News Desk
गोरखा — तिहार मनाएर जिल्ला बाहिरिने यात्रुले गन्तव्यमा पुग्न सवारी नपाउँदा सास्ती भोगेका छन् । सवारी संख्या सीमित तर यात्रु धेरै हुँदा तिहारको टीकाको दिनदेखि नै सडकमा दिनभर गाडी कुरेर बस्नेहरू बिचल्लीमा परेका हुन् ।चाप बढेपछि सार्वजनिक यातायातले बढी भाडा असुल्ने गरेको यात्रुको गुनासो छ । मुस्कीलले पाएको सवारीले क्षमताभन्दा बढी यात्रु कोच्दा आउजाउ निकै सकसपूर्ण बनेको सिरानचोक गाउँपालिका–४ का वीरबहादुर कुमालले बताए । उनका अनुसार दुई दिनयता सदरमुकामको हरमटारी चोकमा गन्तव्यमा पुग्ने यात्रुको भिडभाड थेगिनसक्नु छ ।
यात्रुको बढ्दो चापको फाइदा उठाउँदै व्यवसायीले मनलाग्दी भाडा असुलेका छन् । क्यूमा हिँड्नुपर्ने सवारी यात्रुलाई बलजफ्ती रिजर्भमा हिँड्न बाध्य पार्छन् । चाडवाड पहिले फकाइफुल्याइ गाडी चढाउने सवारीका सहचालले यात्रुको चाप बढेपछि भने भाडामा मोलमोलाइ पछि मात्र चढाउने गरेको कुमालको गुनासो छ । काठमाडौं पुग्ने यात्रुलाई सवारीका सहचालकले फरक–फरक भाडादर सुनाउने गरेका छन् । काठमाडौंसम्मको चार सय ७० रुपैयाँ भाडादर तोकिए पनि यातायात व्यवसायीले प्रतियात्रु एक हजार रुपैयाँसम्म लिने गरेका छन् । ‘गाडी चढिसकेपछि रिजर्भ हो, काठमाडौं पुग्न एक हजार लाग्छ भन्दै बार्गेनिङ गर्छन्,’ हरमटारीमा भेटिएका सुसन विकले भने, ‘काठमाडौंका लागि कसैले एक हजार, कसैले ६ सय भन्छन् । गोरखा आउँदा पनि यस्तै समस्या थियो, फर्कंदा पनि भाडा मनलाग्दी छ, एउटै ठाउँ पुग्न पनि फरक फरक भाडा तिर्नुपरेको छ ।’
मुख्य सडकमा काठमाडौं चितवन र पोखरा जाने यात्रुको भिड छ । भच्चेक, ठाटीपोखरी, मसेल, आरुघाट लगायतका ग्रामीण भेगबाट सदरमुकाम आउने यात्रुले सवारी साधान भरिएका छन् । छोटो दूरीका यात्रुलाई पनि सवारी चालकले चढाउन नमान्ने यात्रुको गुनासो छ । आवुखैरेनी–गोरखा आउने सवारीले बीचबाटोमा ओर्लने यात्रुलाई चढाउन आनाकानी गर्ने गरेको यात्रुको गुनासो छ । वृद्धवृद्धा र बालबच्चाहरू सवारी चापले सबैभन्दा बढी समस्यामा परेका छन् । मसेलबाट गोरखा बजार आइपुग्दा विकले उभिएर यात्रा गरे । ‘टिकट काट्न पनि पाइएनँ, काउन्टरमा गयो सबै सकियो भन्छन्,’ उनले भने, ‘गाडीमा सिट पनि पाइँदैन, तीन चार घण्टासम्म उभिएर यात्रा गर्नुपरेको छ ।’
दसैं तिहारलाई लक्षित गरेर छड्के चेकजाँजलाई कडाइ पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सई प्रेमप्रसाद पोखरेलले बताए । ‘रिजर्भ भनेर गएको पाएका छौं, बढी भाडा लिनेलाई कारबाही पनि भएको छ,’ उनले भने, ‘दसैंमा भन्दा तिहारमा कमै भीडभाड छ, बढी भाडा लिने, रातो नम्बर प्लेटकाले मान्छे ओसारेकोलाई कारबाही पनि गरिरहेका छौं ।’ यात्रु बोक्ने रातो नम्बर प्लेटका सवारीको निगरानी बढाइएको उनले बताए । जिल्लाको ग्रामीण भेडमा रातो नम्बर प्लेटका सवारीले मनलाग्दी भाडा असुल्दै आएका छन् ।
( कान्तिपुर दैनिक )