News Desk
कास्की — दुई जिल्ला अर्थात् प्रदेश राजधानी पोखरासँग जोड्ने कास्कीको पुम्दीभुम्दी र स्याङ्जाको फेदीखोला सडक ६ वर्षदेखि अलपत्र छ । निर्माण कम्पनीले तोकिएको समयमै काम गरिदिएको भए उक्त सडक २०७५ असार ३० मा नै सम्पन्न हुने थियो । तर, ठेकेदारका लापारबाहीका कारण अहिलेसम्म अलपत्र छ । सडकको प्रत्यक्ष रेखदेख पूर्वाधार विकास कार्यालय कास्कीले गर्दै आएको छ । दुई जिल्लाकै महत्त्वपूर्ण मानिएको यो सडक लामो समयसम्म अलपत्र परेपछि संघीय सरकारले २०७५ मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । प्रदेशमा हस्तान्तरण भएपनि पर्याप्त बजेट नदिने र ठेकेदारले नै वेवास्ता गर्दा सडक अलपत्र परेको पूर्वाधार विकास कार्यालयका प्रमुख डा.महेन्द्र बानियाँले बताए । ‘हामीले सडक निर्माणको विषयमा ठेकेदारसँग बारम्बार वार्ता गर्यौं,’ उनले भने, ‘जहिले हुन्छ–हुन्छ मात्र भन्ने तर काम नगर्ने । अहिले निर्माण कम्पनी सम्पर्कविहीन छ । अब बैंक धरौटी नै फिर्ता गर्छौं ।’
यस योजनाको लागि पहिलोपटक संघीय सरकारले २०७३ मा ठेक्का लगाएको थियो । तर समयमै काम नगरेपछि २०७७ जेठ ३० मा सम्पन्न गर्ने गरि दोस्रोपटक म्याद थप भयो । तर पनि सडक बनेन । कार्यालयले पुनः २०७७ मंसिर २९ मा सम्पन्न हुने गरि म्याद थप गरिएको जनाएको छ । ६ करोड २२ लाख १३ हजार ५ सय ९० ठेक्का सम्झौता रकम रहेको यस योजनाको लागि चालु आर्थिक वर्षमा २ करोड ३५ लाख रुपैयाँ विनियोजन भएको बानियाँले बताए । शंकरमाली निर्माण सेवाले निर्माणको जिम्मा लिएको हो । यस्तै, २०७४ वैशाख २६ मा सम्झौता भई २०७५ फागुन ३० मा सम्पन्न हुनुपर्ने फुलबारी–भलाम–बाटुलेचौर सडकलाई दुईपटकसम्म म्याद थप गरिएको छ । तोकिएको समयमै निर्माण नभए पनि २०७६ चैत १५ र २०७७ असोज १५ सा सम्पन्न गर्ने गरि पटकपटक म्याद थप गरिएको कार्यालयका इन्जिनियर अनुप थापाले बताए । उनका अनुसार ४ करोड ४१ लाख २ हजार ५ सय ५३ ठेक्का सम्झौता रकम रहेको यस योजनाको लागि चालु आवमा ५ लाख रुपैयाँ मात्र विनियोजन भएको छ ।
‘संघबाट हस्तान्तरण भई आएका योजनाको लागि बजेट संघले नै उपलब्ध गराउने हो’ उनले भने, ‘आवश्यक बजेट आउँदैन, योजना यसै हराउँछन् । निर्माण कम्पनीको पनि लापारबाही उस्तै छ । एक वर्ष बजेट परेको छ भने अर्को वर्ष काटिन्छ । बजेटले निरन्तरता नपाउँदा पनि फिल्डमा काम गर्न गाह्रो छ ।’ उनले निर्माण कम्पनीलाई कारबाही गर्ने भन्दै काम गर्न अनुरोध गर्दा पनि वेवास्ता गर्ने गरेको बताए । यो सडकको निर्माणको जिम्मा रसुवा क्रेटिभ जेभीले लिएको हो । फुर्सेखोला–रायोदी–मट्टीखान पनि दुई जिल्ला जोड्ने सडक हो । २०७४ असार २८ मा सम्झौता भएको यस सडकको सम्पन्न हुनुपर्ने मिति २०७६ पुस २५ रहेको छ । तर, तोकिएको समयमै काम नभएपछि कार्यालयले २०७७ फागुन १ सम्मलाई म्याद थप गरेको थियो । निर्माण कार्यको जिम्मा एसबीए एसपी सिरुवा जेभीले लिएको छ ।
कार्यालयका अनुसार कम्पनीका ठेकेदार सम्पर्कविहीन छन् । ३१ करोड ९ लाख ठेक्का सम्झौता रकम रहेको यस योजनाको लागि चालु आवमा २ करोड रुपैयाँ विनियोजन भएको छ । यसैगरी, वेगनासताल–आनन्द ज्योति मावि माझथाना सडकलाई पनि दोस्रोपटक म्याद थपिएपनि निर्माण कार्यले गति लिन सकेको छैन । लामा विर्डस कम्पनीले निर्माण कार्यको जिम्मा लिएको हो । २०७५ पुस ५ मा सम्झौता भएको यस सडकको निर्माण अवधि २०७७ कात्तिक २८ सम्म हो । तर, तोकिएको समयभित्र काम नभएपछि कार्यालयले २०७७ चैत २८ सम्मलाई म्याद थप गरेको थियो । ७ करोड ८४ लाख ६ हजार ठेक्का सम्झौता रकम रहेको यस योजनाको लागि चालु आवमा २ करोड रुपैयाँ मात्र विनियोजन भएको कार्यालयले जनाएको छ ।
‘हामीसंग बजेट नै छैन’ कार्यालय प्रमुख बानियाँ भन्छन, ‘राम्रा र ठूला योजनाको लागि स्टिमेट गर्नै सक्दैनौं । योजनाको स्टिमेट गर्नुपूर्व यति रकमभन्दा माथि नगर भनी तोकिएरै आउँछ ।’ उनले कतिपय योजना बजेट अभावका कारण तोकिएको समयभित्र सम्पन्न गर्न समस्या रहेको भए पनि कतिपय निर्माण कम्पनीकै कारण ढिलासुस्ती भएको बताए । पोखरा महानगर–२२ का चन्द्रमणी बरालले तोकिएको समयभित्र काम नगर्ने र पटकपटक म्याद थप गर्ने निर्माण कम्पनीलाई स्थानीयले स्वयं खबरदारी गर्ने बताए । ‘कार्यालयमा आएर पनि हामीले धेरैपटक कुरा राख्यौं,’ उनले भने, ‘फिल्डमा काम यत्तिकै छ । सँधै बजेटमात्र हालिन्छ । काम गर्ने नत कामदार नै छन् न त निर्माणधीन सामग्री नै । ठेकेदार पनि सम्पर्कविहीन छ ।’ यता, निर्माण व्यवसायीले भने कोरोनाको कारण देखाउँदै काम ढिला भएको बताएका छन् ।
( कान्तिपुर दैनिक )