News Desk
पाल्पा — तानसेन नगरपालिका–४, बारुदखानका मनोजराज शर्मा पौड्याल आफैं उत्पादक र व्यापारी हुन् । उनको उद्योगमा अघिल्लो वर्षका लकडाउनदेखि अहिलेसम्म ढाका बुन्ने काम रोकिएको छैन । हातैले बुन्ने ढाका र जे कार्ड दुवैबाट ढाकाको कपडा उत्पादन भइरहेको छ । कामदारले काम पाइरहेका छन् । तर तर व्यापारमा भने विगतका तुलनामा ७५ प्रतिशत कमी आएको छ । ‘थोक व्यापारमा अघिल्लो वर्षभन्दा केही बढेको छ,’ उनले भने, ‘फुटकर व्यापार हुने भनेको आन्तरिक पर्यटकको चहलपहलले गर्दा नै रहेछ । स्थानीय बजारको व्यापारले धान्न मुस्किल पर्ने हुन्छ ।’
तानसेन सिल्खानटोल गैराबारी उद्योग राखेका हरि रायमाझी पनि ढाका कपडाको व्यापारदेखि निराश छन् । अघिल्लो दसैं र तिहार कोरोना संकटले समस्या निम्तियो । यस वर्ष पनि सोचे जस्तो व्यापार हुन सकेन । जसले गर्दा कामदार पाल्नै समस्या हुने अवस्था आएको उनको गुनासो छ । ‘उत्पादनमा कमी आएको छैन,’ उनले भने, ‘तर व्यापारमा भने अघिल्लो वर्षभन्दा केही बढे पनि सन्तुष्ट हुने अवस्था भने आएको छैन ।’ पौड्याल र रायमाझी मात्र होइन, पाल्पाली ढाका कपडा उद्योग सञ्चालन गर्दै आएका उद्योगी र यसको व्यापार गर्नेहरू यस वर्ष पनि सन्तुष्ट भएनन् । कोरोना भाइरस संक्रमण त्रासले आन्तरिक तथा बाह्य पर्यटक नआउँदा उनीहरू निराश भएका छन् । दसैं र तिहार ढाका कपडा व्यापारको मुख्य सिजन हो । यही समयमा ढाकाको व्यापारले गति लिन नसक्दा चिन्तित तुल्याएको व्यापारी तथा उत्पादक रायमाझीले बताए ।
‘धेरैको टीका नै नभएर हो कि जस्तो पनि भयो,’ उनले भने, ‘यो एक वर्षमा धेरै पाल्पालीले कोरोनाबाट ज्यान गुमाए । त्यसको अवसर पनि हुन सक्छ ।’ ढाका कपडाका पसल अघिल्लो वर्ष जस्तै यस वर्ष पनि सुनसानप्रायः भए । केही परिमाणमा थोक बिक्री भए पनि खुद्रा बिक्रीमा खासै सुधार हुन नसकेको उत्पादक तथा व्यापारी पौड्यालको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरेर तानसेनमा पसल खोलिएका छन् । ‘विद्यालय, क्लब, संघसंस्थाको भ्रमणको सिजन हुन्थ्यो,’ ढाका व्यापारी सरिता केसीले भनिन्, ‘यही बेलामा ढाका कपडा र यसबाट बनेका सामग्री किनेर लैजाने गर्थे । दुई वर्षयता कोरोनाले भ्रमण सबै शून्यप्रायः छ । त्यसैले पनि ढाकाको व्यापार छैन ।’ अघिल्लो र यस वर्षको दसैं र तिहारलाई कोरोना भाइरसको महामारीले असर गर्दा व्यापार नै शून्य जस्तै भएको उनले बताइन् । ढाका व्यापारीका अनुसार तिहारको अघिल्लो तीन दिन व्यापार भयो । तर दुई वर्षअघिको जस्तो व्यापार भने थिएन ।
‘यस्तो बेलामा यत्तिको व्यापार हुँदा पनि खुसी हुनुपर्ने अवस्था भयो,’ ढाका व्यापारी सितम भण्डारीले भनिन्, ‘गत वर्ष यत्तिको पनि व्यापार थिएन । यस वर्ष केही भए पनि राहत महसुस भयो ।’ ढाकाको कपडाको चोली, ब्लाउजका साथै पछ्यौरी, टोपी, टाई, ब्याग, अस्कोट, कोटलगायतका सामग्री बन्छ । दुई वर्षअघिसम्म भने यही सिजनमा थोक तथा खुद्रा बिक्री गर्दा व्यापारीले फुर्सद नै पाउँदैनथे । काठमाडौं, पोखरा, बुटवल, बागलुङ, बेनी, नारायणगढ, नेपालगन्ज, हेटौंडा, महेन्द्रनगरलगायत स्थानबाट भ्रमणमा आउनेले ढाकाका सामग्री लैजान्थे । भीड थेगिनसक्नु हुने सिजनमा सुनसान भएर बस्नुपरेको ढाका व्यापारी राजेश भट्टराईले बताए ।
( कान्तिपुर दैनिक )