चुनावी तयारीमा सत्तापक्ष–प्रतिपक्ष
News Desk
Nov-10 , 2021 तारिख 11:33 बिहान

काठमाडौँ — २४ कात्तिक २०७८   

काठमाडौँ , संघ र सातै प्रदेशमा सरकार बनाइसकेपछि सत्ता गठबन्धन चुनावतिर केन्द्रित हुन थालेको छ । गठबन्धनका दलहरूले तत्काल हुने राष्ट्रिय सभा निर्वाचन र त्यसपछि हुन सक्ने उपनिर्वाचनमा कसरी अघि बढ्ने भनेर रणनीति बनाउन थालेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले पनि पार्टी महाधिवेशनको सरगर्मीलाई चुनावसँग जोडेर अघि बढेको छ ।  राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका ठाउँमा आगामी माघभित्रै चुनाव हुँदै छ । ‘अर्ली इलेक्सन’ नभए प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त रहेका पदका लागि उपनिर्वाचन हुने सम्भावना छ । सत्तारूढ दलहरूले सोमबार राष्ट्रिय सभा निर्वाचन र उपनिर्वाचनमा गठबन्धन बनाएरै जाने निर्णय गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल केही महिनाभित्रै सकिँदै छ । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको नियमित कार्यकाल पनि अर्को वर्ष मंसिरमा सकिन्छ । छोटो समयभित्र तीनै तहको निर्वाचन हुने भएकाले सत्तारूढ र प्रतिपक्षी दलहरू चुनावतिर उन्मुख भएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि लोकतन्त्र, संविधान र राष्ट्रियताका लागि भन्दै पाँच दलले गठबन्धन बनाएयता संघ र पाँच प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भएको छ । गएको आम निर्वाचनपछि संघ र चार प्रदेशमा सरकारको नेतृत्व गरेको एमाले अहिले सबैतिर विपक्षमा छ । पाँच दलले सत्ता गठबन्धनलाई अब चुनावी गठबन्धनमा रूपान्तरण गर्न खोजेका छन् । ‘केपी ओलीका कारण संसद्, संविधान, राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि संकट पैदा भयो । त्यसकारण स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति विचार मिल्नेहरूबीच गठबन्धन अनिवार्य बन्न पुग्यो,’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले भने, ‘यो गठबन्धनलाई कायम राख्दै दह्रो रूपले अगाडि बढ्ने निर्णय भएको छ ।’

एमसीसी सम्झौतालगायतका मुद्दामा देखिएको विवादका कारण गठबन्धनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला सत्तारूढ दलले आम निर्वाचन (संघीय र प्रदेश) सम्म सहकार्यको ढोका खोलेका छन् । आमनिर्वाचनमा संयुक्त रूपमा जाने विषयमा भने उनीहरूले निर्णय गरेका छैनन् । कांग्रेसबाहेकका चार दल राष्ट्रिय सभा र उपनिर्वाचनमार्फत आमनिर्वाचनसम्मै जाने गरी राजनीतिक धुव्रीकरण गर्ने प्रयासमा छन् । पाँचदलीय गठबन्धनका शीर्ष नेता सम्मिलित ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समितिका सदस्यसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेलाई राष्ट्रिय सभाको चुनाव र उपनिर्वाचनको सन्दर्भमा तालमेल हुने बताए पनि आमनिर्वाचनसम्म धुव्रीकरणको सम्भावना रहेको संकेत गरेका छन् । ‘धेरै चुनौती पार गरेर सरकार बनाएका छौँ र अब सहकार्य गरेर जानुपर्छ भन्ने सहमति छ ।

