News Desk
गोरखा — झन्डै १५ किलोग्राम लागूऔषध चरेससहित धार्चे–४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ पक्राउ परेकी छन् । बुधबार राति साढे एक बजे अजिरकोट–५ चनौटे बजारमा छड्के चेकजाँजको क्रममा बा२०च ९३३२ नम्वरको बोलेरो जिपभित्र १४ किलो ८ सय ग्राम चरेस भेटिएको जिल्ला प्रहरीका डीएसपी प्रकाश दाहालले बताए ।
पहेंलो रंगको बोराभित्र प्लास्टीकको थैलीमा पोका–पोका पारी ल्याएको चरेससहित पक्राउ परेकी गुरुङविरुद्ध बिहीबार जिल्ला अदालतमा लागूऔषध चरेस शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । अनुसन्धानमा गुरुङले आफ्नै बारीमा उब्जिएको गाँजाबाट घरमै चरेस उत्पादन गरेको स्वीकार गरेको दाहालले बताए । बिहीबार नै प्रहरीले लाप्राकस्थित गुरुङको घरमा खनतलासी गर्दा थप चार सय ग्राम चरेस र चरेस जोख्न प्रयोग हुने तराजु फेला पारी बरामद गरेको छ ।
( कान्तिपुर दैनिक )