प्रधानसेनापति शर्माले भारतमा उच्चस्तरीय भेटघाट गर्ने
News Desk
Nov-09 , 2021 तारिख 01:43 बेलुका

काठमाडौँ — भारतको चारदिने औपचारिक भ्रमणका लागि मंगलबार नयाँदिल्ली जान लागेका प्रधानसेनापति प्रभुराम शर्माले उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। भ्रमण क्रममा उनले भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मानसमेत ग्रहण गर्नेछन्। शर्माले मंगलबारै भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले जल र हवाई सेनाका प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको सेनाले जनाएको छ। सैनिक स्रोतका अनुसार शर्माले चिफ अफ डिफेन्स स्टाफ विपिन रावत र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलसँग बिहीबार भेटवार्ता गर्नेछन्। नेपाली सेनाका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्न आग्रह गरिएको छ। भ्रमणको गृहकार्य नयाँदिल्लीस्थित नेपाली दूतावासले गरिरहेको छ। परराष्ट्र स्रोतका अनुसार सोमबार बेलुकीसँग शिष्टाचार भेटवार्ताका लागि नेपाली पक्षलाई जवाफ आइसकेको छैन।

भारतका सेनाध्यक्ष नरवणेको निमन्त्रणामा भारत जान लागेका प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट बुधबार सम्मान गर्ने कार्यक्रम छ। नेपाल र भारतबीच एक–अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ। नेपाली सेनाका अनुसार २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो। भारतीय सेनाका सेनाध्यक्ष भने २०१७ सालमै नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएको सेनाले जनाएको छ। भ्रमणका दौरान प्रधानसेनापति शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको शुमकामना सन्देश भारतका राष्ट्रपति कोविन्दलाई दिनेछन्। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति पनि हुन्।

कात्तिक ११ र १२ मा बैंग्लोरमा सम्पन्न भएको नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समितिको बैठकमा उठेका सुरक्षासम्बन्धी विषयमा शर्मा र भारतीय स्थल सेनाध्यक्ष नरवणेबीच थप कुराकानी हुने सैनिक स्रोतले बताएको छ। परराष्ट्र मामिलाविज्ञ दिनेश भट्टराईले प्रधानसेनापति शर्माको यो भ्रमण ‘सेरेमोनियल’ भएको बताए। ‘यस्तो भ्रमणले दुई मुलुकबीचको गुडविललाई बढाउने काम गर्छ,’ उनले भने, ‘हाम्रोमा मेलिटरी टु मेलिटरी सम्बन्धलाई पनि थप प्रगाढ बनाउँछ।’ कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सेनाध्यक्ष नरवणेले नेपालको भ्रमण गरेर नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरिसकेका छन्। अर्कोतर्फ यसअघिकै सरकारले चिफ अफ डिफेन्स स्टाफ रावतलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिइसकेको छ तर उनी कहिले नेपाल आउने भन्ने टुंगो लागेको छैन।

नेपाली सेनाका अवकाशप्राप्त उपरथी बिनोज बस्न्यातले प्रधानसेनापतिको यो भ्रमण पारम्परिक रूपमा दुई सेनाबीचको सुदृढ र बलियो सम्बन्धको पाटो भएको बताए। ‘यो भ्रमण राष्ट्रिय हिसाबले हेर्ने हो भने दुई मुलुकको सुरक्षा सम्बन्धको प्राथमिकता हो भन्ने देखाउँछ,’ उनले भने, ‘बदलिँदो भूराजनीतिक अवस्थामा सैनिक सहायता र सैनिक कूटनीतिलाई कसरी अघि बढाउने भनेर प्रधानसेनापतिले भ्रमणलाई केन्द्रित गर्नुपर्छ।’ बस्न्यातले अहिलेको परिवर्तित भूराजनीतिक बेलामा नेपाल र भारतको सम्बन्ध अझ बलियो भएर जाओस् भन्नेमा केन्द्रित हुनुपर्ने बताए।

नेपाली सेनाको भारत भ्रमणलाई सधैं महत्त्वका साथ हेर्ने गरिन्छ। २०७२ मा नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाइरहँदा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारत भ्रमण गरेका थिए । क्षत्रीले भारतीय सेनासहित तत्कालीन गृहमन्त्री राजनाथ सिंहलगायत उच्च पदाधिकारीसँग भेटवार्ता गरेका थिए । क्षत्रीको भ्रमणलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको थियो। अहिले प्रधानसेनापति शर्माको भारत भ्रमणले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बाटो खोल्न सक्ने पनि एक कूटनीतिक अधिकारीले बताए ।     

( कान्तिपुर दैनिक )