यसैका लागि समन्वय समिति बनेको हो,’ उनले भने, ‘यसले लोकतन्त्रलाई समाप्त पार्ने शक्तिहरूको योजना निस्तेज पार्छ । राष्ट्रियताको जगेर्ना गर्छ ।’ पाँच राजनीतिक दलबीच साझा धारणा बनाउने र मिलेर जाने नीति रहेको उनको भनाइ छ । यसअघि वाग्मती र लुम्बिनी प्रदेशबाट चुनिने रिक्त राष्ट्रिय सभाको एक–एक सिटमा गठबन्धनले संयुक्त उम्मेदवारी दिएका थिए । वाग्मतीमा गठबन्धनका उम्मेदवार खिमलाल देवकोटाले तत्कालीन गृहमन्त्रीसमेत रहेका एमाले उम्मेदवार रामबहादुर थापालाई हराएका थिए भने लुम्बिनीमा एमाले उम्मेदवार चन्द्रबहादुर खड्का गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेयसँग पराजित भएका थिए । राष्ट्रिय सभामा फागुन २० मा रिक्त हुने सिटका लागि बाँडफाँट नभइसके पनि सबै कब्जा गर्ने योजनामा गठबन्धनका दलहरू रहेका छन् । ‘राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा पाँचदलीय गठबन्धनले संयुक्त रूपमा तयारी गर्ने निर्णय भएको छ,’ पाँचदलीय गठबन्धनमा सरकारका तर्फबाट सदस्य रहेका सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अगाडि प्रतिनिधिसभाका चार र प्रदेशसभाका १८ सिटमा उपनिर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरिसकेको छ । अहिलेसम्म कुनै पनि निर्वाचनको मिति तय भएको छैन । प्रतिनिधिसभाका चारै सिट माओवादी सांसद कारबाहीमा परेपछि खाली भएका हुन् । प्रदेशसभाका १८ मध्ये माओवादी केन्द्रबाट निर्वाचित ८ जना दल त्याग गरी एमालेमा प्रवेश गरेपछि पदमुक्त भएका थिए । एमालेबाट निर्वाचित ७ मध्ये एक जनाको निधन भएको थियो भने ४ जना पार्टीको कारबाहीमा परेका थिए, २ जना दल त्यागपछि पदमुक्त भएका थिए । संघीय समाजवादी फोरम (हालको जसपा) बाट निर्वाचित २ जना पनि दलको कारबाहीमा परेपछि पदमुक्त भएका थिए । जनमोर्चा नेपालका तर्फबाट निर्वाचित १ जना पनि पार्टीको कारबाहीमा परेपछि खाली छ ।

‘मुलुक कुनै कारणले अर्लि इलेक्सनमा गयो भने भिन्दै परिस्थिति होला नत्र उपनिर्वाचनमा हामी गठबन्धनलाई सशक्त बनाएर लैजान्छौं,’ समन्वय समितिमा रहेका एक सदस्यले भने, ‘गठबन्धनमा रहेका दलहरूबीच संसद्को कार्यकाल पूर्ण बनाउनुपर्छ भन्ने मत बलियो हुँदै छ । कांग्रेसको महाधिवेशनपछि यसको ठोस स्वरूप आउँछ ।’ एमाले प्रवक्ता प्रदीप ज्ञवालीले गठबन्धन बनाएर जाने निर्णयलाई दलहरूको कमजोरीको प्रतीकका रूपमा टिप्पणी गरे । ‘मुलुकलाई यो ढंगको ध्रुवीकरण र थप तनावतिर लैजानेभन्दा पनि आ–आफ्ना एजेन्डा लिएर जनताका बीचमा जानु महत्त्वपूर्ण हुन्थ्यो,’ उनले भने, ‘यो ढंगको गठबन्धनको संस्कृति राम्रो होइन ।’ उनले यो गठबन्धनले एमालेलाई त्यति ठूलो असर नगर्ने दाबी पनि गरे ।

मनोवैज्ञानिक दबाब बनाउँदै एमाले

एमाले पाँचदलीय गठबन्धन भत्काउने र त्यसपछि आफूअनुकूलको चुनावी गठबन्धन बनाउने पक्षमा छ । एमाले अध्यक्ष ओलीले गठबन्धनप्रति लगातार प्रहार गर्दै एक्लाएक्लै चुनाव लड्न सत्तारूढ दलहरूलाई चुनौती दिइरहेका छन् । यतिसम्म कि ओलीले कांग्रेसबाहेकका राजनीतिक शक्तिको अस्तित्वसमेत स्वीकार गर्न आनाकानी गरेका छन् । एमाले मोरङले सोमबार आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसबाहेकका अरू दल आफूहरूसँग प्रतिस्पर्धामा नै नरहेको दाबी गरे । ‘हाम्रो प्रतिस्पर्धा अलिकति कांग्रेससँग हुनेछ । कांग्रेसको आड लागेकाको एक्लै लड्ने दम छैन,’ ओलीले माओवादी र एकीकृत समाजवादीतिर निसाना लगाउँदै भने, ‘कांग्रेससँग मिसिएका कांग्रेसका सेवक ढोके, हुक्केहरू चुनावसम्म एकढिक्का भएर जान्छौं भन्दै कराएका करायै छन् । कांग्रेसको औंला नसमाती यिनीहरू उभिन पनि सक्दैनन् ।’

