कर्मचारी अभावले सेवा प्रभावित
News Desk
Nov-11 , 2021 तारिख 12:32 बेलुका

विराटनगर — २५ कात्तिक २०७८   

विराटनगर , प्रदेश १ को कृषि निर्देशनालयमामा एक वर्षदेखि निर्देशकको पदपूर्ति हुन सकेको छैन । सहसचिवको दरबन्दीमा उपसचिवले काम चलाउँदै आएका छन् । कार्यालयमा ८ जना उपसचिवको दरबन्दी छ । तर एक वर्षदेखि एक जना मात्र उपलब्ध छन् । सात जना उपसचिवको काम एक वर्षदेखि सुब्बा र खरिदारले गर्दै आएका छन् । निमित्त निर्देशक उपसचिव प्रकाश डाँगी भन्छन्, ‘सहसचिवको काम एक वर्षदेखि म आफैं गर्दै आएको छु । आठ जना उपसचिवको काम खरिदार र मुखियाले गर्दै आएका छन् ।’

कार्यालयमा एक सहसचिव र आठ उपसचिवको दरबन्दी छ । डाँगीले भने एक वर्षदेखि सहसचिव र सात जना उपसचिवको पदपूर्ति नहुँदा उपसचिवका काम नायब सुब्बा र खरिदारबाट गर्नुपर्ने बाध्यता छ । उनका अनुसार दरबन्दीअनुसार अधिकृत, नायब सुब्बा र खरदारको पनि दरबन्दी पदपूर्ति नहुँदा निर्देशनालय सञ्चालनमै समस्या छ । प्रदेश १ मा कृषि र पशुतर्फ तीन जना सहसचिवको दरबन्दी भए पनि एक वर्षदेखि एक जना पनि उपलब्ध हुन सकेको छैन । दरबन्दीअनुसार कृषि र पशुसेवातर्फ प्राविधिक कर्मचारीको पदपूर्ति नहुँदा कार्यालय सञ्चालनमै समस्या भएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीको भनाइ छ ।   

( कान्तिपुर दैनिक )