News Desk
पोखरा — २३ कात्तिक २०७८
पोखरा , कठिन परिस्थितिका बालकको पालनपोषण र फुटबल प्रशिक्षणका लागि सहारा क्लबले सञ्चालन गरिरहेको सहारा एकेडेमीको जिम्मा स्व. उद्योगपति सूर्यबहादुर केसीको परिवारले लिने भएको छ । एकेडेमीलाई पोखराको व्यावसायिक घराना केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको हो । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा एकेडेमीको नामसमेत परिवर्तन गरिएको छ । क्लबसँग दसवर्षे सम्झौता गर्दै ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामकरण गरिएको छ । सम्झौताअनुसार केसी परिवारले वार्षिक १५ लाख रुपैयाँ एकेडेमीमा खर्च गर्नेछ । केसीका छोरा तथा युवा उद्योगपति प्रकाश केसीले सहारासँग आफ्नो बुबाको संस्थागत निकटता रहेको बताए । बुबाले सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकाले पनि परिवारले एकेडेमीको सञ्चालनका लागि सम्झौता गरेको उनले जनाए ।
हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो बुबाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । अर्का छोरा रोशन केसीले आफ्नो बुबाको काम र विचारलाई स्थापित गर्दै जीवन्त बनाइराख्न सहारा एकेडेमीसँग जोडिएको उल्लेख गरे । उनले भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सहयोग दाताको भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलोपल्ट ठूलो राशिको सहयोग केसी परिवारले गरेको हो । एकेडेमीमा १४ जिल्लाका २४ कठिन परिस्थितिका बालक आश्रित रहँदै आएको क्लबका अध्यक्ष हरि गुरुङले बताए । प्राप्त सहयोग उनीहरूको शिक्षा र फुटबल प्रशिक्षणमा एकेडेमीले खर्च हुनेछ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाबाट सहयोग पठाउने गरिएको थियो ।
एकेडेमी चलाउनकै लागि क्लबले आहा–रारा गोल्डकप गर्दै आएको छ । क्लबले आयोजना गर्ने आहा–रारा गोल्डकपको २० औं संस्करण माघ ६ देखि हुने अध्यक्ष गुरुङले बताए । हिमश्री फुड्सको उत्पादन आहा–रारा चाउचाउको नाममा केसी परिवारले फुटबल प्रतियोगिताको मुख्य प्रायोजनसमेत गरिरहेको छ । क्लब आफैंले जग्गा खरिद गरेर दोबिल्लामा एकेडेमी सञ्चालन गरेको हो । तत्कालीन प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको गत वर्ष कात्तिक १७ मा पोखरामा निधन भएको थियो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको मुस्ताङचोकस्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको थियो । केसीको पहिलो वार्षिक तिथिको दिन केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, छोराहरू प्रकाश, किरण र रोशन केसी तथा सहारा क्लबका अध्यक्ष हरि गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । स्व. केसी प्रतिष्ठित उद्योगीसमेत थिए ।
( कान्तिपुर दैनिक )