News Desk
काठमाडौँ — विस्तृत डिजाइनका लागि चिनियाँ टोली नआउँदा चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढ्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ‘साइट’मा समस्या नरहेको जनाउँदै चिनियाँ दूतावासमार्फत टोलीलाई पत्राचार गरिएको छ । तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्माले बताए ।
दोस्रो चरणमा कलंकीदेखि–धोबीखोला (गोपीकृष्ण हलनजिकको पुल) सम्म ११.६ किलोमिटर सडक चीन सरकारको अनुदान सहयोगमा विस्तार हुने छ । ‘चक्रपथ विस्तारमा ढिलाई भइरहेको छ,’ सहसचिव शर्माले भने, ‘चिनियाँ टोली आइदिएमा विस्तृत डिजाइनको काम अघि बढ्ने थियो ।’ उनका अनुसार समस्या रहेको महाराजगन्ज खण्ड र स्वयम्भूमा पर्ने चैत्य छाडेर अन्यत्रको काम अघि बढाउन भनिएको छ । ‘महाराजगन्ज र चैत्य भएको ठाउँमा डिजाइनको काम मात्र गर्न भनेका हौं,’ उनले भने, ‘यी ठाउँमा बरु आफैं निर्माणको काम गर्ने थियौं, अन्य खण्डको प्रक्रिया बढाउन पाए काम चाँडो सुरु हुने थियो ।’
रूख कटान गर्ने, भौतिक संरचना पन्छाउने, खानेपानी पाइपलाइन व्यवस्थापन र विद्युत तथा टेलिकमका पोल हटाउनेजस्ता ‘साइट क्लियर’ थालेकै ३ वर्ष भइसकेको छ । तर अहिलेसम्म साइट क्लियर हुन सकेको छैन । चिनियाँ टोलीले साइट क्लियर नभएसम्म नआउने अडान राखेपछि डिजाइनको काम अघि बढ्न नसकेको जनाइएको छ । चिनियाँ पक्षको भनाइ साइटमा केही अवरोध बाँकी रहनुभएन भन्ने छ । सडक विभागले रूख काट्ने, पर्खाल हटाउने, खानेपानीको पाइप व्यवस्थापन लगायत सबै काम सकेको जनाएको छ । स्वयम्भूको चैत्य भएको ४०/५० मिटर ठाउँमा समस्या छ । बढी समस्या महाराजगन्जको २ सय ६५ मिटर दूरीमा छ । यो खण्डमा पर्ने १९ घर सडक विभागले अझै भत्काउन सकेको छैन ।
रूख कटान भएको लामो समयसम्म पनि विस्तारको काम अघि नबढ्दा योजना नै रोकिएको हो कि भन्ने आशंका आम सर्वसाधारणमा परेको छ । तर समझदारीपत्र (एमओयू) मा शतप्रतिशत साइट क्लियर हुनुपर्ने उल्लेख रहेकाले चिनियाँ पक्ष त्यसकै पर्खाइमा छ । चक्रपथ पहिलो खण्ड विस्तारका क्रममा संरचना नहटाई काम थाल्दा ढिलासुस्ती भएपछि यसपटक चिनियाँ कम्पनीले अडान लिएको हो । यसअघि चीन सरकारकै सहयोगमा चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) ८ लेनमा विस्तार भइसकेको छ । जसको दूरी १०.३९ किमि छ ।
( कान्तिपुर दैनिक )