News Desk
धनुषा — धान भित्र्याएको खेतमा आलु, उखु र गहुँ लगाउन यति बेला धनुषाका किसानलाई भ्याइनभ्याई छ । धान काट्ने बेला भएको अविरल वर्षाका कारण आलु र उखु रोप्न ढिलो भएकाले किसानलाई खेतको काम सक्न हतार परेको हो । छठअघि खेती लगाइसक्न किसान लागिपरेका छन् । तर एकातिर मजदुर नपाउँदा खेती गर्न अप्ठ्यारो भएको छ भने त्यसमाथि गहुँ र आलुको बीउ अभावले झन् समस्या थपिदिएको छ । स्थानीय र प्रदेश सरकार कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउँछन् । तर उनीहरूबाटै पाउनुपर्ने बीउ समयमै किसानले पाएका छैनन् । जेठ र असारमा धान रोप्दा मल अभावको समस्या भोगेका किसान कात्तिकमा गहुँ र आलु रोप्दा बीउको समस्यामा आजित छन् ।
स्थानीय बजारमा गहुँ र आलुको बीउ नहुँदा भारतीय बजारबाट लुकाइछिपाइ व्यवसायीले ल्याएको बीउ प्रयोग गर्नुपरेको महोत्तरीको गौशाला–१२ का किसान युगल सिंहले बताए । ‘खेतीको समयमा बजारमा आलु र गहुँको बीउ पाइँदैन । नगरपालिकाले दिने अनुदानको बीउ समयमै दिए हुने, समय सकिएपछि दिनुको के अर्थ ?’ उनले भने । राज्यको उदासीनता र जनप्रतिनिधिको गैरजिम्मेवारीपनका कारण कृषि र किसानको समस्या समाधान हुन नसकेको उनको भनाइ छ । जसकारण उत्पादन लागत महँगो पर्ने सिंहको भनाइ छ । विगतमा बीउबिजन वितरण गर्ने कार्यक्रम नगरपालिकाले ल्याए पनि यस वर्ष वडामा कुनै जानकारी नआएको गौशाला नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर विश्वकर्माले बताए ।
स्थानीय तहका जनप्रतिनिधिले कृषिको विकासका लागि सिँचाइ योजना र कृषि सडकमा मात्रै बजेट खर्चिंदा कृषि क्षेत्र अस्तव्यस्त बनेको अर्का किसान सञ्जय रायको भनाइ छ । बजारमा पाइने गहुँको बीउ भरपर्दो नहुँदा घरमै खान राखिएको गहुँलाई पनि बीउका रूपमा प्रयोग गरिएको रायले बताए । आलु र गहुँ खेतीलाई आवश्यक युरिया र डीएपी मल पनि बजारमा अभाव भएको उनले गुनासो गरे । वर्षाका कारण उखु, आलु, गहुँ, तेलहन र दलहन बाली लगाउन ढिलो भएका बेला बजारमा बीउसमेत नपाइँदा किसान मारमा परेको स्थानीय वरुणकुमार सिंहले बताए ।
( कान्तिपुर दैनिक )