एकैपटक ४६ देशका कला
News Desk
Nov-10 , 2021 तारिख 12:30 बेलुका

काठमाडौँ — जलरंगका माध्यममा कला क्षेत्रमा लागेका चित्रकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुने भएको छ । आर्ट्समेट इन्टरनेसनल र एनबी गुरुङ आर्ट स्टुडियोको सहकार्यमा आगामी मंसिर २४ देखि हुने भर्चुअल जलरंग प्रदर्शनी १५ दिनसम्म चल्ने नेपाल अन्तर्राष्ट्रिय जलरंग समाजका अध्यक्ष तथा चित्रकार एनबी गुरुङले बताए । प्रदर्शनीका लागि सार्वजनिक आह्वान गरिएको समयभित्र ५१ देशका आयोजकलाई ४ सय ८३ कलाकृतिहरू प्राप्त भएका थिए । त्यसमध्येबाट ४६ देशका ३ सय २ वटा कलाकृति प्रदर्शनीका लागि छनोट गरिएको छ । प्रदर्शनीपूर्व सहभागी कलाकारका सिर्जनाहरूको प्रतिस्पर्धासमेत गरिएको छ । विभिन्न शीर्षकमा १३ जना पुरस्कारका लागि छनोट भएका छन् । १ लाख ५० हजार रुपैयाँ र ६० हजारभन्दा बढी मूल्यको कला सामग्री पुरस्कार भएको यस प्रदर्शनीमा प्रथम पुरस्कार म्यानमारका थिन स्वीकीले ४ सय डलर प्राप्त गरेका छन् । त्यस्तै चीनका रोंग जु कावोले ३ सय डलर हात पारेका छन् ।

थाइल्यान्डका टोसापोरन चान्टरासुकले २ सय, रसियाका याकुवा भिक्टोरियाले १ सय, म्यानमारका मियान्त नाइगंले ५० डलर प्राप्त गरेका छन् । नेपालबाट चित्रकार डी बरालले २ सय ५० डलर र विश्वराज पराजुलीले ५० डलर जितेका छन् । केहीले पुरस्कारमा कला सामग्री प्राप्त गरेका छन् । पुरस्कारका लागि ८ जना स्वदेशी तथा विदेशी कलाकारसहितको छनोट समूह गठन गरिएको थियो । कोरोना महामारीको प्रभाव पूर्ण रूपमा नहटिसकेकाले भर्चुअल प्रदर्शनी गरिएको गुरुङले सुनाए । ‘यो प्रदर्शनीले हाम्रो कला क्षेत्रले अन्तर्राष्ट्रियस्तरको चिनारी पाउनेछ भन्ने विश्वास छ,’ उनले भने ।     

( कान्तिपुर दैनिक )