नेपालगन्जमा जीपको नयाँ शोरुम
News Desk
Nov-08 , 2021 तारिख 04:08 बेलुका

काठमाडौँ — नेपालका लागि जीप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नेपालगन्जमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।  गजानन् अटो ट्रेडिङले संचालन गरेको यस आउटलेट दुई हजार स्क्वायर फिटमा फैलिएको छ । शोरुमको नेपाल उद्योग वाणिज्य संघ–नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्घाटन गरे ।  एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जीप शोरुमको अपेक्षा गरिरहेकोमा त्यसलाई पूर्णता दिन सफल भएको उल्लेख गरे ।

जीप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर विक्री तथा विक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ । जीपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा शोरुम र सर्भिस आउटलेट सुरु गर्ने लक्ष्य लिएको छ । त्यसैगरी, गजानन् अटो ट्रेडिङका प्रबन्ध निर्देशक कुबेर सोनीले नेपालगन्जका ग्राहकलाई सबैभन्दा बढी विश्वास गरिएको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू उत्साहित भएको बताए । गत असारमा नयाँ कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीप ब्रान्डले उल्लेख्य प्रदर्शन गर्दै आएको छ ।

( कान्तिपुर दैनिक )