ट्वान्टी-२० विश्वकप : फाइनल पुग्ने इंग्ल्यान्ड र न्युजिल्यान्डको विश्वास
News Desk
Nov-10 , 2021 तारिख 12:33 बेलुका

अबुधाबी — इयोन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड बुधबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा ‘फेवरेट’ न्युजिल्यान्डको सामना गर्दा चोटको समस्याबाट गुज्रिएको छ । दुई वर्षअघि यी दुई टिम ५० ओभरको नाटकीय फाइनलमा भिडेका थिए । इंग्ल्यान्डले प्रारम्भिक ब्याटर जेसन रोय र तीव्र गतिका बलर टेमल मिल्सलाई गुमाएको छ । तर, इंग्ल्यान्डले सुपर १२ का ५ खेलमा ४ जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । समूहको अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित भएको प्रतिस्पर्धामा रोय ‘काल्फ इन्ज्युरी’ का कारण पिचमा ढलेका थिए । पछि उनले प्रतियोगिता नै गुमाउने भयो र उनको स्थानमा जेम्स भिन्सलाई ल्याइएको छ ।

इंग्ल्यान्डले आक्रामक क्रिकेटको नमुना पस्किँदै वेस्ट इन्डिज, बंगलादेश, अस्ट्रेलिया र श्रीलंकाको चुनौती पन्छाएको थियो । त्यसैले इंग्ल्यान्ड समूहमा अस्ट्रेलियालाई उछिन्दै शीर्षस्थानमा रहेको थियो । तर, किवीलाई कुनै समस्या छैन र ‘ब्ल्याक क्याप्स’ इंग्ल्यान्डभन्दा पनि राम्रो र प्रशंसा गर्न लायक अवस्थामा छ । इंग्ल्यान्डले केन विलियम्सनको टिमलाई सुपर ओभरमा हराएर सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । ‘इंग्ल्यान्ड र न्युजिल्यान्डले नाटकीय खेल प्रदर्शन गरे भने त्यो लर्डसमा जुलाई २०१९ मा भएजस्तै हुनेछ । त्यसपछि ट्वान्टी–२० विश्वकपले पनि यो साता चम्किने अवसर पाउनेछ,’ इंग्ल्यान्डका पूर्वकप्तान माइक आर्थटनले द टाइम्समा लेखेका छन् । बेन स्टोक्सको अविजित ८४ रनको सहयोगमा इंग्ल्यान्डले न्युजिल्यान्डसँग २४१ रनको बराबरी गर्दै ५० ओभर टुंग्याएको थियो ।

सुपर ओभर पनि १५ रनको बराबरी भयो । त्यसपछि ‘बाउन्ड्री’ गणनाका आधारमा इंग्ल्यान्डलाई विजयी घोषित गरियो । उत्कृष्ट प्रदर्शन गरिरहेका स्टोक्स र जोफ्रा आर्चरबिना नै इंग्ल्यान्ड ट्वान्टी–२० को अन्तिम चारमा पुगेको हो । टोलीको पीडामा रोयको बर्हिगमनले पनि बुधबार अबुधाबीको खेलअघि थप चोट दिएको छ । जोस बटलरले प्रतयोगिताकै एकमात्र शतक प्रहार गरेका छन् । उनले श्रीलंकाविरुद्ध अविजित १०१ रन बनाएका थिए । उनी पाकिस्तानका कप्तान बाबर आजम (२६४ रन) पछि सबैभन्दा बढी रन बनाएका खेलाडी हुन् । उनले २४० रन बटुलेका छन् । क्रिस वोक्सले तीव्र गतिको बलिङ नेतृत्व गरेका छन् । उनलाई क्रिस जोर्डनले साथ दिइरहेका छन् । स्पिनर आदिल रसिद र मोइन अलीले पनि आफूलाई साबित गर्दै क्रमशः ८ र ७ विकेट लिएका छन् ।

ठूला प्रतियोगितामा न्युजिल्यान्ड परम्परागत रूपमै ‘अन्डरडग’ रहने गरेको छ । तर, एकदिवसीय विश्वकपको उपविजेता र भारतलाई हराएर वर्ल्ड टेस्ट च्याम्पियन भएपछि उसले विभिन्न संरचनाको क्रिकेटमा आफ्नो निश्चित प्रदर्शन साबित गरेको छ । तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र टिम साउथीले संयुक्त रूपमा १८ विकेट लिएर विपक्षी टिमहरूलाई सुरुमै दबाबमा पारिरहेका छन् । प्रारम्भिक जोडीलाई गुमाएपछि विलियम्सनको टिमले पाकिस्तानविरुद्ध राम्रो काम गरेको थियो भने भारतविरुद्ध खेलको लयलाई आफ्नो पक्षमा मोडेको थियो । त्यसपछि न्युजिल्यान्ड स्कटल्यान्ड, नामिबिया र अफगानिस्तानमाथि हाबी हुँदै सेमिफाइनलमा प्रवेश गर्‍यो । तर, बोल्ट आफ्ना प्रतिद्वन्द्वी सन्तुलित छन् भन्नेमा जानकार छैनन् ।

‘म्याच विनर्सले भरिपूर्ण छ । धेरै सन्तुलित टिम छ र ह्वाइट बल क्रिकेटमा केही धेरै राम्रो खेलेको पनि छ । आशा गरौं कि हामी केही ठूला अनपेक्षित नतिजा निकाल्ने छौं,’ बायाँ हाते तीव्र गतिका बलर बोल्टले भने, ‘ह्वाइट बल क्रिकेटमा दुई टिमको बीचमा केही राम्रो इतिहास छ । यो खेल धेरैले इच्छापूर्वक हेर्नेमा म विश्वस्त छु ।’ बोल्टले प्रतियोगितामा १०.७ को स्ट्राइक रेटमा प्रदर्शन गरेका छन् । उनले राम्रो लयमा रहेका इंग्ल्यान्डका शीर्ष ब्याटरहरूविरुद्ध सफलता हात पार्ने अपेक्षा गरिएको छ ।  

( कान्तिपुर दैनिक )