News Desk
काठमाडौँ — २४ कात्तिक २०७८
काठमाडौँ , कानुन क्षेत्रका विज्ञहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई पदच्युत गर्न सर्वोच्च अदालतभित्रै एक्ल्याएर निरुत्साहित बनाउनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘न्यायपालिकाको वर्तमान संकट र निकास’ विषयक छलफलमा पूर्वन्यायाधीश बलराम केसीले भने, ‘जबराले प्रधानन्यायाधीशका रूपमा पाएको प्रशस्त समयलाई न्यायालय सुधारमा प्रयोग गर्नु भएन । पदको दुरुपयोग मात्रै गर्नुभयो । उहाँको कार्यकालमा भ्रष्टाचारको गन्ध धेरै आयो । पेसी तोक्दा पनि सेटिङ भयो ।’ वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरा र उनका परिवारका सदस्यसमेत भ्रष्टाचारमा संलग्न भएको गम्भीर आरोप लगाए । विशेष अदालतबाट तत्कालीन पुनरावेदन अदालत दिपायल सरुवा भएको केही समयमै जबराकी पत्नी रेजी राणा क्षत्रीका नाममा काठमाडौंमा खरिद गरिएको घरजग्गाको स्रोत के हो भनेर थापाले प्रश्न गरे । २०६५ कात्तिक २४ मा जबरा पत्नी रेजीले काठमाडौं–३० स्थित दुई वटा घडेरी र त्यसमा बनाएका घर २ करोड ४० लाख रुपैयाँमा खरिद गरेकी थिइन् ।
मालपोत कार्यालय डिल्लीबजारको अभिलेखमा कित्ता नम्बर १०९ को ८ आना २ दाम क्षेत्रफलको घडेरी र त्यसमा बनेको १ करोड ६ लाख ५० हजार रुपैयाँको घर र कित्ता नम्बर ११० को ८ आना ३ दाम क्षेत्रफलको घडेरी र त्यसमा बनेको १ करोड ३३ लाख ५० हजार रुपैयाँमा घर छिमी डोलकर लामाबाट खरिद गरेको देखिन्छ । रेजीलाई घरजग्गा बेच्ने छिमी डोलकर मुस्ताङी राजा जिग्मे पलवर विष्टकी जेठो दाजुकी छोरी हुन् । मुस्ताङी राजा जिग्मेका जेठो दाजु बितेपछि भाउजू डिकी डोलकर पलवर भनिने धिकिल्हा पलवरसँग सम्पत्ति विवाद रहेको थियो । भाउजू धिकिल्हा र उनकी छोरी छिमीले मुस्ताङी राजा जिग्मेविरुद्ध अंश मुद्दा दिएका थिए । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै समयमा जबरा पत्नीले छिमी डोलकरबाट काठमाडौंको घरजग्गा खरिद गरेको देखिन्छ । कार्यक्रममा वरिष्ठ अधिवक्ता थापाले सार्वजनिक रूपमै सोधे, ‘उक्त सम्पत्ति पैतृक हो कि घूसको रकम हो ?’ जबरा २०६२ माघ १३ मा भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको सुनुवाइ गर्ने विशेष अदालतमा पदस्थापन भएका थिए ।
२०६५ असोज ७ सम्म विशेष अदालतमा रहँदा जबराले भ्रष्टाचारसम्बन्धी करिब तीन दर्जन मुद्दामा विषयवस्तुमा प्रवेश नगरी हदम्यादको कारण देखाउँदै सफाइ दिएका थिए । विशेष अदालतबाट सरुवा भएको करिब डेढ महिनापछि उनकी पत्नी रेजीले उक्त सम्पत्ति खरिद गरेकी थिइन् । सोही कार्यक्रममा थापाले भैरहवामा लिलाममा गएको ‘कोर इन्स्ट्रुमेन्ट एन्ड मोल्ड इन्डस्ट्रिज’ कम्पनी प्रधानन्यायाधीश जबराका भाइ प्रभुशमशेरका नाममा कसरी आयो भनेर प्रश्न गरे । उक्त कम्पनी सकार्न प्रभुशमशेरले एनआईसी बैंकबाट १६ करोड रुपैयाँ ऋण लिएको उनले बताए । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायका सेवाग्राही वर्षौंदेखि बिचौलियाबाट पीडित भएको बताउँदै त्यसको नाइके प्रधानन्यायाधीश जबरा भएको आरोप लगाए । पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले जाँचबुझ गरेर न्यायाधीश नै बिचौलिया रहेको प्रतिवेदन दिएको र प्रधानन्यायाधीश जबराले त्यसलाई कार्यान्वयन नगरेको बताए ।
( कान्तिपुर दैनिक )