रुम, शौचालयसहितका संरचना बन्नेछन् ।
भवनको पहिलो तला आकर्षक डिजाइनमा प्रदेश सभा बैठकका आगन्तुक एवं बाहिरी पाहुनाका लागि मात्र प्यारापिट आकारमा बन्नेछ । दोस्रो तलामा नेपाली पहिचान झल्कने गरी १० वटा आँखीझ्याल राखिएको छ । निर्माण व्यवसायी केसीले आफूहरूले काम सुरु गरेको एक सातामै झण्डै ५० प्रतिशत काम सम्पन्न गरिसकेको बताए । ‘सामग्री व्यवस्थापनदेखि फलामका बिम तयार गर्ने काम सकिएको छ,’ उनले भने, ‘अब केही दिनमै दोस्रो तलाको स्टक्चर निर्माणमा लाग्दै छौं ।’ रातीमा ४० जना र दिउँसोमा १ सय २० जनाको टोलीले निरन्तर काम गरिरहेको उनले बताए । प्रदेश मुख्यमन्त्री केसीसहितको टोलीले भवनको निरीक्षण गरिरहेको छ । भवन छिटो सकेर हिउँदे अधिवेशन भालुबाङमै राख्ने उद्देश्य अनुसार मुख्यमन्त्री केसी र सभामुख पूर्णबहादुर केसीले भवन निर्माणलाई प्राथमिकतामा राखेर महिनामा दुईपटकसम्म अनुगमन र आवश्यक निर्देशन दिने गरेका छन् । सोमबार पनि भालुबाङ पुगेका मुख्यमन्त्री यो महिनामा दुईपटक पुगिसकेका छन् । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले जेठदेखि सुस्त भएको प्रदेश सभा सचिवालयको भवन निर्माणको काम कात्तिकको पहिलो सातादेखि तीव्र गतिमा निर्माण भइरहेको बताए । ‘मंसिरमा जुनसुकै अवस्थामा पनि सम्पन्न गर्ने गरी काम जारी छ,’ उनले भने, ‘सोमबारको निरीक्षणपछि मुख्यमन्त्री केसी पनि धेरै आशावादी बन्नु भएको छ ।’
घिमिरेका अनुसार भवनको निरीक्षणपछि मुख्यमन्त्री केसी रोल्पातर्फ लागेका छन् । प्रदेश सभाको अहिले वर्षे अधिवेशन चलिरहेको छ । तिहारपछि दुई/तीन दिन बैठक बसेर वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ । त्यसपछि भवन तयार गरेर हिउँदै अधिवेशन भालुबाङमै आह्वान गर्ने गरी तयारी भइरहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए । त्यसका लागि प्रदेश सभा भवनसँगै अन्य संरचनाहरू पनि आवश्यक पर्ने उनले बताए । ‘पहिला प्रदेश सभाकै भवन तयार हुनु पर्यो, जुन मंसिरसम्म बन्छ भन्ने छ,’ उनले भने, ‘सचिवालय र कार्य व्यवस्थाका लागि आवश्यक पर्ने भवनको व्यवस्थापन गरेर हिउँदे अधिवेशन भालुबाङमै बस्ला ।’ प्रदेश सभा सचिवालय र कार्य व्यवस्थाका लागि राप्ती प्राविधिक शिक्षालयलाई नजिकैको सरस्वती माविमा स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको उनले बताए । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी र प्रदेश सभा व्यवस्थापनका लागि विद्यालयलाई अर्को स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताए ।
( कान्तिपुर दैनिक )