झकिझकाउ नदीपोखरी
News Desk
Nov-09 , 2021 तारिख 11:48 बिहान

पर्सा — २३ कात्तिक २०७८   

पर्सा , छठको धार्मिक विधि सोमबारबाट सुरु भएको छ । पहिलो दिन अर्थात् सोमबार ‘नहाखाय’ विधिअन्तर्गत व्रतालुले स्नान गरी चोखो भई आफैंले बनाएको सात्विक भोजन गरेका छन् । व्रतालुले यस दिन विशेषगरी लौका वा काउलीको तरकारीसँग भात खाने चलन छ । यसरी शुद्ध शाकाहारी खाना खाएपछि शरीर चोखिने मान्यता छ ।  मंगलबार व्रतालुले रस्याउरोटी खाने विधि ‘खरना’ हो । यस दिन गुड/सक्खरमा पकाएको खिर र रोटी खाएर व्रतालु बुधबार दिनभर भोकै बसी साँझ अर्थात् ‘सँझियाघाट’ मा घरनजिकको घाटमा गई अस्ताउँदो सूर्यको र बिहीबार बिहान पुनः ‘बिहनियाघाट’ मा उदाउँदो सूर्यको उपासना गर्नेछन् । अघिल्ला २ वर्ष कोरोना कहरबीच घरमै पूजा अर्चना गरेका कतिपय व्रतालुले यस वर्ष पनि घरमै पूजा अर्चना गर्ने तयारी गर्दै छन् । यहाँका छठ घाटको साजसज्जा अन्तिम चरणमा रहेको छ ।

लामो समयदेखि यो व्रत लिँदै आएकी वीरगन्ज गहवामाईकी सुगान्धी कुशवाहाले यस वर्ष कोरोनाकाल नरहेकाले पनि व्रतालुमा विशेष उत्साह रहेको बताइन् । यो पर्वअन्तर्गत व्रतालुले पानीमा उभिएर भक्तिपूर्वक पूजा गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई नरिवल, गंगाजलको अर्घ दिन्छन् । छठ पर्वले आफ्ना परिवारजन, साथीभाइ, इष्टमित्र, छरछिमेकीसमेतलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । यस अवसरमा नयाँ वस्त्र धारण र चेलीबेटीलाई आमन्त्रण गरिन्छ । जुनसुकै जाति र धर्मका मान्छेले मनाउन सकिने यो पर्व आर्थिक अभाव हुनेले भिक्षा मागेर पनि मनाउने गरेका छन् । दलित र गैरदलित एउटै थलोमा बसेर श्रद्धापूर्व यो पर्व मान्दछन् । पर्व सकिएपछि आफन्त र इष्टमित्रलाई छठीमाईको पूजाको प्रसाद ठेकुवा, कसार आदि वितरण गरिन्छ । चेलीबेटीको घरमा पनि अनिवार्य रूपमा कोसेलीका रूपमा प्रसाद पठाउने चलन छ ।   

( कान्तिपुर दैनिक )