पर्वमा ‘पोके तस्कर’ झन् सक्रिय
News Desk
Nov-14 , 2021 तारिख 12:15 बेलुका

रौतहट — २८ कात्तिक २०७८  

रौतहट , पर्वका बेला सीमाक्षेत्रमा ‘पोके तस्कर’ को रजगज हुने गरेको छ । दसैंतिहार, छठलगायतका पर्वमा घरायसी सामान भन्दै तस्करहरूले भारतबाट चोरबाटो हुँदै सामग्री भित्र्याउने गरेका छन् । सशस्त्र र नेपाल प्रहरीले पटकपटक पोके तस्करको सामान पक्रेर भन्सारमा बुझाए पनि कम भएको छैन । केही दिनअघि जिल्ला प्रहरीको गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्र्याएको चिनी, कपडा, कस्मेटिकलगायतका सामान बरामद गर्‍यो । त्यसको भोलिपल्ट सशस्त्र प्रहरीको गस्ती टोलीले पनि भारतबाट भन्सार राजस्व छलेको समान बरामद गरी कारबाहीका लागि भन्सार कार्यालयमा बुझायो । पछिल्लो समय सीमाक्षेत्रमा पोके तस्करले सुरक्षा निकायलाई हैरान पारेको छ । खुला सीमाका कारण उनीहरू भारतबाट सामान किनेर चोरबाटो हुँदै नेपाल पस्छन्, भन्सार राजस्व छल्न छन् ।

प्रहरीको गस्ती टोलीले विभिन्न स्थानमा बरामद गरेको चिनी, कपडा, कस्मेटिक सामग्रीलगायत १ लाख ४४ हजार ८ सय २८ रुपैयाँ बराबरको समान भन्सार कार्यालय बुझाएको थियो । नेपालबाट भारततर्फ लैजाँदै गरिएको ३३ हजार मूल्य बराबरको अवैध सौफी रक्सीसमेत बरामद गरिएको थियो । ती समान बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नारायणप्रसाद चिमरियाले बताए । ‘सीमामा हुने पोके तस्करविरुद्ध हामी कडा रूपमा प्रस्तुत भएका छौं,’ उनले भने, ‘पछिल्लो समय कडाइ गरेकाले तस्करका समान बरामद हुने क्रम जारी छ ।’ समान बरामद हुन थालेपछि भन्सार राजस्वमा वृद्धि भएको चिमरियाको दाबी छ । सामान बरामद गरिएको भए पनि तस्कर फरार रहेका प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरीका अनुसार गएको साउनयता भारतबाट चोरबाटो हुँदै नेपाल भित्र्याउन लागेको ७० लाख मूल्य बराबरका विभिन्न प्रकारका समान बरामद गरिएको छ । सामानसहित ८ जना तस्कर पक्राउ परे । भन्सार राजस्व छलेर ल्याउँदै गरेको सामानसहित एउटा पिकअप भ्यान, ३५ वटा मोटरसाइकल र ५ वटा साइकल बरामद गरेको चिमरियाले बताए । सीमाक्षेत्रमा मोटरसाइकल, पैदलबाट विभिन्न प्रकारका समान तस्करी हुने गरेको छ । यसले भन्सार राजस्वलाई प्रभावमा पारेको छ । सशस्त्र प्रहरीले पनि साउनयता विभिन्न नाका हुँदै नेपाल ल्याइएका भन्सार छलीका १ करोड ५० लाख मूल्य बराबरको समान बरामद गरेको छ । समानसहित ५ जनालाई पक्राउ गरी कारबाही गरिएको सशस्त्रको ११ नम्बर गणका प्रमुख एसपी सूर्यसेन वलीले बताए । ‘सीमामा हुने कुनै पनि आपराधिक गतिविधि रोक्न सक्षम छौं,’ उनले भने, ‘पोके तस्करहरू कताकताबाट छिर्छन् । तिनलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको छ । भन्सार छलेर ल्याइने पोके या ठूला तस्करलाई परास्त पार्छौं ।’ सशस्त्र प्रहरीको प्रदेश २ प्रमुख डीआईजी गणेश ठाडामगरले सीमाक्षेत्रमा हुने सानाठूला सबै खाले तस्करविरुद्ध कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको सुनाए । उनले पनि पोके तस्करी चुनौती भएको सुनाए ।

प्रायः पर्वको बेला पारेर साना तस्कर सक्रिय हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । यस्तो बेला घरायसी भनेर झुक्याउने गरेको उनीहरूको ठम्याइ छ । यो बेला चिनी, कपडा, कस्मेटिकलगायत समानहरू पोकामा राखेर चोरबाटो हुँदै नेपाल भित्र्याउँछन् । रौतहटको भारतसँग जोडिएको करिब ३० किलोमिटर दूरीमा ६ वटा सशस्त्र प्रहरीको पोस्ट (बीओपी) र भन्सार चौकीलगायत नेपाल प्रहरीका ८ वटा पोस्ट छन् । तस्करले पोस्टका सुरक्षाकर्मीको आँखा छलेर चोरबाटो प्रयोग गरी नेपाल छिर्छन् । पोके तस्करले भारतबाट ल्याएका समानहरू व्यापारीको पसलमै पुर्‍याउने गर्छन् । यसलाई तस्करको भाषामा ‘क्यारिङ’ भन्छन् । क्यारिङ गरेबापत पोके तस्करले मनग्य रकम पाउँछन् । उनीहरूले जिल्लाका शिवनगर, गरुडा, समनपुर, कटहरिया, चन्द्रनिगाहपुरका बजारहरूमा समान पुर्‍याउँछन् । अहिले भन्सार छलेका कपडाहरू साइकलमा राखेर खुलेआम बिक्री हुँदै आएको छ । तस्करले सीमापार गरेपछि यस्ता समान निर्बाध रूपमा बिक्री गर्छन् । सस्तो मूल्यमा पाइने हुँदा गाउँघरमा यस्तो सामानको डिमान्ड बढी छ । साडी, तन्ना, कुर्थासुरुवाललगायत कपडा साइकल र टाउकोमा पोका पारेर खुद्रा व्यापारी गाउँ घुम्छन् । यो क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । जिल्लामा ठूला तस्कर बन्द भए  पनि साना, पोके भने अहिले पनि सुचारु छन् । व्यापारीहरू पैदल वा साना सवारी प्रयोग गरी भारतबाट समान झिकाउँछन् ।    

( कान्तिपुर दैनिक )