News Desk
हुम्ला — नाम्खा गाउँपालिका–६ स्थित प्रहरी चौकी लिमीमा ३ वर्षदेखि उजुरी शून्य हुँदा प्रहरीले चौकी सुरक्षा र सामान्य गस्तीको काम मात्र गरिरहेको छ । गाउँमा झैझगडा, अपराध, चोरीलगायत उजुरी नपरेपछि प्रहरीले चौकी सुरक्षाको काम मात्र गरिरहेको हो । चौकीमा यो वर्ष पनि चौकीमा उजुरी शून्य छ । गाउँमा हुने सामान्य विवाद गाउँमै मिल्ने गरेकाले प्रहरीसम्म उजुरी नपर्ने गरेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘उजुरी नपर्दा प्रहरीलाई पनि हाइसञ्चो छ,’ उनले भने, ‘विवाद नहुँदा विकास निर्माणका कामकाज पनि सजिलै भइरहेका छन् ।’ लिमीका स्थानीयको असल व्यवहारकै कारण गाउँमा आपराधिक घटना नभएको उनले बताए ।
गत जेठमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी चौकीमा सरुवा भएका चौकी इञ्चार्ज कृष्णजंग शाहले तीनवटै गाउँबाट अहिलेसम्म कुनै उजुरी नआएको बताए । लिमीमा तिल, हल्जी र जाङ गरी ३ गाउँ छन् । ‘३ वर्षदेखि यहाँ कुनै लिखित उजुरी परेको रेकर्ड छैन,’ उनले भने, ‘लिमीका बासिन्दाबीच वर्षौंदेखि आपसी सौहार्दता छ, लिमीवासीको अनुशासित व्यवहार र अपराध गर्नै हुन्न भन्ने मानसिकताले पनि शान्तिसुरक्षा कायम गरेको छ ।’ यस वर्ष प्रहरी चौकीले लुकीछिपी जडीबुटी संकलन गर्न आएका लिमी बाहिरका व्यक्तिलाई पक्राउ गरेको थियो । गाउँलेसँग छलफल गरी अब जडीबुटी चोर्न नआउने सर्तमा उक्त व्यक्तिलाई छोडिएको चौकी इञ्चार्ज शाहले बताए । ‘स्थानीयको सहयोगी भावनाले चौकीलाई नमुना बनाउन सहयोग गरेको छ,’ उनले भने, ‘सायद यो चौकी उजुरी नपर्ने नेपालकै एक मात्र चौकी होला ।’ उनले चर्चित भारतीय धर्मगुरु सद्गुरुको लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न आउने क्रममा राम्रोसँग सुरक्षा दिएर उत्कृष्ट चौकी घोषित भएको बताए ।
लिमी आसपासका क्षेत्रमा उच्च हिमाली क्षेत्रमा पाइने अधिकांश लोपोन्मुख वन्यजन्तु र चराहरूको बासस्थान छ । तर स्थानीयले वर्षौंदेखि काटमार नगर्ने र सिकार नखेल्ने नियम बनाएको वडाध्यक्ष तामाङले बताए । उनका अनुसार लिमीका अधिकांश बासिन्दा झन्डै ६ महिना मात्र गाउँमा बस्छन् । भारी हिमपातका कारण अत्यधिक चिसो हुने भएपछि स्थानीयले कात्तिकदेखि चैतसम्म बेंसीतिर बसाइ सार्ने गरेका छन् । ‘गाउँमा अस्थायी बसोबास हुने भएकाले पनि यहाँका मानिसमा रिसराग छैन,’ उनले भने । उनले लिमीमा तामाङ र लामाहरूको मात्र बसोबास रहेको जानकारी दिए । चिसोका कारण लिमी प्रहरी चौकीका प्रहरीहरूलाई कात्तिकदेखि जेठसम्म जिल्लामा बोलाउने गरिएको छ । हिउँ पर्ने मौसम सुरु हुन थालेकाले लिमीमा कार्यरत प्रहरीलाई सदरमुकाम बोलाउने तयारी गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले बताए ।
( कान्तिपुर दैनिक )