देवकोटा जयन्ती अर्कोपटक कविकुञ्जमा
News Desk
Nov-08 , 2021 तारिख 12:08 बेलुका

काठमाडौँ — २२ कात्तिक २०७८   

काठमाडौँ , आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती मैतीदेवीस्थित कविकुञ्ज संग्रहालयमा गरिनेछ । यसको घोषणा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गरेका हुन् ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीका अवसरमा प्रतिष्ठानद्वारा आयोजित ‘व्यक्तित्व चर्चा र रचनावाचन कार्यक्रम’ मा उनले संग्रहालय निर्माणको काम अघि बढेकाले आगामी वर्ष कार्यक्रम आयोजना सहज हुने बताए । उपकुलपति डा. जगमान गुरुङले महाकवि देवकोटा विशिष्ट साधक भएकाले उनका बारे विख्यात अध्यता राहुल सांस्कृतायनले समेत उच्च प्रशंसा गरेको भनाइ राखे ।

कार्यक्रममा देवकोटाकी पनातिनी तथा कवि मञ्जिला अनिलले महाकवि देवकोटाको कविता ‘यात्री’ र कवि सविता बरालले ‘शाकुन्तल’ महाकाव्यभित्रका केही अंश वाचन गरेकी थिइन् । त्यसअघि प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरू, महाकवि देवकोटापुत्र प्रा.डा. पद्मप्रसाद देवकोटा, पुत्री अम्बिकादेवी रिमाल लगायतले प्रज्ञा परिसरमा रहेको महाकवि देवकोटाको प्रतिमामा माल्यर्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए ।   

( कान्तिपुर दैनिक )