News Desk
काठमाडौँ — माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको सचिवालय हेरफेर गरेको छ । कात्तिक २३ मा बसेको स्थायी कमिटी बैठकले सचिवालय हेरफेरको निर्णय गरेको हो । सचिवालयमा रहेका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ । महरा लामो समयदेखि दाहालको सचिवालयमा थिए ।
हाललाई प्रमुख स्वकीय सचिव नराखी स्वकीय सचिवका रुपमा पूर्व विद्यार्थी नेता रमेश मल्ललाई जिम्मेवारी दिइएको दाहालको सचिवालयले जनाएको छ । यसअघि दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा मल्लले सचिवालयमा बसेर काम गरेका थिए । दाहाल छोरी गंगा पनि स्वकीय सचिव छिन् । यस्तै बैठकले प्रेस संयोजक विष्णु सापकोटालाई पनि प्रेस सेन्टरको हालको जिम्मेवारीको काममा केन्द्रीत गराउने निर्णय गरेको छ । बैठकले दाहालको सचिवालयमा रिक्त पदपूर्ति गर्ने जिम्मा उनैलाई दिएको थियो । प्रेस संयोजक कसलाई तोक्ने भन्नेबारे केही खुलाइएको छैन ।
( कान्तिपुर दैनिक )