मापदण्ड मिच्दै, घर ठड्याउँदै
News Desk
Nov-03 , 2021 तारिख 03:21 बेलुका

बागलुङ —  १७ कात्तिक २०७८  

बागलुङ , सदरमुकामसमेत रहेको बागलुङ नगरपालिकामा सडक मापदण्ड मिचेका र नक्सापास नगरी वा अग्लो बनाएका मात्रै १ सय ८० भन्दा बढी घर छन् । स्थानीय तह बनेपछि नक्सापास नगरी घर बनाउने तथा सडक मापदण्ड मिच्ने क्रम गलकोट, ढोरपाटन र जैमिनीमा पनि सुरु भएको छ । ढोरपाटनका नगर प्रमुखकै घर ७ तले छ । उनले अझै पनि घरको नक्सापास गराएका छैनन् ।  गलकोटदेखि ताराखोला जाने सडकमा मापदण्ड मिचेर घर बनाउने होड नै चलेको छ । जसले गर्दा २ पालिका र २ जिल्ला जोड्ने रणनीतिक सडक चौडा बनाउने ठाउँसमेत बाँकी छैन । सरकारले जारी गरेको बस्ती विकास मापदण्ड २०७२ नगरपालिकाबाटै उल्लंघन भएको छ । नगरपालिकाको मौनताको फाइदा उठाएर व्यक्तिले पनि मनोमानी ढंगले घर ठड्याएका हुन् ।

बस्ती विकास मापदण्डमा ग्रामीण बजारमा साढे चार तलासम्मको घर बनाउन मिल्ने उल्लेख छ । जसका लागि स्थानीय तहका इन्जिनियरले अनुगमन गरेर नक्सापास भएपछि मात्रै भूकम्पप्रतिरोधी घर बनाउन पाइन्छ । त्यसभन्दा अग्लो बनाउनु परेमा माटो परीक्षण गराउनुपर्छ । सेटब्याक राख्ने, कम्तीमा १२ इन्च चौडाइ भएको पिलर ठड्याउनुपर्ने र पर्खाल नम्बरी जग्गाभन्दा बाहिर निकाल्न नपाउने प्रावधान नगरले तोकेको छ । घर बनाउने अधिकांशले यी कुनै पनि मापदण्ड पालना गरेका छैनन् । पछिल्लो समय बागलुङ नगरपालिकाले मापदण्ड मिचेका घरलाई जरिवाना तिराएर नक्सापास गर्न अनिवार्य गरेको जनाएको छ । ‘पहिला मनलाग्दी घर बनाए, अहिले एक–डेढ लाख रुपैयाँसम्म जरिवाना तिरेपछि नक्सापास गर्ने धेरै छन्,’ नगर उपप्रमुख सुरेन्द्र खड्काले भने, ‘कि जरिवाना नलिई पास गरौं, कि घरै भत्काइदिऔं भनेको सहमति जुटेन ।’ जरिवाना तिरेपछि मापदण्ड मिच्न पाइने भएपछि अब बन्ने घरमा पनि मापदण्ड कायम गर्न नसकिने उनको तर्क छ ।

नगर प्रमुख जनकराज पौडेलले मापदण्ड मिचेका घरको जिम्मा आफैं लिएर नक्सापास गराएको बताए । ‘भत्काउन धेरै खर्च लाग्ने भएपछि त्यसको जोखिम म आफैं जिम्मा लिन्छु भन्ने लिखत राखेपछि पास गरेका हौं,’ पौडेलले भने, ‘उनीहरूबाट जरिवाना पनि लिएका छौं ।’ राजस्व संकलनमा पनि यसले मद्दत पुगेको उनको भनाइ छ । गलकोट नगर प्रमुख भरत शर्मा गैरे भने नयाँ बन्ने घरका हकमा सकेसम्म मापदण्ड मिच्न नदिएको दाबी गर्छन् । ‘तत्काल मुआब्जा नपाएका स्थानमा केही घरले मापदण्ड मिचेका छन् तर सकेसम्म अनुगमन गरेर रोक्ने प्रयास भएको छ,’ गैरेले भने, ‘भित्री सडकमा भने अनुगमन कम भएकै हो ।’ ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीले पुरानो बजारमा मापदण्ड लागू गर्न नसकिएको स्विकारे । ‘पछि विस्तार हुने बजारमा लागू होला, पुरानो बजारमा अग्ला घर बनाएरै बस्ने हो,’ नेपालीले भने, ‘घरहरू बलियो बनाउन भने लगाएका छौं ।’ जिल्लाका सरकारी कार्यालयसमेत नक्सापास नगरी बनेका छन् । जिल्ला प्रशासन कार्यालयकै भवनको अहिलेसम्म नक्सापास छैन । ‘पहिला सहरी विकास कार्यालयबाट बनाइने भएकाले नक्सापास थिएनन्, अब प्रक्रियामा ल्याउनुपर्छ,’ इन्जिनियर त्रिलोचन गिरीले भने, ‘अन्य कार्यालयको पनि उस्तै अवस्था छ ।’

उनका अनुसार धौलागिरि अस्पताललगायत जिल्लाका अधिकांश कार्यालयको नक्सापास छैन । गत वर्ष भवन बनेर सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालयले पनि नक्सापास गरेको छैन । वर्षौंदेखि बगेका कुलो र नालीमाथि घर बनाएर सडक र सार्वजनिक जग्गासमेत अतिक्रमण भएको भेटिएको छ । यो क्रम बागलुङ–२ र ३ मा अत्यधिक छ । यहाँका झन्डै १ सय ५० भन्दा बढी घरधनीले मापदण्ड मिचेको भेटिएको वडा–२ का अध्यक्ष जीवन आचार्यले बताए । नगरपालिकाले भने हरेक गल्ली कम्तीमा ३ मिटर हुने प्रावधान बनाएको थियो । अतिक्रमणमा परेका त्यस्ता गल्लीको चौडाइ १ मिटर पनि छैन । हल्लनचोकदेखि सिर्जनाटोल, धौलागिरि चोकदेखि लालीगुराँस चोक हुँदै वडा–३ को कार्यालय जाने सडक दुईतर्फी मानिससमेत हिँड्न नमिल्ने खालका छन् । बागलुङ बजारमा फुटपाथ पनि नहुँदा पैदलयात्री सडकमै हिँड्नु परिरहेको छ । यसतर्फ नगरपालिको उतिसारो चासो गएको पाइँदैन ।   

( कान्तिपुर दैनिक )