नेपाली केरा बगानमै कुहिन्छ, आयात भने करोडौंको
News Desk
Nov-10 , 2021 तारिख 12:39 बेलुका

काठमाडौँ — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सही गोकुलनगरका लेखु यादवले केही वर्षअघि सात बिघा क्षेत्रफलमा उखु लगाए । सुरुसुरुमा राम्रै आम्दानी भयो । चाँडै मूल्य तोकेर समयमै रकम पाए । पछिपछि व्यापारीले उधारोमा उखु लैजान थाले । समयमै रकम दिन आनकानी गरेपछि उनले यसको विकल्प खोज्न थाले । केबाट राम्रो आम्दानी हुन्छ, बुझ्न थाले । सबैको सल्लाहमा केराबाट राम्रो आम्दानी हुने थाहा पाएपछि उखुको क्षेत्रफल घटाएर केरा खेतीतिर आकर्षित भए । एक बिघा क्षेत्रफलमा केरा लगाएका उनी अहिले बजार नपाएपछि निराश छन् । ‘केराको व्यावसायिक खेती थालेको चार वर्ष भयो,’ यादवले भने, ‘तर अहिलेसम्म सन्तुष्ट हुन सकिएन ।’ उनका अनुसार बजार नपाउँदा बोटभरि केरा पाकेका छन् । यही बेला पानामा रोगले केराका बोट सुक्न थालेका छन् । ‘भारतीय केराले घाटा खाइरहेको समयमा रोगले केराका बोट मर्न थाले,’ उनले भने, ‘जताबाट पनि

हामी किसान नै मारमा पर्‍यौं ।’ नवलपरासी केरा उत्पादक संघका अध्यक्षसमेत रहेका उनले भारतीय केराका कारण नेपाली उत्पादन विस्थापनको अवस्थामा पुगेको बताए । व्यवसायीले भारतबाट सीधै केरा किनेर नेपाल भित्र्याउने गरे पनि कारबाही गर्ने निकाय मौन बस्ने गरेको यादवको आरोप छ । अहिले बजार नपाएपछि बोटमै पाकेर केरा झर्न थालेका छन् । यो क्षेत्रका किसानले जी नाइन, रोबेस्ट्रा र विलियम हाइब्रिड केरा लगाएका छन् । नवलपरासीमा १२ सयभन्दा बढी किसान छन् । २५ सय बिघाभन्दा बढी क्षेत्रफलमा केरा लगाइएको यादवले जानकारी दिए ।

केरा किसानको संख्या बढ्दो छ । केरा फलेर बिक्री नहुँदासम्म एउटा केरामा ३ सय २० रुपैयाँसम्म लगानी हुने भए पनि लागतअनुसारको आम्दानी नहुँदा किसान मारमा परेको उनको भनाइ छ । केरा खेतीलाई आवश्यक औषधि, मललगायत सबै वस्तु भारतबाटै आउने यादवको भनाइ छ । ‘सरकारले नेपाली उत्पादनलाई हेरेर भारतबाट आउने केराको भन्सारदर बढाउनुपर्छ,’ उनले भने, ‘होइन भने केरा खेतीबाट किसान पलायन हुनुको विकल्प छैन ।’ किसानलाई मल, बीउ, विषादी र कृषि औजारमा पनि अनुदान आवश्यक रहेको उनको भनाइ छ । अहिले जततातै केरा पाकेका छन्, बिक्री भएका छैनन् । समस्या यादवको मात्र होइन, यस क्षेत्रका प्रायः किसानको पीडा उस्तै छ । उनीहरूले भारतीय केरासँग प्रतिस्पर्धा गरिरहेका छन् । चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदीले पनि ७० बिघा क्षेत्रफलमा केरा लगाएका छन् । उनले उत्पादन गरेको केराको मुख्य बजार काठमाडौं र पोखरा हुन् ।

