News Desk
सुर्खेत — पुरातात्त्विक महत्त्वको काँक्रेविहार प्रवेश गर्न शुल्क लिनेबारे वीरेन्द्रनगर नगरपालिकाले गरेको टेन्डर नियमविपरीत र क्षेत्राधिकारभन्दा बाहिर रहेको दाबी गर्दै स्थगन गर्न डिभिजन वन कार्यालयले पत्राचार गरेको छ । काँक्रेविहार पुरातात्त्विक महत्त्वको क्षेत्रका लागि प्रवेश शुल्क लिन टेन्डर आहान गरेकोप्रति डिभिजन वन कार्यालयले ध्यानाकर्षण भएको भन्दै त्यसलाई रोक्न पत्राचार गरेको हो । नगरपालिकाभित्र रहेका काँक्रेविहार पुरातत्त्व क्षेत्रसहित घण्टाघर पार्क, सहिद पार्क र पाताल दरबार क्षेत्रमा कर उठाउने प्रयोजनका लागि नगरपालिकाले कात्तिक ११ गते बढाबढ प्रक्रियाको टेन्डर आह्वान गरेको थियो । कति दिनभित्र बोलपत्र खरिद गरिनुपर्ने उल्लेख नगरिएको उक्त टेन्डर सूचनामा विस्तृत विवरण खुलाइएको छैन । त्यसका लागि नगरपालिकाको वेबसाइटमा हेर्न भनिएको छ । तर नगरपालिकाले बुधबार १४ दिनसम्म पनि वेबसाइटमा सूचना राखेको छैन ।
नगरपालिकाले आह्वान गरेको उक्त सूचनामध्ये काँक्रेविहार पुरातात्विक क्षेत्रको कर उठाउने प्रयोजनको टेन्डरप्रति डिभिजन वन कार्यालयको ध्यानाकर्षण भएको कार्यालय प्रमुख गोविन्दप्रसाद दाहालले बताए । उनका अनुसार काँक्रेविहार संरक्षित वन क्षेत्रको व्यवस्थापनका लागि वन तथा भूसंरक्षण विभागबाट २०७६ माघ ७ गते स्वीकृत काँक्रेविहार संरक्षित वन व्यवस्थापन कार्ययोजना–२०७३ को परिच्छेद ४ को ४.१ मा काँक्रेविहार संरक्षित वन परिषद्को व्यवस्था गरिएको छ । उक्त परिषद्ले छुट्टै कार्यविधि तयार गरी कार्य सञ्चालन गर्नुका साथै वन ऐन–२०७६, वन नियमावली–२०५१ तथा स्वीकृत कार्यविधिबमोजिम लाभांश बाँडफाँट तथा परिचालनको व्यवस्था गरेको उनले जानकारी दिए । ‘परिषद् गठन नभएसम्मका लागि स्थगन गर्न नगरपालिकालाई पत्राचार गरिएको छ,’ उनले भने ।
वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले नगरभित्र रहेका पुरातात्त्विक र पर्यटकीय क्षेत्रको एकद्वार प्रणालीमार्फत कर उठाउन खोजिएको बताए । ‘अघिल्ला वर्षहरूमा पनि काँक्रेविहारबाट संकलन भएको रकम नगरको आन्तरिक आम्दानीको रूपमा प्रयोग गर्दै आएको थियौं,’ उनले भने, ‘तर काँक्रेविहार संरक्षित क्षेत्र भएकाले कानुनी अन्योल छ ।’ उनले काँक्रेविहार क्षेत्रको कर संकलन वडा र नगरले गर्दै आएकोले यो वर्षदेखि टेन्डर प्रक्रियामार्फत जान खोजिएको बताए । काँक्रेविहार क्षेत्रमा विगत दुई आर्थिक वर्षमा प्रदेश शुल्कबाटै १७ लाख १३ हजार रुपैयाँ आम्दानी भएको छ । काँक्रेविहार क्षेत्रमा आउने पर्यटकबाट प्रवेश शुल्क र पार्किङ शुल्कबापतको उक्त रकम आम्दानी भएको हो । नगरपालिकाको राजस्व उपशाखाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ९ लाख ७२ हजार र २०७७/०७८ मा ७ लाख ४१ हजार रुपैयाँ आम्दानी भएको हो ।
( कान्तिपुर दैनिक )