News Desk
जनकपुर/पर्सा — २६ कात्तिक २०७८
जनकपुर/पर्सा, उदाउँदो सूर्यलाई बिहीबार अर्घ्य दिएपछि चारदिने छठ पर्व सकिएको छ । झन्डै ३६ घण्टादेखि निराहार व्रत गरेका व्रतालु उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गरेपछि सूर्य कथा सुन्दै अन्नजल ग्रहण गरेका छन् । जनकपुरका पोखरी र तलाउमा छठ पर्व हेर्न जानेको भीड थियो । व्रतालुसँगै अन्य श्रद्धालुहरूले पनि उदाउँदो सूर्यलाई नमस्कार गरी प्रसाद ग्रहण गरेका थिए । जनकपुरको छठ हेर्न बुधबार साँझ नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि आइपुगे । छठ हेर्न जनकपुरमा विदेशी पर्यटकको संख्या पनि उल्लेख्य थियो । पर्यटन व्यवसायी विजय झुनझुनवालका अनुसार कोभिडका कारण दुई वर्षदेखि ठप्प रहेको जनकपुरको होटल/व्यवसाय तिहारपछि भरिभराउ हुनुमा छठ हेर्न आउने पर्यटक पनि कारण हो । सुस्वास्थ्य, दीर्घजीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठी र सप्तमीको दिन छठ मान्ने चलन छ । पण्डित घनश्याम मिश्रका अनुसार छठ पूजा गर्दा चर्मरोग निको हुने पनि विश्वास छ । छठ पर्वमा केरा, नरिवल, उखु, सुन्तला, निबुवा, बेसार, चामल र गहुँको आँटा तथा गुँडबाट निर्मित ठेकुवा, भुसुवा, पिरुकिया, गुणालगायतका पारम्परिक परिकारको प्रसादी बनाइन्छ । पूजा सामग्री स्थानीयस्तरमा निर्मित माटाको भाँडो तथा बाँसको टोकरी, कनसुपतीमा राखेर पूजा स्थलसम्म पुर्याइन्छ ।
वीरगन्जमा पनि उदाउँदो सूर्यलाई बिहीबार अर्घ्य दिएर व्रतालुले यस वर्षको कात्तिकी छठ पर्वलाई बिदा गरेका छन् । यहाँका छठ घाटमा बिहानैदेखि भीड थियो । व्रतालुहरू भने झिसमिसेदेखि नै जलाशयमा उभिएर सूर्योदयको प्रतीक्षा गरेका थिए । ‘बिहनियाघाट’ भनिने यस दिन व्रतालुहरूले कलिलो सूर्यलाई बाँसको सुपुलीमा नरिवल र अन्य पूजा सामग्रीहरू अर्घ्य दिए । व्रत समापन भएपछि व्रतालुले परिवारजन र आफन्त, इष्टमित्रलाई टीका लगाइदिएको दृश्य देखिन्थ्यो । त्यस क्रममा व्रतालुभन्दा कान्छा परिवारका सदस्यले व्रतालुलाई ढोगेर आशीर्वाद लिएका थिए । व्रतालुहरूले परिवार तथा आफन्त इष्टमित्र महिलाहरूलाई सौभाग्यको प्रतीक नाकदेखि सिउँदोसम्म सिन्दूर/टीका लगाइदिएका थिए । व्रतालुहरूको हातबाट यस्तो टीका थाप्न विवाहित महिलाहरू लालायित देखिन्थे । यस्तो टीका लगाउँदा छठी माताको आशीर्वादले पतिको दीर्घायु हुने र दाम्पत्य जीवन सफल हुने धार्मिक विश्वास रहेको छ । टीका आदानप्रदान भएपछि व्रतालुले घाटमै प्रसाद वितरण गर्ने र आफूले पनि खाएका थिए ।
मंगलबार साँझ सख्खर, दूध र चामलबाट तयार पारिएको खीर (रस्याउ) खाएका व्रतालुहरूले बुधबार दिनभरि पानीसमेत नपिएर कठोर व्रत लिएका थिए । पर्वको सम्पूर्ण विधि सकिएपछि व्रतालु तथा तिनका परिवारका सदस्य छरछिमेक, आफन्तजन तथा इष्टमित्रहरूलाई प्रसाद बाँड्नमा व्यस्त छन् । विशेष गरी छठ माताको प्रसाद छोरीचेलीको घरमा पठाउने चलन छ । छोरीचेलीको घरमा प्रसाद लिएर प्रायः माइतीबाट दाजुभाइहरू जाने गर्छन् । चेलीबेटीहरू पनि माइतीबाट आफ्नो प्रसाद/कोसेलीको प्रतीक्षा गरेर बसेका हुन्छन् । यस्तो कोसेलीलाई तराईमा ‘बायन’ भन्ने चलन छ । यस्तो कोसेली चेलीबेटीकहाँ पठाउने क्रम झन्डै साताभरि चल्छ । घरमा कुनै विशेष समारोह आयोजना हुँदा चेलीबेटीकहाँ अनिवार्य रूपमै कोसेली पठाउने तराईको पुरानो चलन छ । नियमित छठको व्रत लिने तथा भाकल गरेर कुनै वर्षमात्र व्रत लिने व्रतालुहरूले यो पर्वको विधि औपचारिक रूपमा सम्पन्न गरेपछि ठूलो जिम्मेवारी सफलतापूर्वक वहन गरेको अनुभूति गर्छन् ।
निराहार निर्जल कठोर व्रत लिएका श्रद्धालुका लागि परिवारका सदस्यले घरमा बिहानैदेखि खानेकुरा पकाइरहेका हुन्छन् । त्यस्तो खानामा पकौडा, तरुवा आदि अतिरिक्त परिकार हुन्छन् । केही व्रतालुले माछा–भात खाने पनि गर्छन् । व्रतपछिको पहिलो खाना माछा–भात खाँदा शुभ हुने जनविश्वास पनि छ ।
( कान्तिपुर दैनिक )