प्रधानसेनापति शर्मा सैन्य विमानमा भारत प्रस्थान
News Desk
Nov-09 , 2021 तारिख 03:32 बेलुका

काठमाडौँ — प्रधानसेनापति  प्रभुराम शर्मा भारतको चारदिवसीय औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा निस्किएका हुन् । नेपाली सेनाको मध्य एयरबेस, गौचरामा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए । प्रधानसेनापति शर्मा नेपाली सेनाको ५० सिटे इन्डोनेसियाली कासा २३५ जहाजमा भारत गएका हुन् ।

प्रधानसेनापतिमा नियुक्ति भएपछिको शर्माको यो पहिलो विदेश भ्रमण हो । प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनले मंगलबार नै भारतीय रक्षा सचिव अजयकुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत, भारतीय सेनाध्यक्ष जनरल नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भिआर चौधरीसँग समेत भेटघाट गर्नेछन् ।  प्रधानसेनापतिको भ्रमण दल श्रीमती सुनिता शर्मासहित नौ सदस्यीय रहेको छ । महारथी शर्मा यही कात्तिक २६ गते स्वदेश फर्कनेछन् । प्रधानसेनापति शर्माको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ ।    

( कान्तिपुर दैनिक )