News Desk
पन्जाब, भारत — नाङ्लोभरि सेलरोटी । मूलाको चाना थिचेर मेथीले झानेको अचार । आँगनमा लस्करै राखिएका मीठा परिकार । जो कोहीले जतिखेर आएर खान मिल्ने । नुवाकोट घर भएकी लक्ष्मी थापा तिहारमा सबैलाई सेलरोटी र अचार चखाउनमै व्यस्त हुन्छिन् । भारतको पन्जाबको जलनधरमा व्यवसाय गर्दै परिवार सँगै बस्दै आएकी उनलाई तिहार पर्व विशेष लाग्छ । तिहारमा जति धेरैलाई पेटभरि खुवाउन सक्छिन्, उति स्वदेशको माया पाएको महसुस हुन्छ उनलाई ।
उनको परिवारले रेस्टुरेन्ट चलाउँदै आएको छ । ‘सेलरोटी पकाएपछि तिहार आएझैं लाग्छ, घरको तिर्सना मेटिन्छ,’ लक्ष्मी भन्छिन्, ‘परदेशमा पर्वको महत्त्व बढी हुँदोरहेछ ।’ लक्ष्मीको माइत गोरखा हो । एउटा दाजु थिए । तिनी पनि ७ वर्षअघि बिते । यद्यपि लक्ष्मीलाई खाली हात र निराश मन लिएर बस्न मन लाग्दैन । तिहारका सबै प्रक्रिया मनदेखि पूरा गर्छिन्, उनी । दाजुलाई सम्झेर सेलरोटी, मिठाई, टीका, माला चढाउँछिन् । सप्तरंगी टीकाझैं जीवन सधैं रंगीन हुँदैन भन्नेमा उनलाई संघर्षले सिकाएको छ । त्यसैले उनी सकेसम्म दुःखलाई समेत उत्सवमय बनाउन माहिर छिन् । उनी सकारात्मक हुँदै भन्छिन्, ‘जति मन खुला राख्यो उति जिउन सहज हुन्छ ।’
लक्ष्मीका अनुसार जलनधरमा उनको सम्पर्कमा आएका लगभग दुई सयभन्दा बढी नेपाली छन् । धेरै संख्या भएकाले दुई समूहमा बाँडिएर देउसीभैलो खेलेको उनले बताइन् । १५ वर्षदेखि पन्जाबमा रोजगार गर्न बसेकी पवित्रा शर्मा र राधा रेग्मीले तिहारमा दाजुभाइ झलझल सम्झिए । कोभिड सुरु भएसँगै तीन वर्षदेखि उनीहरूले दाजुभाइलाई टीका लगाउन पाएका छैनन् । अर्को वर्ष भने तिहारमा नेपाल जाने मन बनाएका छन् । ‘अर्को साल त घरै जाने हो,’ राधा भन्छिन्, ‘गाउँघरको रौनकै बेग्लै हुन्छ ।’
पाल्पाकी जमुना गाहा देउसीभैलो खेल्दा नेपाली पोसाक र गरगहनामा सजिएकी थिइन् । मगर समुदायको परम्परागत पहिरन लगाएर हिँड्दा उनलाई भारतका साथीहरूले कहाँबाट किनेको भन्दै सोधीखोजी गर्छन् । जमुनाले यस्तो बेला निकै गर्वका साथ नेपालको पहिरन भन्दै गुणगान गाउने गरेको बताइन् । कतिपयलाई त नेपाल गएको बेला किनेरसमेत उपहार दिने गरेकी छन् । देउसीभैलो कार्यक्रममा नाचगान गर्दा यहाँका नेपाली एकजुट त हुन्छन् नै अरू परदेशीले समेत नेपाली भाषा, संस्कृति, वेशभूषा बुझ्न पाउने उनले बताइन् ।
प्यूठान घर भएका भागीलाल घर्तीमगरको पन्जाबमा अर्कै नाम छ । उनलाई यहाँकाले भूपेन्द्र भनेर चिन्छन् । मादल बजाउन सिपालु उनी देउसीभैलोमा छुट्टी मिलाएर मादल बजाउन आएका थिए । दिदीबहिनी नेपालमा छन् । टीका लगाउन उनीहरूलाई यहाँ बोलाउन सम्भव छैन । भागीलाल उतै जान खर्च बढी लाग्छ । कामदार ठेक्कापट्टाको जिम्मा लिने गर्छन् । यतिबेला कामको चाप हुने हुँदा निधार खाली राखेरै भए पनि मजदुरी गर्नुपरेको उनी बताउँछन् । ‘कमाइ गर्ने सिजन यतिबेलै पर्छ,’ उनी भन्छन्, ‘परदेशी भएपछि टीका लगाउन नपाएको थुप्रै भयो ।’
गुल्मीका धनबहादुर गोर्खालीलाई पन्जाबमा एक्लो महसुस हुँदैन । दुई दशक यही बिताएका उनले हरेक सुखदुःखमा नेपालीको साथ पाइने भएकाले सुरक्षित रहेको बताउँछन् । खासगरी रेस्टुरेन्टमा नेपालीको रोजगारी बढी छ । कुलतमा लागेका, जाँडरक्सी, तास लेखेर समय खेर फाल्ने स्वभावका नेपाली दाजुभाइलाई देउसीभैलोमा खेलाउन उनले विशेष ध्यान दिएको बताए । उनी भन्छिन्, ‘हामी देउसीभैलो खेल्नुको कारण पनि यही हो, ताकि रक्सी तास खेलेर समय बर्बाद नहोस् ।’ उनले भने जस्तै वर्षभरि कामैकामले पेलिएका मजदुरलाई चाडपर्व थकाइ बिसाउने चौतारी बनेको छ ।
( कान्तिपुर दैनिक )