News Desk
अछाम — सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीबाट सुरु भएपछि भत्ता लिन बैंकमा नै धाउनुपर्ने बाध्यता छ । यसको मारमा वृद्धवृद्धा परेका छन् । गत साता सरकारले दिने सामाजिक सुरक्षा भत्ता लिन अछामको साँफेबगस्थित एक बैंकमा रहेको भीड पन्छाउँदै एक वृद्धा बैंकको काउन्टर नजिकै पुगिन् । हातमा चेक समातेकी साँफेबगर नगरपालिका–१३ की ७६ वर्षीया राजु विष्ट वृद्धभत्ताका लागि साँफेबगर पुगेकी हुन् । ‘लाइनमा बस्न सकिँदैन । ढाड दुख्छ । कहाँ पाइन्छ पत्ता लगाउनै सकिँदैन,’ नजिकै कुर्सीमा थचक्क बस्दै उनले भनिन्, ‘बूढो मान्छेलाई सहुलियतका नाममा झन् दुःख दियो सरकारले ।’
यसअघिसम्म उनीहरूले चौमासिक रूपमा वृद्धभत्ता साविकको गाविस कार्यालयबाट बुझ्थे । त्यो सजिलो पनि थियो । ‘सबैजना भेला हुन्थ्यौं । पालैपालो गाविसबाटै पैसा बुझिन्थ्यो,’ उनले भनिन्, ‘आफ्नै घरनजिक भत्ता पाइने चलन राम्रो थियो । आजकाल गाडीमा आउनुपर्छ । आउन जान ९ सय भाडा लाग्छ । गाडीमा झन् बान्ता पनि हुन्छ । भत्ता लिने दिन नजिक आउँदा झस्किन्छु ।’ साँफेबगर नगरपालिका–९ बूढाकोटकी धना कुँवर ७७ वर्षकी भइन् । उनलाई सधैं भत्ता लिनुपर्ने समयमा साँफेबगर आउनुपर्छ । बैंकको ढोकामा एक हातमा चेक र एक हातमा लौरो समातेर बसेकी उनी निराश देखिन्थिन् ।
‘बिहानै ७ बजे गाडी चढेर घरबाट आएँ । खाना पनि खाएको छैन । भोकले रिंगटा लाग्न थालेको छ । आज पैसा पाइँदैन जस्तो छ,’ उनले भनिन्, ‘भत्ता लिने कताबाट हो ? केही थाहा छैन ।’ अहिलेको झन्झटिलो प्रक्रियाले दिक्क बनेकी उनी समयमै भत्ता नपाउनुमा पनि उत्तिकै दुःखी छिन् । बैंकमा आएका केही खाता खोल्ने प्रक्रियाका बारेमा अनभिज्ञ थिए त, केही फारम बुझाउने स्थान पहिचान गर्न नसकेर थकित मुद्रामा देखिन्थे । उनीहरू सबै सरकारको नयाँ नीतिदेखि सन्तुष्ट थिएनन् । यसअघि गाविसको कार्यालयबाटै परिचयपत्रका आधारमा सामाजिक सेवा भत्ता वितरण गर्दै आएको सरकारले अहिले बैंकिङ प्रणाली अनिवार्य गरेपछि वृद्धवृद्धाहरूलाई सास्ती भएको हो ।
यो प्रक्रियाअन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूले नेपालका ‘क’ र ‘ख’ वर्गका बैंकमा खाता अनिवार्य खोल्नुपर्छ । कागजी प्रक्रियाबारे अनभिज्ञ रहने उनीहरूलाई बैंकमा खाता खोल्ने मेसो पहिल्याउनै हम्मेहम्मे पर्ने गरेको छ । यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बदमासी भएको भन्दै लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिने नीति बनाए पनि भत्ता लिन सदरमुकाम नै पुग्नुपर्ने भएकाले वृद्ध तथा अशक्तले झन्झट र दुःख सास्ती व्यहोर्नुपरेको छ ।
( कान्तिपुर दैनिक )