News Desk
मोरङ — २६ कात्तिक २०७८
मोरङ , रातभरको व्यग्र पर्खाइपछि छठ व्रतालु एवं परिवारजनले बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर लोकपर्व छठको समापन गरेका छन् । व्रतालुले घाटघाटमा लहरै उभिएर बुधबार साँझ अस्ताउँदो सूर्यको आराधना गरेका थिए । त्यसपछि कोही घाटमै जाग्राम बसे भने कोही घर फर्के । छठ पूजा आयोजक समितिहरूले पूजास्थल र गाउँगाउँमा पारम्पारिक नाटक एवं सांगीतिक कार्यक्रमको पनि आयोजना गरेका थिए । विराटनगर महानगर र वरिपरिका गाउँमा लोकसंगीतको गुन्जनले जाग्रामकै अवस्था थियो । घर फर्केका व्रतालुहरू बिहान तीन बजेदेखि पूजन सामग्रीसहित पुनः घाट पुगिरहेका थिए । अ
र्घ्य दिनुअगाडि सामग्री सजाउनुपर्ने र धार्मिक विधि गर्नुपर्ने हुनाले निकै समय लाग्छ । यसपछि भजन र लोकगीत गाउँदै बसेका व्रतालु मिर्मिरे बिहानीमा खोलामा उभिएर पूर्वक्षितिजमा लालिमा छर्दै देखिएका सूर्यदेवलाई अर्घ्य दिए । बिहानको अर्घ्यलगत्तै सूर्य महिमाको कथावाचन गरेपछि छठको विधिवत् समापन भयो । व्रतालुले प्रसाद खाएर र वरिपरिकालाई बाँडेर निर्जल उपवास तोडेका थिए । कोरोना कहरपछिको पहिलो छठमा मुलुकको अन्य भागजस्तै मोरङका घाटहरूमा उल्लासमय वातावरण देखियो । जलाशय भएको हरेक ठाउँहरू खोला, खोल्सा, नहर, पोखरी र पानी जमेको थलोहरूमा घाट सजेको देखियो । भव्य साजसज्जा गरिएको विराटनगरको सिघिंया, केशलिया घाट र नहरहरूमा भक्तजनको साँझबिहान बाक्लो उपस्थिति रह्यो ।
दक्षिणपूर्वी मोरङको रंगेलीस्थित सबैभन्दा पुरानो बक्राहा एवं चिस्याङ घाटमा चहलपहल पनि कम रहेन । मोरङको पूर्वसदरमुकाम एवं प्राचीन थलो रंगेलीमा छठमा भव्य दीपावली गरेको पाइयो । मोरङको कटहरी, जहदा, ग्रामथान एवं धनपालथान गाउँपालिकावासीलाई पायक पर्ने लोहन्द्रा खोला किनारमा व्रतालु परिवारले उत्साहका साथ पूजा गरे । कतिपय व्रतालु एवं परिवारजनले घरआँगन र छतमा कृत्रिम पोखरी बनाएर उमंगका साथ अर्घ्य दिए । कोभिड–१९ को संक्रमण कायम रहनु, भीडमा असुरक्षित महसुस गर्नु र शारीरिक अशक्तताले घाट जान नसक्नेले घरमै छठ गरेको पाइयो । लोकआस्थाअनुरूप सुस्वास्थ्य, समृद्धि, सन्तान सुख तथा सामाजिक विभेदको अन्त्य लगायतको विविध थरीका कामना गर्दै छठ गरिन्छ ।
( कान्तिपुर दैनिक )