‘लगानीअनुसारको प्रतिफल छैन,’ उनले भने, ‘सधैं भारतबाट आउने सस्तो र नराम्रो केरासँग प्रतिस्पर्धा गर्नुपरेको छ ।’ उनका अनुसार भारतबाट बढी उत्पादन भएको केरा नेपाल आउँछ । पटकपटक भन्सार महसुलदर बढाएर आयात रोक्न खोजिए पनि सफल हुन नसकेको उनको गुनासो छ । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मात्र ५७ करोड ८४ लाख ९२ हजार रुपैयाँ बराबरको १८ हजार ७ सय ९३ टन भारतीय केरा आएको भन्सार विभागको तथ्यांक छ । सबैभन्दा बढी भदौमा २५ करोड २३ लाख ९३ हजार रुपैयाँ बराबरको ८ हजार ३ सय २६ टन केरा भित्रिएको छ ।

साउनमा २१ करोड २२ लाख ९३ हजार बराबरको ६ हजार ९ सय ७८ टन र असोजमा ११ करोड ३८ लाख ६ हजार रुपैयाँ बराबरको ३ हजार ४ सय ८९ टन केरा आयात भएको विभागको तथ्यांक छ । तीन आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को तथ्यांकअनुसार २०७६/७७ मा मात्र भारतमै केरा निर्यात भएको देखिन्छ । उक्त आर्थिक वर्षमा १ अर्ब ५२ करोड ६६ लाख ५५ हजार रुपैयाँ बराबरको ५० हजार ६ सय ५१ टन केरा भित्रिँदा नेपालबाट २२ हजार ५ सय रुपैयाँ बराबरको १८ सय केजी केरा निर्यात भएको हो । आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७८ करोड १३ लाख ७६ हजार रुपैयाँ बराबरको ७५ हजार ८९ टन र २०७७/७८ मा १ अर्ब ७१ करोड ५४ लाख ८१ हजार रुपैयाँ बराबरको ५८ हजार ४ सय ६५ टन केरा आयात भएको देखिन्छ ।

विभागले २०७७/७८ मा १५ करोड ५१ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै २०७५/७६ मा ८ करोड ९५ लाख १ हजार र २०७६/७७ मा भने ८ करोड ३५ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांक छ । २०७७/७८ मा केरा आयात गर्दा लाग्ने भन्सार महसुल बढेकाले रकम वृद्धि भएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । ‘सरकारले आन्तरिक उत्पादनलाई प्राथमिकता दिन भन्सार बढाएको हो,’ उनले भने । विगतदेखि नै किसानले कृषि सुधार शुल्क बढाउन माग गर्दै आएको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । ‘उनीहरूको त्यो माग केही हदसम्म गत वर्षदेखि पूरा भएको छ,’ उनले भने । कृषि सुधार शुल्क ५ प्रतिशत रहेकोमा गत आर्थिक वर्षदेखि ९ प्रतिशत पुर्‍याइएको उनले जानकारी दिए ।

बढी उत्पादन प्रदेश १ मा

कृषि मन्त्रालयले प्रकाशन गरेको नेपाली कृषिसम्बन्धी तथ्यांकअनुसार २०७६/७७ अनुसार नेपालमा १६ हजार ७ सय हेक्टर क्षेत्रफलमा २ लाख ५४ हजार १ सय ६१ टन केरा उत्पादन हुने गरेको छ । यसमध्ये सबैभन्दा धेरै प्रदेश १ मा ५ हजार ३ सय ६६ हेक्टरमा ८६ हजार ६ सय ६४ टन केरा उत्पादन हुने गरेको मन्त्रालयको तथ्यांक छ ।

प्रदेश २ मा २ हजार ८ सय ४४ हेक्टरमा ५० हजार ५६, वाग्मतीमा ३ हजार ४ सय ९८ हेक्टरमा ४० हजार ५ सय ८५ र लुम्बिनीमा २ हजार ६९ हेक्टरमा ३४ हजार १ सय २ टन केरा उत्पादन हुने गरेको मन्त्रालयको तथ्यांक छ । सुदूरपश्चिममा १ हजार २ सय ५२ हेक्टरमा १९ हजार ७ सय ५३ र गण्डकीमा १ हजार ३ सय ३० हेक्टरमा १९ हजार ६ सय ९६ टन केरा उत्पादन हुने गरेको छ । सबैभन्दा कम कर्णालीमा ३ सय ४१ हेक्टरमा ३ हजार ३ सय ५ टन उत्पादन हुने गरेको मन्त्रालयको तथ्यांक छ ।    

( कान्तिपुर दैनिक )