News Desk
बर्दिया — २८ कात्तिक २०७८
बर्दिया , खाद्य व्यवस्था तथा व्यापार केन्द्र राजापुरले पानीले भिजेको धान खरिद नगर्ने भएको छ । कात्तिक पहिलो साता आएको बेमौसमी वर्षा र त्यससँगै आएको बाढीले यहाँ २ हजार ७ सय हेक्टरमा जमिनमा लगाइएको धानबालीमा क्षति पुर्याएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार केन्द्रका प्रमुख धर्मराज पन्थले बाढी र वर्षातले भिजेको धान गुणस्तरीय नभएकाले खरिद गर्न नमिल्ने बताए । यहाँका निजी व्यवसायीले भने भिजेको धान कमसल हुने र उपयुक्त मात्रामा चामल नपर्ने भन्दै १ हजार रुपैयाँ प्रतिक्विन्टलमा खरिद गर्दै आएका छन् । घरखर्च टार्न वाध्य भएर सस्तैमा धान बेचेको राजापुर–५ का किसान दिलबहादुर थारुले बताए । उनले भिजेको मोटो धान प्रतिक्विन्टल १ हजार १ सय रुपैयाँमा राजापुरस्थित व्यापारीलाई बेचेको सुनाए ।
( कान्तिपुर दैनिक )