News Desk
काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय भूमि आयोगले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका छन् । मन्त्रालयमा मंगलबार आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कासहितका पदाधिकारीलाई बोलाएर अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएका हुन् । आयोगका अध्यक्ष निरौलाले यसअघिको आयोगले गरेका काम र अहिलेसम्मको अवस्थाबारे सबै पालिकासँग तथ्याङ्क मागिएको मन्त्री खाँणलाई जानकारी दिए । अध्यक्ष निरौलाले उक्त तथ्यांक प्राप्त भएमा अहिलेसम्म के कति काम भएको छ, अब गर्नुपर्ने काम र कति समय लाग्ने भन्नेबारे स्पष्ट हुने मन्त्री खाँणलाई जानकारी गराएका थिए ।
अध्यक्ष निरौलाले अहिलेसम्म ११ लाख फाराम भरिएकामा सफ्टवेयरमा जम्मा एक लाख ८४ हजारमात्रै इन्ट्री गरिएको जानकारी गराए । कात्तिक मसान्तसम्म कार्यविधि बनाएर काम सुरु गरी माघ मसान्तसम्ममा केही मात्रामा भए पनि जग्गाधनी पुर्जा बाँड्ने गरी आफूहरूले काम गरिरहेको उनले जानकारी गराए । मन्त्री खाँणले नतिजा आउने गरी काम गर्न निर्देशन दिए । 'गृहमन्त्रालयबाट हुने साथ र सहयोग तपाइँहरूलाई पूर्णरूपमा हुन्छ । नतिजा देखिने गरी काम गर्नुहोला', उनले भने ।
( कान्तिपुर दैनिक )