News Desk
बझाङ — पर्यटनमन्त्री प्रेम आलेको आदेशमा कात्तिक ७ गतेबाट सुरु भएको नेपाल वायुसेवा निगमको धनगढी–बझाङ उडान अनियमित हुन थालेपछि यात्रु समस्यामा परेका छन् । कात्तिक १९ गते शुक्रबार उडान भरेको निगमको जहाजले त्यसयता उडान गरेको छैन । ‘शुक्रबार उडान भएको हो । त्यसपछि जहाज आउने, नआउने कुनै पनि जानकारी आएको छैन,’ निगमको टिकट काट्ने जिम्मा पाएका स्थानीय पत्रकार उत्तमकुमार थापाले भने, ‘टिकट माग्नेले फोन गरेर हैरान पारेका छन् । बाटोमा हिँड्न पनि गाह्रो भइरहेको छ ।’ उनले बेमौसमी वर्षापछि आएको बाढी र पहिरोले बझाङलाई अन्य जिल्लासँग जोड्ने एकमात्रै जयपृथ्वी राजमार्ग सुचारु नभएकाले जिल्ला बाहिर जाने यात्रु समस्यामा परेको बताए ।
बझाङमा गतवर्षदेखि नियमित उडान गर्दै आइरहेको निजी विमान कम्पनी समिट एयरले अहिले दैनिक दुईवटा उडान गर्दै आएको भए पनि यात्रुको चाप अत्यधिक रहेको छ । दसैं र तिहारका लागि देशका विभिन्न जिल्ला र देश बाहिरबाट बझाङ आएकाहरू सडकमार्ग अवरुद्ध भएपछि जहाजको टिकट लिन तँछाडमछाड गरिरहेका दृश्य दिनहुँ देखिन थालेका छन् । कात्तिक पहिलो साताको बाढीपहिरोले बिग्रेको जयपृथ्वी राजमार्ग सदरमुकाम चैनपुरबाट ३५ किलोमिटर दक्षिणमा रहेको नारुगौडासम्म मात्रै सञ्चालनमा छ । जहाजको टिकट नपाएपछि हतारमा रहेका कतिपय यात्रु हिँडेरै भए पनि बसमा जाने गरेका छन् भने बालबच्चा भएका, वृद्ध र अशक्त यात्रुहरू टिकटको प्रतीक्षामा दिनहुँ सदरमुकाम धाउन थालेका छन् ।
‘हिँडेर जाऊँ भने दुई–दुईवटा बच्चा बोकेर कसरी जाऊँ । जहाजको टिकट पाउन सकिएको छैन,’ जयपृथ्वी नगरपालिका–९, रिठापाटाकी गीता खड्काले भनिन्, ‘बच्चाको स्कुल सुरु भइसक्यो । टिकट नपाएर बिचल्लीमा छौं ।’ उनले टिकट मिलाइदिन थुप्रै नेता र पहुँचवालालाई अनुरोध गरिरहेको भए पनि कसैले सहयोग नगरेको बताइन् । निगमको उडान अनियमित भएपछि निजी कम्पनीको महँगो भाडा तिर्न नसक्ने यात्रुहरू पनि अलपत्र छन् । निगमको जहाज अनियमित हुँदा सबैभन्दा बढी मर्कामा दसैं/तिहार मनाउन घर आएका बझाङभन्दा बाहिर जिल्लामा अध्ययनरत बालबालिकाहरू परेका छन् ।
‘गाडी चलेको छैन । साना नानीहरूलाई हिँडाएर पठाउन पनि सम्भव छैन’ टिकट नपाएर चार जनालाई नेपालगन्ज पठाउन नसकिएको उल्लेख गर्दै कैलाशका भरत सिंहले भने, ‘चार/चार जना बच्चालाई निजी जहाजमा पठाऊँ भने भाडा तिर्न सकिने अवस्था छैन । एनएको आउला भनेर कुरेका छौं ।’ जहाज आए पनि टिकट पाउने टुंगो नभएकाले छोराछोरीको पढाइ छुट्ने चिन्ता लागेको उनले बताए । ‘अहिले पनि यात्रुको चाप उस्तै छ । जहाज कहिले आउने हो । केही निश्चित छैन,’ प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने, ‘सडक राम्रोसँग नखुल्दासम्म जहाज चलाइदिए धेरै राहत हुने थियो ।’
उनले निगमले नियमित उडान सञ्चालन गर्न सके बझाङका जनताले सुविधा पाउने बताए । जहाज अनियमित भएकोबारे बुझ्न निगमकी प्रवक्ता करिष्मा श्रेष्ठलाई पटकपटक फोन गर्दा पनि फोन उठेन । कान्तिपुरको सम्पर्कका आएका निगमका एक जना निर्देशकले बझाङमा निगमले गर्ने उडान बन्द नभएको तर जहाजको संख्या कम भएकाले नियमित उडान गर्न नसकिएको बताए । निगमले बझाङमा स्टेसन नै खोलेर नियमित उडान गर्ने तयारीमा रहेको उनको भनाइ छ ।
( कान्तिपुर दैनिक )