News Desk
अर्घाखाँची — २८ कात्तिक २०७८
अर्घाखाँची , कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका तोकिएपछि जिल्ला सभापतिका आकांक्षी दौडधुपमा छन् । यहाँ मंसिर ६ गते जिल्ला अधिवेशन हुँदै छ । सभापतिसहित पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिका उम्मेदवार गुट बनाएरै क्षेत्रीय प्रतिनिधि, वडा र पालिका सभापतिसँग मत माग्न दौडधुपमा छन् । अधिवेशन भइसकेका वडा र पालिकाले चाडपर्व विशेष कार्यक्रम राख्ने गरेका छन् । त्यहाँ सभापतिसहित सबै पदका आकांक्षी उम्मेदवारले एउटै मञ्चबाट मत मागेका छन् । गाउँमा घुमफिर पनि सँगसँगै गरेका छन् ।
यसपालि केन्द्रको गुटको प्रभाव जिल्ला तहसम्म परेको छ । शेरबहादुर देउवाबाट जिल्ला सभापतिमा पूर्वशिक्षक यादवप्रसाद घिमिरे र रामचन्द्र पौडेल पक्षबाट वर्तमान सभापति विष्णुप्रसाद खनाल समूह बनाएरै गाउँ दौडधुपमा छन् । महासमिति सदस्य केशव श्रेष्ठ र महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल तटस्थ उम्मेदवार हुन् । तर, खनाल र घिमिरेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । घिमिरेलाई केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, मानबहादुर विश्वकर्मा र खनाललाई पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, पूर्वसभापति कमलप्रसाद भुसाललगायतका नेताले लबिङ गर्दै मत मागिरहेका छन् ।
कांग्रेस मालारानी गाउँपालिकाले खनमा आयोजना गरेको चाडपर्व विशेष कार्यक्रममा सभापतिका आकांक्षीसहित विभिन्न पदका १ सय १ जनाभन्दा बढी उम्मेदवारले उपस्थित वडा सभापति र क्षेत्रीय प्रतिनिधिसँग पालैपालो मत मागे । करिब ७ घण्टा उम्मेदवारको एजेन्डा प्रतिनिधिले सुनेर बसे । कार्यक्रममा सहभागी केन्द्रीय सदस्य पुष्पा भुसाल, नेता रेवतीप्रसाद भुसालसहितका नेताले सहमतीय ढंगले नेतृत्व छनोट गर्न प्रयास गर्ने आश्वासन दिए । उम्मेदवारहरू धान काट्ने, खर काट्ने मेलामा समेत पुगेर आफूलाई मत दिन अनुरोध गरिरहेका छन् । ‘गाउँमा प्रतिनिधिसँग भेटघाट, छलफल गर्दै मत माग्दै हिँडेका छौं,’ केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार नारायणसिंह बेल्वासेले भने, ‘धेरै ठाउँ दुवै पक्षका सँगसँगै भोट माग्दै हिँडेका छौं ।’
( कान्तिपुर दैनिक )