तस्करले छाडेका काठ संकलन
News Desk
Nov-14 , 2021 तारिख 12:20 बेलुका

सर्लाही — २८ कात्तिक २०७८  

सर्लाही , सर्लाहीको जानकी नगरस्थित साझेदारी वनमा तस्करहरूले कटान गरेर छाडेका सालका गोलियाहरू वन कर्मचारीहरूले संकलन गर्न थालेका छन् । वनमा तस्करी बढेपछि कर्मचारीहरूले गस्तीसमेत बढाएका छन् । उनीहरू जंगलमा कटान गरिएका सालका रूखहरूसहित तस्करीमा संलग्नको पहिचानमा समेत जुटेका छन् ।  जंगलमा भेटिएका सालका टुनाहरूको मुचुल्का उठाई संकलन गरिरहेको डिभिजन वन प्रमुख माधवप्रसाद देवले जानकारी दिए । कर्मचारीले अहिलेसम्म १ सय २० फिट कटान गरिएका सालका टुनाहरू बरामद गरिसकेका छन् । अझै बरामद गर्नेक्रम चलिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । देवले चाडपर्वका कारण जंगल छेउका बस्तीहरूमा छापा मार्न नसकेको जानकारी दिँदै अबको प्राथमिकता घरघरमा छापा मारेर काठ बरामद गर्नु रहेको बताए । उनले यसका लागि त्यस क्षेत्रका प्रहरी युनिटहरूसँग पनि सहकार्य भइरहेको जानकारी दिए । जंगलमा तस्करहरूले साइकल प्रयोग गरी तस्करी गरेको उनको भनाइ छ ।

हरिवनस्थित घुर्कौली र जानकी नगरको बीचमा रहेको झन्डै १ हजार २ सय हेक्टरमा फैलिएको जंगलमा तस्करले जथाभावी सालका रुख छानी–छानी कटान गर्न थालेका थिए । वनका रूख कटान भइरहँदासमेत वन र साझेदारीका पदाधिकारी मौन बसेको आरोप लाग्दै आएको थियो । स्थानीयका अनुसार साझेदारीका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रूख कटान गरेर तस्करी भइरहेको थियो । साझेदारीका अध्यक्ष रामविश्वास रायले वनमा निगरानी बढाइएको दाबी गरे । उनले कोरोनाकालमा ढलापडा निकाल्न नसकिएका कारण नै तस्कर वनमा पसेको बताए ।

‘कोरोनाका कारण वनमा रहेको ढलापडा निकाल्न सकिएन, जसका कारण छेउछाउका स्थानीयले दाउरा लिने वहानामा सालका रूखहरू कटान गर्न थाले,’ उनले भने, ‘अब हामी सजग भएका छौं, तस्करीमा संलग्नको पहिचानमा पनि लागेका छौं, उनीहरूलाई कानुनी दायरामा ल्याउने प्रयास हुँदै छ ।’ सव डिभिजन कार्यालय जानकी नगरले भने कर्मचारी अभाव भएको जनाएको छ । सव डिभिजनका प्रमुख सहायक वन अधिकृत सुवास साहले कर्मचारी अभावकै कारण चाहेअनुसार गस्ती गर्न नसकिएको बताए ।    

( कान्तिपुर दैनिक )