ओलीले पार्टी विभाजनपछि चुनाव केन्द्रित गतिविधि र अभिव्यक्तिमा जोड दिइरहेका छन् । उनले सत्ताको नेतृत्वमा रहेका बेला पनि दुई पटक प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका थिए । गत आमनिर्वाचनमा वाम गठबन्धन बनाएर सत्तामा पुगेका ओलीले गत वर्ष पुसमा प्रतिनिधिसभा विघटनको निर्णय गरेयता लगातार क्षति व्यहोरिरहेका छन् । ‘झन्डै दुई तिहाइ पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पार्ने को–को हुन् भनेर जनताले चिनेका छैनन् ? अब सूर्यको जमाना आयो,’ कात्तिक १५ मा चितवन पुगेका ओलीले भनेका थिए, ‘पाँच दल होइन, १० मिलेर आए पनि एमाले बहुमतका साथ आउँछ । कसैले रोक्न सक्दैन ।’ त्यसअघि झापामा ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई एक्लै चुनाव लड्न चुनौती दिएका थिए । निकट नेताहरूका अनुसार पछिल्लो समय ओलीले दिँदै आएका चुनौतीपूर्ण अभिव्यक्ति अर्थपूर्ण छन् ।

विधान महाधिवेशनबाट फेरि पनि पहिलो पार्टी बन्ने संकल्प पारित गराएका ओली दसौं राष्ट्रिय महाधिवेशन (मंसिर १०–१२) पछि सम्पूर्ण शक्ति चुनावी तयारीमा लगाउने योजनामा छन् । निकट नेताहरूका अनुसार ओलीले अहिले चुनावमा बहुमत ल्याउने दाबी गरिरहेका छन् । एक्लै चुनाव लड्ने घोषणा गरेर विपक्षीमाथि मनोवैज्ञानिक दबाब बनाउने रणनीति उनको छ । तर उनका अभिव्यक्तिले पाँचदलीय गठबन्धनलाई झन्झन् नजिक बनाएको देखिन्छ । स्थायी कमिटीमा निकट रहेर काम गरेका एक नेताको भनाइमा ओली मतको ध्रुवीकरणको पक्षमा छन् । ‘चुनाव कांग्रेस र एमालेबीच हुँदै छ, अरू राजनीतिक शक्तिको केही हैसियत छैन भनेर मतको ध्रुवीकरण गर्ने अध्यक्षको चाहना छ,’ ती नेताले भने, ‘हतासा र निराशाजनक अभिव्यक्तिले चुनावी राजनीतिलाई फाइदा गर्दैन भन्नेमा उहाँ सचेत हुनुहुन्छ ।’ ती नेताका अनुसार ओली पार्टी विभाजनले कुनै क्षति छैन भन्ने सन्देश कार्यकर्ता र मतदाताकहाँ पुर्‍याउन चाहन्छन् । ‘विभाजनपछि पनि एमाले बलियो नै छ भन्ने मनोविज्ञान अध्यक्षले तयार पार्न चाहनुभएको छ,’ ती नेताले भने ।

एकल बहुमतको दाबीका पछाडि ओलीको तेस्रो रणनीति पनि रहेको ती नेताको बुझाइ छ । ‘गठबन्धन एकातिर र आफू अर्कोतिर बराबर हैसियत रहेको देखाएर केपी कमरेडले आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा राख्न चाहनुभएको छ । नतिजा जस्तोसुकै आए पनि चुनाव आफू र विरोधीबीच मात्रै देखियोस् भनेर अध्यक्षले ध्रुवीकरण गर्न चाहेको देखिन्छ,’ उनले भने । उनको बुझाइमा ओलीले तटस्थ मतदातालाई आफ्नो पक्षमा पार्ने रणनीति लिएका छन् । ओलीले ‘धर्मको राजनीति’ मा पनि चासो दिन थालेका छन् । पछिल्लो पटक उनी कात्तिक १६ मा चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजा एवं दर्शन गर्न गएका थिए । त्यहाँ ओलीले आफू प्रधानमन्त्री भएका बेला पठाएका मूर्तिहरूमा पूजासमेत गरेका थिए ।    

( कान्तिपुर दैनिक )