News Desk
काठमाडौँ — सरकारले खाद्यान्नलगायत वस्तु ढुवानी गर्ने सवारीसाधनलाई लगाउँदै आएको ‘टाइम कार्ड’ मा कडाइ गरेको छ । व्यवसायीका अनुसार ढुवानी समय थप १ घण्टा घटाइएको हो । यसअघि काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म ढुवानी गर्न मिल्दैनथ्यो । मंगलबारदेखि अपराह्नतर्फ ३ देखि ७ बजेसम्म ढुवानी गर्न नमिल्ने बनाइएको व्यवसायीले बताए । सरकारले औपचारिक रूपमा घोषणा नगरे पनि ट्राफिक प्रहरीले मंगलबारदेखि यो टाइम कार्ड लागू गर्न थालिसकेको छ ।
लकडाउनयता ढुवानीमा टाइम कार्ड लगाउन सुरु गरिएको हो । त्यसअघि व्यवसायीले दिनभर नै ढुवानी गर्न पाउँथे । ‘लकडाउन खुले पनि ११ देखि ४ बजेसम्म गरेर जम्मा ५ घण्टा ढुवानी गर्न पाएका थियौं । सरकारी कार्यालयको काम गर्ने समय घटेको भन्दै १ घण्टा घटाइएको छ,’ नेपाल वितरक संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले भने । उनका अनुसार प्रशासनको सूचनाबिनै ट्राफिक प्रहरीले ढुवानीमा अवरोध गरिरहेका छन् । ३ बजेको आसपासमा ढुवानी गर्ने सवारी नियन्त्रणमा लिएर ट्राफिकले चिट काट्न थालेको उनले बताए । संघका अनुसार मंगलबार मात्रै सामाखुसी, क्षेत्रपाटी, लैनचौर क्षेत्रमा ८/१० वटा सवारीलाई ट्राफिकले समातेका थिए । ती सवारीमा चाउचाउ, बिस्कुट, तेललगायत वस्तु थिए । ‘सरकारी नीतिकै कारण व्यवसायीसँगै उपभोक्ता पनि महँगो मूल्य तिर्न बाध्य हुने देखिन्छ,’ श्रेष्ठले भने ।
खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पनि ढुवानी समय घट्दा आपूर्तिसँगै खाद्यवस्तुको मूल्यमा असर गर्ने बताए । ‘ढुवानीको समय सीमा घट्दा विशेषतः वितरकलाई समस्या हुन्छ,’ उनले भने, ‘त्यसको असर खाद्य बिक्रीमा पनि पर्छ । विडम्बना व्यवसायीले गुनासो गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभाग नै नेतृत्वविहीन छ ।’ व्यवसायीका अनुसार करिब ३ वर्षअघि विभागका तत्कालीन महानिर्देशक कुमार दाहालले बिहान/दिउँसो खाद्यलगायत वस्तु ढुवानीमा रोक लगाएका थिए । दिउँसो ढुवानी गर्दा सवारी जाम हुने भन्दै उनले बिहान ८ देखि बेलुकासम्म कुनै पनि वस्तु ढुवानी गर्न नपाउने नियम ल्याएका थिए ।
तर व्यवसायीको विरोधपछि १२ सय सिसीभन्दा माथिको ढुवानी सवारीसाधन बिहान ११ बजेदेखि चलाउन पाउने सहमति भएको थियो । खाद्यान्नलगायत अत्यावश्यक वस्तु बोकेका साना गाडी (८ सय/एक हजार सिसी) मा बन्देज थिएन । ‘पछि सानो गाडीमा ९ देखि ११ बजेसम्म बन्देज लाग्यो । २०७७ चैतमा कोभिडका कारण जोरबिजोरदेखि ढुवानी समय तोकियो । लगत्तै वैशाखमा लकडाउन खुकुलो भए पनि ढुवानीमा पुनः ‘टाइम कार्ड’ लाग्यो,’ श्रेष्ठले भने, ‘लकडाउनमा खासै व्यापार नभएकाले चासो दिएनौं । तर, अवस्था सामान्य हुँदासमेत सरकारले निरन्तरता दियो । अहिले ढुवानी समय थप एक घण्टा घटाएर व्यवसायीलाई दुःख दिएको छ ।’
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ढुवानी समय फेरबदल नभएको बताए । ‘नयाँ निर्णय भएको छैन,’ उनले भने । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले सरकारी कार्यालयमा काम गर्ने समय घटेकाले ढुवानी समय पनि घटाइएको हुन सक्ने बताए । ‘आज सार्वजनिक बिदा भयो । बिहीबार बुझ्छु,’ उनले भने । पूर्वअध्यक्ष श्रेष्ठका अनुसार उपत्यकामा करिब ७ सय वितरकहरू छन् । चक्रपथमा मात्रै करिब ४ सय छन् । एउटै वितरकले औसतमा ३/४ वटा गाडीबाट ढुवानी गर्छन् । कतिपयले भाडामा सवारी लिएर पनि ढुवानी गरिरहेका छन् । ८ घण्टामा करिब २ ट्रिप गर्छन् । तर, सरकारी नीतिले दिनमा जम्मा ४ घण्टा ढुवानी गर्न पाइन्छ । ‘४ घण्टा मात्रै ढुवानी हुँदा एक ट्रिप मात्रै हुन्छ । त्यसले ढुवानी भाडा बढ्छ, उपभोक्तालाई मार पर्छ,’ श्रेष्ठले भने ।
उनका अनुसार ढुवानी भाडा २ प्रतिशत बढ्दा उपभोक्ता मूल्य करिब ५ प्रतिशतसम्म वृद्धि हुन्छ । ढुवानी समय कम हुँदा कर्मचारी व्यवस्थापनमा समेत समस्या भएको व्यवसायीको गुनासो छ । ‘बिहान र राति नै कर्मचारी कसरी खटाउने ? ४ घण्टा मात्रै काम गरेको कर्मचारीलाई न्यूनतम तलब कसरी दिने ?,’ श्रेष्ठले भने, ‘पसलले दिनभरि सामान बेच्ने र राति सामान किन्ने व्यावहारिक पनि भएन ।’ काठमाडौंमा खाद्यको मात्रै करिब ३० हजार खुद्रा पसल छन् । खाद्यसँगै कपडा, ग्यासलगायतमा पनि उस्तै समस्या छ । व्यवसायीका अनुसार सवारी जाम हुने क्षेत्र पहिचान गरेर अन्य क्षेत्रमा खाद्य वस्तुहरू ढुवानी खुला राख्नुपर्छ । ढुवानीमै अवरोध भएपछि संघले बिहीबार सीडीओ कार्यालय, ट्राफिक प्रहरी र वाणिज्य विभागमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । त्यसपछि पनि समस्या समाधान नभए खाद्य ढुवानी गर्ने सवारी बानेश्वरदेखि माइतीघरमा लाइन राखेर विरोध गर्ने तयारी रहेको संघले जनाएको छ ।
( कान्तिपुर दैनिक )