News Desk
धनगढी,कञ्चनपुर — २६ कात्तिक २०७८
धनगढी,कञ्चनपुर, ३०/४० को दशकमा सुदूरपश्चिममा छठ पर्व मनाउने मधेसी समुदायको बसोबास नगण्य थियो । पूर्वी तराईबाट सुदूरका कैलाली र कञ्चनपुर बसाइँ सरेका मधेसी समुदायका केही परिवार पनि छठ मनाउन आफ्नै रैथाने थातथलो जान्थे । धनगढीका पूर्ण शंकर यादवका अनुसार कैलालीको मोहना नदी भन्सार नजिकै मोहना घाटमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य (जल) चढाएर छठ मनाउने कार्यको सुरुवात पचासको दशकमा राधेश्याम गुप्ता र पुरन लालले गरेका हुन् । साठीको दशकपछि मोहना घाट छठी पर्वको अवसरमा झकिझकाउ हुन थालेको हो । ‘अहिले हजारौंको भीडमा सूर्यलाई अर्घ्य चढाउन नदीमा खुट्टा हाल्ने ठाउँ पाउन मुस्किल हुन्छ,’ राधेश्यामका छोरा सचिदानन्दले भने, ‘छठ पर्वलाई मधेसी समुदायले मात्रै हैन, पहाडी समुदायबाट पनि मनाउन सुरु भएको हो ।’ उनले जागिर र व्यापारको सिलसिलामा पूर्वी मधेसबाट बसाइँ सरेकाको संख्यामा वृद्धि हुँदै गएको छ । सचिदानन्दले भने, ‘अहिले यहाँ पनि १० प्रतिशत जति मधेसी समुदायको बसोबास पुगसिकेको छ ।’ धनगढीमै व्यापार गरिरहेका पप्पु गुप्ताले अहिले छठ मनाउन पुर्ख्यौली थलो जाने चलन हटिसकेको बताए । ‘यता घरपरिवार नभएका कोही मात्रै पूर्व घर जान्छन् होला,’ उनले भने ।
अहिले छठ पूजालाई भव्यरूपमा मनाउन छठ पूजा सेवा समिति गठन गरिँदै आएको छ । उक्त समितिले नदी किनारमा टेन्टको व्यवस्था गर्न सुरु गरेपछि उदाउँदो सूर्यको पूजा राति बास बसेर मनाउन थालेका छन् । चन्दा संकलन गरेरै मोहना घाटलाई सजाइने गरेको समितिका अध्यक्ष सन्तोष मण्डलले बताए । उनले यो वर्ष ४/५ सयदेखि एक लाखसम्म चन्दा संकलन गरेर सात लाखभन्दा बढीको अनुमानमा मोहना किनारमा छठी पूजा पर्व मेलाको आयोजना गरिएको बताए । बिहीबार कैलालीको मोहना घाट र कञ्चनपुरको महाकाली सिँचाइ योजनाको नहरमा हजारौंको सहभागितामा छठ पर्व समापन गरिएको छ । धनगढीका दीपक मण्डलको पहाडी समुदायकी छोरी साधना खत्रीसंँग वैवाहिक सम्बन्ध जोडियो । मधेसी समुदायको चलनअनुसार उनले पनि छठ पूजा सुरु गरिन् । त्यस्तै उनका मामा प्रदीप गुप्ताले चौधरी समुदायकी छोरीसंँग बिहे गरे पछि उनको परिवारमा पनि छठको पूजा गर्न थालिएको छ । सेवा समितिका सल्लाहकार पूर्णशंकर यादवले पछिल्लो समय मधेसी समुदायसँग पहाडी र अन्य समुदायको मिश्रण बढेको बताए । उनका अनुसार वैवाहिक सम्बन्धबाहेक देखासिखी र रहरले पनि अन्य समुदायले छठ मनाउन लागेका छन् । धनगढीकी मेघा भट्ट पनि दुई वर्षदेखि अस्ताउँदो र उदाउँदो सूर्यलाई जल चढाउन मोहना नदीमा जाने गर्छिन् । सूर्यलाई जल चढाएर मनको तापलाई कम गर्ने विश्वासका साथ छठ मनाउन सुरु गरेको उनले बताइन् ।
समितिका सदस्य पूर्णशंकर यादवका अनुसार मोहना घाटमा हरेक वर्ष छठ मान्ने पहाडी समुदायका परिवारहरू बढ्दै गएको बताए । ‘केही वर्षमै छठ तराई मधेस हुँदै पहाड उक्लिनेछ,’ उनले भने, ‘सारा नेपालीलाई एउटै माला छठमा बाँध्नेछ ।’ पहाडी समुदायकी चेली यादवकी श्रीमती सुजिताले अहिले माइती र घर दुवैमा छठ मनाउन लागेको बताइन् । उनले सुरुमा तीन दिनसम्म भोकै बस्नुपर्ने यो व्रत बस्न कठिन लागे पनि मनमा शान्ति प्राप्त हुन थालेको बताइन् । उनले अहिले घरमा दसैंतिहार र छठलाई उस्तै रूपमा मान्ने गरेको बताइन् । कञ्चनपुरमा महेन्द्रनगर बजार छेउको महाकाली सिँचाइ आयोजनाको नहर छठका लागि झकिझकाउ गरिएको थियो । मंगलबारदेखि नै सजाइएको नहर किनारमा बुधबार साँझ व्रतालु महिला र पुरुषहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए भने बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन गरे । व्रतालुहरू नदी किनारमा फलफूलदेखि तरकारी सागपात सबैथोक घरबाट लिएर आएका थिए । महाकाली सिंँचाइ आयोजनाको नहर किनारमा सरसफाइ गरेर निकै आकर्षक तरिकाले सजाइएको थियो ।
( कान्तिपुर दैनिक )