छठका लागि करोडौंको फलफूल आयात
News Desk
Nov-09 , 2021 तारिख 11:54 बिहान

जनकपुर — २३ कात्तिक २०७८   

जनकपुर , छठमा पूजा सामग्रीसँगै फलफूलको पनि प्रयोग बढी हुन्छ । जनकपुरमा मात्र यस वर्ष छठका लागि १९ करोड रुपैयाँभन्दा बढीको फलफूल भित्रिएको व्यवसायीले बताएका छन् । छठमा केराको अत्यधिक प्रयोग हुन्छ । केरा, नरिवल लगायत एक दर्जन प्रकारका फलफूलको आपूर्ति भने पूर्वी नेपालको भन्टाबारी, त्रिवेणी, इनरुवा र भारदहसँगै भारतको असाम, पटना, मोकामा, हान्जिपुर, पश्चिम बंगाल, ठाकुरगन्ज तथा बिरपुरलगायतका सहरबाट गरिन्छ । फलफूल व्यावसायी संघ जनकपुरका अध्यक्ष विशेश्वर यादवका अनुसार छठका लागि भारतबाट हालसम्म ३५ ट्रकभन्दा बढी तथा पूर्वी नेपालका विभिन्न स्थानबाट १५ ट्रक गरी कुल ५० ट्रक केरा जनकपुर आयात गरिसकिएको छ । एक ट्रकमा सरदर २२ टन केरा हुन्छ । एक ट्रकको मूल्य २ लाख ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म हुन्छ ।

यसरी जनकपुरमा मात्र साढे १२ करोड मूल्यको १ हजार १ सय टन केरा आयात गरिएको छ । करिब ३ करोड मूल्य बराबरको स्याउ, २ करोड मूल्य बराबरको अनार तथा १ करोड मूल्य बराबरको सुन्तला, मौसमी र नरिवल आयात गरिएको छ । ‘फलफूलको बिक्री राम्रै छ । अपुग भए उता (भारत) का व्यावसायीलाई स्टेन्डबाई राखेका छौं,’ अध्यक्ष यादवले भने । भारतीय फलफूल नेपालीभन्दा महँगो भए पनि बिक्रेतालाई भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपाली उत्पादनले बजारको माग थेग्न नसकेको उनीहरूको भनाइ छ । ‘भारतका केरा बगानमा १ लाखमा एक ट्रक केरा किन्छौं तर ट्रक भाडा, भारतीय र नेपालको भन्सार शुल्क जोड्दा यहाँ २ लाख ५० हजार खर्च भइसक्छ,’ यादवले भने । गत वर्षको तुलनामा केराको मूल्य लगभग दोब्बरले बढेको छ ।

कृषि बजार परिसरमा छठ पर्वलाई लक्षित गरी पटके केरा पसल सञ्चालन गरेका राजाबाबु साहका अनुसार गत वर्ष ३ सयदेखि ४ सयमा बिक्री भएको एक घारी केराको मूल्य यस वर्ष ५ सय छ । फलफूल व्यवसायी गुडु महतोले नेपाली केरा गुणस्तरीय भए पनि मागअनुसारको पूर्ति गर्न नसकेको कारण भारतबाट आयात गर्नुपरेको बताए । सोमबार नहायखाय गरी सुरु भएको छठ पर्वको दोस्रो दिन मंगलबार व्रतालु दिनभर उपवास बसेर राति गुलियो पुरी, खीर, नुन नहालेको तरकारी खान्छिन् । जसलाई ‘षडना’ भनिन्छ । षडनाको प्रसाद सपरिवार सँगै खाने चलन छ । षडनापछि निराहार व्रत बस्ने व्रतीहरू बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी यो पर्वको समापन गर्नेछन् ।    

( कान्तिपुर दैनिक )