गौतमबुद्ध विमानस्थलमा मंसिरभित्रै यान्त्रिक परीक्षण उडान
News Desk
Nov-09 , 2021 तारिख 01:41 बेलुका

भैरहवा — निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्झौताअनुरूप यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्यान्डको एरो थाई कम्पनी तयार भएको छ। सम्झौताअनुरूप यान्त्रिक परीक्षण गर्ने विमान ल्याएर विमानस्थलको परीक्षण उडान गर्न तयार रहेको जानकारी उसले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गराइसकेको छ। यसअघि उसले कोभिड–१९ संक्रमणको कारण देखाउँदै विमानस्थलमा विभिन्न उपकरण जडानका लागि आफ्ना प्राविधिक जनशक्ति र परीक्षण उडान गर्ने विशेष विमान पठाएको थिएन। कोभिड संक्रमण फैलिन सुरु भएसँगै झन्डै डेढ वर्षदेखि नै विदेशी प्राविधिक र सबै उपकरण आउन नसक्दा आयोजनाको उपकरण जडानसहित परीक्षण उडानको कार्यमा विलम्ब भएको हो।

थाइल्यान्डको एरो थाई कम्पनीले आफूसँग भएको सम्झौताअनुरूप यान्त्रिक परीक्षणका लागि आफू तयार रहेको जानकारी प्राधिकरणलाई डेढ साताअघि गराएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले बताए। ‘आगामी २२ नोभेम्बरदेखि विमान नै लिएर काठमाडौं आइपुग्ने जानकारी उसले गराएको छ,’ उनले भने। भारतले हवाई रुट परमिट दिइनसकेको भए पनि परीक्षण उडानका लागि यसले कुनै असर नपार्ने कर्णले जानकारी दिए। ‘परीक्षण उडान गर्न भारतको स्वीकृति लिइरहनुपर्दैन,’ उनले भने, ‘बर्सेनि हाम्रा सबै विमानस्थलको परीक्षण उडान हुने गर्छन्।’ आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत निर्माण कार्यलाई आईसीबी टूअन्तर्गत व्यवस्थापन गरी यसका लागि थाइल्यान्डको एरो थाई कम्पनीले ठेक्का लिएको थियो। ठेक्का सम्झौताअनुरूप यससम्बन्धी सबै उपकरण जडान र यान्त्रिक परीक्षणसमेत गर्नुपर्ने थियो।

एरो थाईले कोभिड संक्रमणको कारण देखाउँदै परीक्षण उडान गर्ने सुनिश्चितता नदेखाएपछि नागरिक उड्डयन प्राधिकरणले त्यसको विकल्प खोज्दै परीक्षण उडानका लागि कात्तिक पहिलो साता भारतको ‘एयरपोर्ट अर्थोरिटी अफ इन्डिया’ सँग सम्झौताको तयारी गरेको थियो। परीक्षण उडानका लागि भारतसँग कुराकानी चलिरहेका बेला एरो थाईले कोभिडका कारण रोकिएको आफ्नो देशको बाह्य हवाई उडान सुरु भएको जनाउँदै परीक्षण उडान गर्न आफू तयार रहेको जनाएको हो । एरो थाईसँगको सम्झौताको पछिल्लो मिति डिसेम्बरसम्म भएको र यस अवधिमा परीक्षण उडान सम्पन्न गर्ने प्रतिबद्धता जनाएको निर्माणाधीन यस आयोजनाको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उप–निर्देशक प्रवीन न्यौपानेले बताए । तर, परीक्षण उडान कहिलेदेखि गर्ने र उनीहरूले विमान कहिले ल्याउँछन् भन्नेबारे आफूलाई जानकारी नभएको उनले जनाए ।

‘परीक्षण उडान गर्नुअघि ग्राउन्डलगायतका अन्य पूर्वाधार सबै जाँच्नुपर्ने भएकाले परीक्षण उडान गर्ने विमानभन्दा पहिला प्राविधिक टोली आउनुपर्छ,’ न्यौपानेले भने, ‘यसका लागि मैले उनीहरूको प्राविधिक टोली चाँडो आउन भन्दै सेड्युल मागेको छु ।’ एक साताभित्र उनीहरूले सेड्युल दिने उनले बताए । प्राविधिक टोलीले परीक्षण उडानका लागि सबै कुरा जाँच गरी ठीक छ भन्ने भएपछि बल्ल परीक्षणका लागि विमान ल्याइन्छ । मंसिरपछि मौसमका कारण हुस्सु लाग्ने र मौसम प्रतिकूलताका कारण ढिलाइ हुन सक्ने भएकाले परीक्षण उडान सोही महिनामै सक्ने योजना छ । एरो थाईले कोभिड संक्रमणको कारण देखाउँदै आयोजनास्थलमा उपकरण जडानका लागि आफ्नो देशका प्राविधिक नपठाए पनि अमेरिका, युरोपलगायतबाट ल्याइएका प्राविधिकको महँगो खर्च उसले नै बेहोरेको न्यौपानेले जानकारी दिए ।

‘हवाई उडान सञ्चालन भएपछि अब उनीहरू सम्झौताअनुरूप काम गर्न तयार छन्,’ उनले भने, ‘परीक्षण उडान गर्ने तयारीको अवस्थामा हामी पनि पुगेका छौं ।’ सानातिना र परीक्षण उडानका क्रममा परिवर्तन हुन सक्ने सामान्य निर्माण कार्यबाहेक अन्य ठूला निर्माण र संरचना तयार रहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘हामी अब परीक्षण उडानमै केन्द्रित छौं,’ उनले भने, ‘परीक्षण उडान भएर विमानस्थल सञ्चालनयोग्य हुने समयसम्म बाँकी निर्माण सकिनेछ ।’ आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत सकिएको छ ।   

( कान्तिपुर दैनिक )